शुल्क नतिरेको भन्दै विद्यालयले ५० जना बालिकालाई बन्धक बनायो



नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको एक स्कुलले शुल्क नतिरेको भन्दै ५० छात्रालाई स्कुलमै बन्धक बनाएको छ । अभिभावकले नानीहरुको शुल्क समयमै नतिरेका कारण सजायस्वरुप उनीहरुलाई स्कुलले बन्धक बनाएको समाचार भारतीय मिडियाहरुले सार्वजनिक गरेका छन् ।

समाचार अनुसार छात्राहरुलाई स्कुल भवनको भूँइतलामा रहेको बेसमेन्टमा करिब पाँच घन्टा बन्धक बनाएको थियो । दिल्लीको चाँदनी चोकस्थित राबिया गर्ल्स पब्लिक स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावकले बिहान साढे सात बजेदेखि छात्राहरुलाई बन्दक बनाएको आरोप लगाएका छन् ।

स्कुल बिदा भइसके पनि नानीहरु घर नआएपछि अभिभावले स्कुलमा खबर गरेका थिए । तर स्कुलले शुल्क नतिरेकाले उनीहरुलाई घर नपठाइएको जानकारी गराएपछि बन्धक बनाइएको अभिभावकले थाहा पाएका थिए ।

विद्यालय प्रशासनले शुल्क नतिरेका कारण उनीहरुलाई बन्धक बनाइएको अभिभावकलाई बताएको समाचारमा जनाइएको छ । स्कुलले नानीहरुलाई खाना र पानीसमेत नदिई पाँच घण्टासम्म बन्धक बनाइएको अभिभावको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्