उत्तर हामीले कहाँ खोज्ने ?



-मुक्तिबन्धु
भारत हाम्रो दक्षिणी छिमेकी मुलुक । शताब्दीयौंसम्म पराधीनताको पीडा यातना झेलेपछि वीर भगतसिंह, चन्द्रशेखर आजाद, रामप्रसाद विस्मिल, नेताजी सुभाषचन्द्र बोसलगायतका थुप्रै बलिदानी युवाहरुको सहादत र महात्मा गान्धीको अहिंसात्मक सत्याग्रहबाट आजभन्दा सात दशकअघि मात्र स्वाधीन हुन सकेको नयाँ मुलुक ।

नोटमै महात्मा गान्धी छापेर नरलोकसमक्ष महान् आदर्श प्रस्तुत गर्दै आएको विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक । स्वामी विवेकानन्द, रामानन्द, सन्त कबीर, महर्षि अरविन्द, विश्वकवि रवीन्द्रनाथ ठाकुर, महापण्डित राहुल सांकृत्यायन, पण्डित श्रीराम शर्मा आचार्यजस्ता तपोनिष्ठ महिमाशाली महापुरुषहरुको चैतन्यआलोकमा उज्यालिँदै आएको भावसंवेदनाले भरिपूर्ण मुलुक ।

‘आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् अर्थात् जुन व्यवहार अरुले आपूmमाथि गर्दा नराम्रो नमीठो लाग्छ, त्यस्तो व्यवहार अरुमाथि आफू पनि नगर्नू’ भन्ने आध्यात्मिक सोच–समझ र नैतिक आदर्शले आप्लावित हुँदै त्यसै आदर्शको शङ्ख फुकिआएको मुलुक । यस्ता मुलुकको हितप्रवद्र्धक र हितचिन्तक छिमेकी हुन पाउनुलाई गौरव ठान्दै आएका सोझासीधा हामी नेपाली ।

छिमेकी मुलुक भारतको स्वाधीनता, स्वतन्त्रता र सुखसमृद्धिका लागि बेलायतको शासन हटाएर भारतलाई स्वाधीन बनाउन महात्मा गान्धीेलगायतका राजनेताहरुको नेतृत्वमा परिचालित विभिन्न सङ्घर्ष र संग्रामहरुमा हामी नेपालीहरु पनि भारतका नेता तथा जनतासँगै काँधमा काँध मिलाएर सहभागी भएका हौँ । यो भारत र भरतीय जनताका लागि नेपाली जनताको योगदान होइन र ?

भारतको स्वाधीनता प्राप्तिपछि हामी नेपालीहरु नेपालमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्नका लागि जहाँनिया राणाशासनविरुद्ध लड्दै थियौँ, सन् १९५० मा भारतका ताजा लोकतन्त्रका प्रधानमन्त्री जवाहरलाल नेतृत्वको सरकारले नेपालका तानाशाह श्री ३ मोहनशमशेर राणासँग असमान सन्धि सम्झौता गरिभ्यायो ।

२००७ मा तिनै भारतेली प्रधानमन्त्री जवाहरलाल नेहरुकै नेतृत्वमा कथित राजा, राणा, कांग्रेस त्रिपक्षीय सम्झौताको नाटक मन्चन गर्न पनि भ्याइयो । १० वर्षको उराठ लाग्दो अलमलपछि २०१५ सालको पुछारतिर भएको आमनिर्वाचनमा नेपालमा नेपाली काङग्रेस विजयी भएको थियो ।

विश्वेश्वरप्रसाद कोइराला नेपालका जननिर्वाचित प्रधानमन्त्री बनिनुभएको थियो । ०१६ सालमा बीपी प्रधानमन्त्रीत्वको नेपाली कांग्रेस सरकारले भारतका उल्लिखित दुवै अपमानलाई बिर्संदै अथवा दाज्युको अंकमाल ठानेर हार्दिकताकै रुपमा ग्रहण गर्दै हाम्रो आफ्नै जमिनमा हामी आफैंले कुलो खनेर हाम्रो आफ्नो जमिन सिंचाइ गर्नसमेत रोकिने गरी छिमेकी मुलुक भारतका हितमा तिनै भारतीय प्रम जवाहरलाल नेहरुसँग असमान सम्झौता ग¥यो र हामी नेपालीको प्राणजस्ता सदावहार महानदी कोशी र गण्डकी अर्पण ग¥यो । नेपाली पानीले भारतका बन्जर जमिनहरु शश्यश्यामला भए । हराभरा भए ।

कति भारतीयहरुको जीवनस्तर ह्वात्तै बढ्यो । उनीहरु धनी भए । हामी गरिब नै रह्यौँ । हामीले हाम्रै महाकविका कविताजस्तै आफूलाई मेटाएर अरुलाई दियौँ र पनि हामी हाँसेकै थियौंँ । यसलाई पनि हामीले योगदान नै ठानेका हौँ ।

नेपाली काङ्ग्रेसले आफ्नो स्थापनाकालदेखि नै भारतलाई भरपर्दो अश्वत्थ वृक्ष ठान्यो र चुनाव चिन्हका रुपमा समेत प्रतीकात्मक रुपमा त्यसै रुखलाई अपनायो । ०१५ सालको चुनाव प्रचारका पोस्टरहरुमा आफ्नो चुनावचिन्ह रुखमुनि स्पष्टीकरणका रुपमा संस्कृतको एउटा श्लोक पनि राखिएको थियो– ‘सेवितव्यो महावृक्षः फलच्छायासमन्वितः ।

यदि दैवात् फलं नास्ति छाया केन निवार्यते । अर्थात् फल र छहारीसहितको ठूलो वृक्षको छहारीमा रहनु राम्रो हो । यस्तो वृक्षले फल त दिन्छ दिन्छ, कथम् फल दिएन भने पनि छहारी त कसैले पन्छाउन सक्दैन ।’ यहाँ नेपाली काङ्ग्रेसले विम्बन गर्न चाहेको महावृक्ष छिमेकी भारत नै थियोे । नेपाली काङ्ग्रेस अहिलेसम्म पनि त्यसै रुखमा छ ।

नेपाली काङ्ग्रेसको महावृक्ष भारतले नेपाललाई सौहार्दपूर्णरुपमा सहयोग र सद्भावनाको प्रतिफल त कहिल्यै दिएन नै, छहारीका ठाउँमा पनि रुखो सेपसिबाय केही दिएन । ०१७ सालमा आफ्नो विशेष हितचिन्तक त्यसै नेपाली काङ्ग्रेसलाई सत्ताबाट विस्थापन गर्न राजालाई सघायो र लिपुलेकमा च्यापु अड्याउन आइपुग्योे ।

भारतको कृतघ्न प्रतिक्रिया र बिखालु सेपकै कारण नेपालले विगत ७० वर्षमा कृषि र उद्योगका क्षेत्रमा कुनै प्रगति गर्न पाएन । भारतकै अवरोधकारी व्यवहारका कारण अनुद्योग र अनुत्पादकताबाट उम्केर उद्योग र समृद्धिका बाटोमा छलाङ हान्ने नेपालीको रुपान्तरणकारी प्रगतिका सपना अद्यावधि साकार हुन पाएका छैनन् । यति हुँदा पनि नेपालले भारतसँग अद्यावधि आफ्नो योगदानको मूल्याङ्कन मागेको छैन ।

मानिसहरु ठान्छन्– नेपालप्रति भारतको अनेकौं योगदानहरु छन् । यथार्थमा भारतका लागि नेपालको योगदान त्यसभन्दा बढी नै छन् । राजनीतिक, आर्थिक योगदानका साथै सांस्कृतिक योगदान पनि छन् । जस्तै– अदिकवि वाल्मीकि, वेदका संहिताकार र पुराणकर्ता व्यास, वेदका रचनाकार विश्वामित्र, याज्ञवल्क्यलगायतका ऋषि–महर्षिहरु नेपाली थिए । महात्मा बुद्ध नेपाली थिए । यिनैबाट प्रणीत विविध ग्रन्थहरुका आधारमा भारतले आफ्नो संस्कृति ठम्याउँदै आएको छ ।

पछिल्लो समय खण्डको कुरा गर्ने हो भने पनि भारतको गङ्गोत्रीमा गङ्गामन्दिर, बदरीपहाडमा बदरीनाथ मन्दिर, वाराणसीका घाटक्षेत्रमा कतिपय मन्दिर, विभिन्न तीर्थहरुमा धर्मशालाहरु नेपाल र नेपालीका श्रम, सीप र आर्थिक अनुदानले बनेका छन् । वाराणसीमै संस्कृत महाविद्यालय भवन, छात्रावास, पुस्तकालय भवन, एकाधिक धर्मशाला नेपालीका अनुदानबाट बनेका छन् ।

बनारस हिन्दु विश्वविद्यालयको निर्माण र सञ्चालनमा पनि नेपालीले यथासक्य तन, मन, धन खर्च गरेका हुन् । भारतका तमाम मठ, मन्दिर, सरसरोवर र नदीघाटहरुमा नेपालीहरुले शताब्दीयौंदेखि आजसम्म आस्था विश्वासका साथ यात्रा गर्दै दानदक्षिणा टक्र्याउँँदै आएका छन् । भारतमा धार्मिक पर्यटकहरुको सर्वाधिक सङ्ख्या पनि नेपालीकै रहिआएको छ ।

 

योग र अध्यात्मको गुरु बनिआएको मुलुक भारत नेपालको योगदानप्रति कृतज्ञ बन्न किन सकिरहेको छैन ? ‘जुन व्यवहार अरुले आफूमाथि गर्दा नराम्रो र नमिठो लाग्छ, त्यस्ता व्यवहार अरुमाथि आफू पनि नगर्नू’ भन्ने आध्यात्मिक सोच–समझ र नैतिक आदर्शले आप्लावित भारत छिमेकी मुलुक नेपालमाथि नमिठो र नराम्रो व्यवहार गर्दा लज्जाबोध किन गर्दैन ? त्याग, योग, विद्वता र अनुभवका धनी भारतीय राजनेता तथा प्रधानमन्त्रीका भाषण र शासन–प्रशासनबीच यत्रो खाडल किन विद्यमान रहन्छ ? यसको उत्तर हामी नेपालीले कहाँ खोज्ने ?

भारतप्रति नेपालीहरुको रक्षात्मक र उत्पादक योगदान पनि कम छैन । नेपालीले भारतका ठूला–साना शहरका गल्ली–गल्लीमा लाठा बोकेर ‘जागते रहो !’ भन्दै रातारातभर गस्ती गरेर त्यहाँका साहुमहाजनको सम्पत्ति रक्षा गर्दै आएका छन् । भारतभित्र भारतीयका वैभवशाली घर, पसल, साम्पत्तिक संस्थानहरु र औद्योगिक संस्थानहरुमा रातदिन खटेर पहरा दिने नेपाली नै छन् ।

नेपालीले भारतका कृषि, बन, उद्योग कलकारखाना र सडक निर्माणलगायतका हरेक श्रमक्षेत्रमा श्रम गरेका छन्, पसिना बगाएका छन् र भारतको विकास तथा समृद्धिमा चाँद तारा थप्दै आएका छन् । भारतको उत्पादन वृद्धिमा नेपालीको पनि प्रशस्त योगदान रहँदै आएको छ । अहिले भारतलाई सर्वाधिक रेमिट्यान्स पठाउने मुलुक पनि नेपाल नै हो ।
आज पनि भारतको रक्षाक्षेत्रमा सर्वाधिक भरपर्दो सेना नेपालका गोर्खालीकै छ ।

अङ्ग्रेजी शासन समाप्तिपछिका विगत ७० वर्षमा यस सेनाले भारतको सुरक्षाक्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ । छिमेकीसँगका हरेक युद्धका संवेदनशील स्थान र क्षणहरुमा यही सेना अग्रणी बनेर छाती थाप्दै पौँठेजोरी खेल्न पुगेको छ । त्याग, तपस्या र रगतदानसहितको यो योगदान लर्तरो योगदान होइन ।

यसरी विभिन्न क्षेत्रमा खटेर योगदान दिएबापत छिमेकी मुलुक भारतबाट नेपालीले के पाएका छन् त ? भारतका विभिन्न क्षेत्रमा काम गर्ने नेपाली कामदारहरुले भारतेली मालिकहरुबाट अप्रत्यासित कुटपिट, श्रमशोषण, अपमान, असुरक्षा र तिरष्कार पाएका छन् । सहानुभूति र संवेदनाको सर्वथा अभाव पाएका छन् । त्यहाँका बैंकहरुमा खाता खोल्नेसम्मको सुविधाको पनि अभाव पाएका छन् । भारतबाट नेपालमा टेलिफोन गर्दा महँगो शुल्क तिर्न पाएका छन् ।

नेपाली कामदारहरु भारतमा दिनदहाडै लुटिन, कुटिन र मारिन पनि पाएका छन् । आजभन्दा २४ वर्षअघि कामका सिलसिलामा भारतको पन्जाव पुगेका डोटीका एक युवा एक वर्षभित्रै घर आएर मालिककै आदेशमुताबिक मालिककै लागि एकजोर चिनियाँ कपडा लिएर काममा फर्कंदा भारतीय प्रहरीले पक्रेर २३ वर्षसम्म जेलमा सडाएको घटना विवरण हामीले केही दिनअघि अखबारहरुमा पढ्यौँ ।

भारतमा नेपालीमाथि गरिने यी यस्ता अनेकौँ घटनामध्येका एउटा घटनाको विवरण थियो यो । भारतमा श्रम गर्ने नेपालीहरु प्रतिवर्ष दशैँमा घर फर्कंदा सीमाक्षेत्रमा त्यहाँका प्रहरीसमेतको मिलेमतोमा लुटिएका छन्, कुटिएका छन् । भारतलाई दिएको योगदानको कृतज्ञताबापत नेपालीले पाएको त यिनै यस्तै व्यवहार छन् । हैन र ?

भारतले पनि नेपाललाई थुप्रै योगदान दिएको छ । आँकडामा त धेरै अनुदान दिएको छ तर यथार्थमा भारतले नेपाललाई अनुदानभन्दा कैयौं गुना बढी पीडादान दिएको छ । भारतले नेपालका कति नदीको पानी एकलौटी प्रयोग गरेको छ भने कति नदी विभिन्न सम्झौतामार्फत वर्षौंदेखि ओगटेर नेपालको विकास र प्रगतिमा भयङ्कर हानि पु¥याइरहेको छ ।

अत्यावश्यक सडक निर्माणका योजनाहरु वर्षौंदेखि अल्झाएर जनजीविनलाई पीडित बनाएको छ । सीमाक्षेत्रमा मनोमानी पर्खाल ठड्याएर र सडक बनाएर प्रतिवर्ष हजारौं एकड नेपाली जमिन गाउँबस्तीसमेत जलमग्न बनाउँदै आएको छ । अरु त अरु भारतले नेपालका भूकम्पपीडितलाई बाँडेको सपना पनि थप यातना मात्र साबित भएको छ ।

नेपाल भारतवेष्ठित छ । अरु मुलुकसँग व्यापार व्यवसाय गर्ने बाटो भारतले छेकेको छ । नेपालमा उद्योग इलम उम्रन भारते दिएको छैन । उम्रेका कतिपय उद्योग पनि भारतले नै उेखेलेर धराशायी बनाइदिएको छ । नेपाललाई भारत निर्भर बनाइराख्ने मिसनमा भारत विगत ७० वर्षदेखि यथावत् क्रियाशील रहिआएको छ । यो यस्तो स्थितिमा नेपालमाथि भारतले समय–समयमा नाकाबन्दी पनि लाद्ने गरेको छ । सन् ०७२ मा पनि नेपालमाथि भारतले महिनौँसम्म व्यापक नाकाबन्दी लगायो ।

जवाहरलाल नेहरुदेखि लिएर दामोदर नरेन्द्र भाइ मोदीसम्मका भारतीय राजनेता तथा प्रधानमन्त्रीहरु छिमेकीसँग पञ्चशीलका आधारमा व्यवहार गर्ने कुरा गर्दै आएका छन् । त्याग, तपस्या र सौहार्दका कुरा गर्दै आएका छन् । मित्रता र सहयोगका कुरा गर्दै आएका छन् । ऋषिमनका कुरा गर्दै आएका छन् ।

सँगसँगै भारतबाट नेपालको भौगोलिक सीमा मिच्ने काम पनि लगातार गरिँदै आएको छ । अहिलेसम्ममा ६०६ वर्गकिलोमिटर नेपाली भूमि भारतले मिचिसकेको छ । नेपालको सीमाक्षेत्रमा भारतीय सुरक्षाका जवानहरु सीमास्तम्भ उखेलेर फ्याँक्दै, लाठी घुमाउँदै र राइफल सोझ्याउँदै, नेपाली भूमिमा प्रैवेश गर्दै, नेपालीमाथि लाठी गोली बर्साउँदै आएका छन् । यसै वर्ष पनि भारतीय जवानका गोलीबाट सीमाक्षेत्रका एक नेपाली किसान मारिए ।

योग र अध्यात्मको गुरु बनिआएको मुलुक भारत नेपालको योगदानप्रति कृतज्ञ बन्न किन सकिरहेको छैन ? ‘जुन व्यवहार अरुले आफूमाथि गर्दा नराम्रो र नमिठो लाग्छ, त्यस्ता व्यवहार अरुमाथि आफू पनि नगर्नू’ भन्ने आध्यात्मिक सोच–समझ र नैतिक आदर्शले आप्लावित भारत छिमेकी मुलुक नेपालमाथि नमिठो र नराम्रो व्यवहार गर्दा लज्जाबोध किन गर्दैन ? त्याग, योग, विद्वता र अनुभवका धनी भारतीय राजनेता तथा प्रधानमन्त्रीका भाषण र शासन–प्रशासनबीच यत्रो खाडल किन विद्यमान रहन्छ ? यसको उत्तर हामी नेपालीले कहाँ खोज्ने ?

प्रतिक्रिया दिनुहोस्