बिदेशीले लगे नेपालबाट ३० गैडा



चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ ।

निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । बाह्र वर्षपछि पुनः अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको हो । यससँगै निकुञ्जबाट पठाइएका गैँडा ३० पुग्नेछन् ।

यसअघि गैँडा पठाएर भारत, म्यान्मा र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैँडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिनुभयो । विभिन्न देशमा सम्बन्ध सुमधुर बनाउनका लागि उपहारस्वरुप जनावर दिइएको उहाँले बताउनुभयो । यसबाट वंश विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

निकुञ्जबाटै विभिन्न देशलाई घडियाल र मगर गोही पनि उपहारस्वरुप दिइएको छ । चीनलाई गैँडा उपहार दिँदै गर्दा चीनबाट जेन्ट पाण्डा ल्याउन सकेमा ठूलो उपलब्धि हुने उहाँले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्