क्षति न्यूनीकरणमा ध्यान पुगेन



प्राकृतिक प्रकोप न्यूनीकरणका काम प्रभावकारी नहुँदा हाम्रो देशमा बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ । सामान्य सजगता अपनाउँदा हुने घटनाबाट पनि ठूलो क्षति भइरहेको छ ।

प्रकोप न्यूनीकरणको लागि कार्य गर्ने सरकारी निकाय हिँउदभरि गफ मात्र गर्ने र वर्षा लागेपछि क्षतिको तथ्यांक संकलन गर्ने कार्य गर्छन् । समयमै प्रभावकारी काम गर्न सकेका छैनन् ।

यो वर्षको तीन महिनाको अवधिमा मात्र विभिन्न प्राकृतिक प्रकोपमा परेर ३ सय २३ जनाले ज्यान गुमाइसकेका छन् । वर्षको वैशाखदेखि असारसम्मको अवधिमा बाढी, पहिरो, चट्याङ, डुबानलगायतका प्राकृतिका प्रकोपमा परेर मुलुकभर ३ सय २३ जनाले ज्यान गुमाएको बताइएको छ ।

गृह मन्त्रालयका अनुसार गतवर्ष पनि प्राकृतिक प्रकोपका कारण ४ सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए । प्राकृतिक प्रकोपबाट घाइते हुने र विस्थापित हुनेको संख्या पनि त्यत्ति नै बढ्दो छ । पछिल्लो तीन महिनाको अवधिमा प्रकोपका कारण ५७ जना बेपत्ता भएका छन् भने ३ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।

गृहको विपद् व्यवस्थापन महाशाखाका अनुसार गत २०७४ सालमा बाढीपहिरोलगायत प्राकृतिक प्रकोपबाट ५ सय ९७ जनाको मृत्यु भएको थियो भने २०७३ सालमा ४ सय ८३ जनाको मृत्यु भएको थियो ।

२०७२ सालमा भूकम्पसमेत गएकोले ९ हजार २ सय ७९ जनाको मृत्यु भएको थियो । २०७१ सालमा ५ सय ३९ जनाको मृत्यु भएको थियो भने २०७० सालमा ४ सय १७ जनाको प्राकृतिक प्रकोपका कारण मृत्यु भएको थियो । त्यसैले प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणमा ध्यान जाओस् ।
– रामकुमार कार्की, काभ्रे ।

प्रतिक्रिया दिनुहोस्