सही सूचना चाहियो



नेपालमा मौसम पूर्वानुमान भरपर्दो नभएको भन्दै विभिन्न समयमा आलोचना हुने गरेको छ । बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति संकेत दिएर आउँदैनन् । तथापि, यस्तो विपत्तिको पूर्वानुमान गरेर सतर्कता अपनाउन सकिए ठूलो जनधन क्षति हुनबाट जोगाउन सकिन्छ ।

नेपालमा पूर्वानुमान सही नभएका कारण धेरैको जनधनको क्षति हुने गरेको छ । पछिल्लो समय प्रविधिको प्रयोगका कारण नदीको जलाधार क्षेत्रमा पानीको बहाव विश्लेषण गर्न सकिने भएको छ । कुन नदीमा पानीको बहाव बढ्ने खतरा छ भनेर जान्न सकिने कारण पूर्वसतर्कता अपनाउन सहज भएको छ ।

मनसुन पूर्णरुपमा सक्रिय भएकाले अबको केही दिन वर्षा हुने मौसम विभागले जनाएको छ । मौसम विभागले सही सूचना दिएर सतर्क बनाएमा अब जनधनको क्षति कम गर्न सकिन्छ । निरन्तर वर्षाको सम्भावना रहेकाले केही दिनयता देशका पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहावको खतरा बढेको छ ।

कन्काई, कोशी, कमला, वाग्मती, नारायणी, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढेको छ । नदीका जलाधार क्षेत्रहरुमा व्यापक वर्षा भएकाले नदीहरुमा एक्कासि पानीको मात्रा बढेको हो । गतवर्षको साउनमा आएको बाढीले निम्त्याएको क्षतिका कारण चितवनवासी त्रसित बनेका थिए ।

अहिले पनि देशभर प्राकृतिक विपत्तिले थुप्रै जनधनको क्षति गरेको छ । बाढीपहिरोमा परेर दर्जनौँ मानिसको ज्यान गएको छ भने यस वर्ष पनि डुबानको समस्याले जनजीवन प्रभावित पारेको छ । महाभारत र चुरेबाट बहने विरिङ कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायत अन्य नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना छ ।

नारायणी तथा यसका शाखा नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, दोलखा र आसपासका जिल्लाका केही स्थानमा भारी वर्षाले गर्दा पहाडका साना नदीमा एक्कासि बाढी आइसकेको छ । पूर्व, मध्य र पश्चिम नेपालका केही स्थानमा अझै भारी वर्षाको सम्भावना रहेकाले सजग रहनुपर्ने देखिन्छ ।

जल तथा मौसम विज्ञान विभाग, विज्ञान महाशाखाले देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सबै प्रमुख नदीमा जलसतह बढ्दो क्रममा छ ।

मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याइएकाले खतरा मान्नुपर्छ । विशेष गरी साँझ, राति र बिहान बढी वर्षा हुने भएकाले सतर्कता बढी अपनाउनुपर्ने देखिन्छ । रातिको समयमा पहिरो खस्ने कारण नारायणगढ–मुग्लिन सडकखण्डमा अझैसम्म यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् ।

सो खण्डमा यात्रा गर्नेले ढुक्क भएर यात्रा गर्न नपाएको चार वर्षभन्दा बढी समय भइसकेको छ । प्राकृतिक प्रकोपको पीडा र सकस कम गर्न पूर्वसतर्कता अपनाएर जनधनको क्षति कम गर्न सकिन्छ । विपत्तिलाई टार्न नसकिए पनि जोखिम कम गर्ने उपाय अवलम्बन गर्न सकिन्छ ।

त्यसका लागि सरकारका निकायले विपद् व्यवस्थापन, उद्धार, प्राथमिक उपचार तथा मानवीय सहयोगका लागि पूर्वतयारी गर्दै पहिरो प्रभावित तथा डुबान क्षेत्रमा बसोवास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा सारेर सतर्कता अपनाउनु आवश्यक देखिएको छ ।
– निश्चल श्रेष्ठ, कलंकी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्