विकास क्रमिक प्रक्रिया हो



विकास एक निरन्तररुपमा चलिरहने घटनाक्रम हो । यो सकारात्मक ढंगले यथास्थितिभन्दा नितान्त फरक तरिकाले अगाडि बढ्छ । कतिपय विकासका क्रियाकलापहरु आफसे आफ भइरहेका हुन्छन् भने कतिपय विकासका क्रियाकलापहरु सञ्चालन गर्नुपर्दछ । विकास बहुआयामिक परिघटना भएको हुनाले मानवजीवनको कुनै एक पाटोको अवस्था परिवर्तन हुँदैमा विकास मान्न सकिँदैन ।

विकास सामाजिक, आर्थिक, भौतिक, राजनीतिक, सांस्कृतिक, मानवीय, शैक्षिक, मानवअधिकार, लिभिङ स्टान्डर्ड, जीविकोपार्जन, सामाजिक सुरक्षा आदिमा पनि हुनुपर्दछ, जसले अन्ततः मानव विकास सूचकांकमा योगदान गर्दछ र हामी विकासलाई मापन गर्न सक्तछौँ । शहरी र ग्रामीण क्षेत्रका आमजनताको दैनिक जीवनमा भनौँ लिभिङ स्टान्डर्डमा परिवर्तन नआएसम्म विकासको अनुभूति गर्न सकिँदैन ।

आज हामीले विश्वका विकसित राष्ट्रहरुलाई हे¥यौँ र नेपालको अवस्थालाई नियाल्यौँ भने लाग्छ– हामी कम्तीमा पनि २ शताब्दी पछाडि छौँ । विश्व आज आर्टिफिसियल इन्टेलिजेन्सले निम्त्याउन सक्ने दुर्घटनाका बारेमा अध्ययन र अनुसन्धानमा व्यस्त छ भने हामी यता बिरामी हुँदा औषधि खान नपाएर ऋण खोज्न भौँतारिइरहेका छौँ ।

विश्व आज मंगल ग्रहमा बस्ती बसाल्ने सपना बुनेर त्यसलाई साकार पार्न खटिएको छ भने यता हामी दिसा गरिसकेपछि हात राम्रोसँग धुनुपर्दछ भन्ने कक्षा सञ्चालन गर्न र गैरसरकारी संस्थामार्फत जनसचेतनाका कार्यक्रम आयोजना गर्न व्यस्त भएका छौँ ।

यसरी समय एकातर्फ हिँडिरहेको छ भने हामी अर्को बाटो । अनि, यी समय र आवश्यकताबीच जबसम्म भेट हुँदैन, तबसम्म विकास हुँदैन । सँगसँगै जानुपर्ने कुराहरु समानान्तर बाटोमा हिँड्दा मिलन सम्भव छैन । युरोपियन र अमेरिकन देशहरु कसरी विकसित भए भन्नेबारेमा हामी अध्ययन, अनुसन्धान गर्दैनौँ, बरू उनीहरुबाट पनि तिरस्कृत भइसकेका संस्कृतिहरुको सिको गर्नतिर लाग्छौँ ।
– अनन्त शर्मा, पोखरा ।

प्रतिक्रिया दिनुहोस्