नयाँ इतिहास रच्ने दाउमा बेल्जियम



मस्को, (एजेन्सी)
स्वर्णिम पुस्ताको उपनामले चर्चित बेल्जियम फिफा विश्वकपको फाइनलमा प्रवेश गरेर नयाँ इतिहास रच्ने दाउमा देखिएको छ । यसअघि सेमीफाइनलसम्म यात्रा गरेको बेल्जियमले यसपटक फाइनल प्रवेशका लागि पूर्व विजेता फ्रान्सको सामना गर्नेछ । रुसको सेन्ट पीटर्सबर्गमा मंगलबार बेल्जियम र फ्रान्सले फिफा विश्वकप २०१८ को पहिलो सेमिफाइनल खेल्दैछ ।

यसअघि फिफा विश्वकपमा फ्रान्स र बेल्जियमले सन् १९८६ मा तेस्रो स्थानको लागि खेलेका थिए । जसमा अतिरिक्त समयमा फ्रान्स ४–२ ले विजयी बनेको थियो । अहिले बेल्जियमलाई फाइनल पुग्न मात्र होईन, उक्त हारको बदला लिने अवसर समेत मिलेको छ ।

यी दुवै युरोपेली राष्ट्रले यसअघि भएको क्वाटरफाइनलमा दक्षिण अमेरिकी प्रतिद्वन्दीलाई हराउँदै अन्तिम ४ को यात्रा तय गरेका हुन् । जसका कारण जारी विश्वकपको उपाधि भिडन्तमा अहिले युरोपेली राष्ट्रको मात्र उपस्थितिको श्रेय यी दुवैलाई जान्छ ।

सन् १९८६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने क्रममा बेल्जियमले ५ पटकका विश्वविजेता ब्राजिलको चुनौती २–१ समाप्त पारेको थियो । यस्तै एक पटकका विश्वविजेता फ्रान्सले पनि क्वाटरफाइनलमा दुई पटकका उपाधि विजेता उरुग्वेलाई परास्त गर्दै सेमीफाइनलको यात्रा सम्भव तुल्याएको थियो ।

पछिल्लो पटक सन् २००६ को विश्वकपको पÞmाइनलमा फ्रान्सलाई इटालीले टाईब्रेकरमा पराजित गरेको थियो ।

मंगलबारको खेलमा दुई पहेँलो कार्डका कारण क्वाटरफाइनल गुमाएका ब्लाइसे मातुईडी फ्रेन्च टोलीमा फर्कने छन् । उनले लेफ्ट विन्गमा कोरेन्टिन टोलीसोलाई स्थापन्न गर्नेछ । यस्तै फ्रेन्च प्रशिक्षक डिडियर डेसच्यामप्सका अनुसार सिडिबेले बेल्जियमविरुद्ध नखेल्ने बताएका छन् । यो बाहेक उरुग्वेविरुद्ध सुदृढ देखिएको फ्रेन्च टोलीको सुरुवाती ११ को सूचीमा खासै फेरबदल नहुने संकेत देखिएको छ ।

यता बेल्जियमका थोमस मेउनिएरले भने दुई पहेँलो कार्ड देखेका कारण फ्रान्सविरुद्धको खेल गुमाउनेछ । उनको अनुपस्थितिमा फ्रान्स विरुद्धको खेलमा बेल्जियम तीन डिफेन्डरसहितको रणनीतिमा उत्रन सक्छ । ब्राजिलविरुद्ध खेलमा भने बेल्जियमले चार डिफेन्ससहितको ४–३–३ रणनिति अपनाएका थिए । तसर्थ समूह चरणको खेलमा झैँ यान्निक कारास्को र नासेर चाड्लीले बेल्जियमको ब्याक विन्ग सम्हाल्ने छन् ।


उँचाईको फाइदा उठाउन ब्राजिलविरुद्ध सुरुवाती ११ मा अटाएका मराउने फेलाईनी फ्रान्सविरुद्धको खेलमा पनि सुरुदेखि नै बेल्जियम टिममा अटाउन सक्छन् । पछिल्लो पटक सन् २०१५ मा यी दुई टिमले खेल्दा बेल्जियम ४–३ ले विजयी बनेको थियो । जसमा मराउने फेलाइनीले २ गोल गर्नुका साथै अर्को एक गोलका लागि पास निकालेका थिए । यस्तै बेल्जियमका असिस्ट किन्ग केभीन डे ब्रुयेने र ड्राइस मर्टेन्सले अझ सशक्त प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

गत मार्चमा कोलम्बियासँग पराजित भएयता फ्रान्सले खेलेको ९ खेलमा ७ मा जित र २ मा बराबरीको नतिजा आत्मसात गरेका छन् । जसमध्ये जारी विश्वकपमा ४ मा जित र एकमा बराबरीको नतिजा निकालेका छन् । यसक्रममा सशक्त देखिएका एन्टोइन ग्रीजम्यान र १९ वर्षे क्लीयन बाप्पेले बेल्जियमलाई दवाबमा राख्न सक्नेछन् ।


जारी विश्वकपको ५ वटै खेलमा शतप्रतिशत जितको नतिजा आत्मसात गरेको बेल्जियमको रोमेलु लुकाकु गोल्डेन बूट जित्ने दाउमा छन् । ४ गोल गरिसकेका लुकाकुको प्रमुख प्रतिद्वन्दी ६ गोल गरेका इंग्लिश कप्तान ह्यारी केन हुन् । लुकाकुले फ्रान्सविरुद्ध आफ्नो ब्यक्तिगत गोलसंख्या बढाएर टिमलाई पहिलो पटक फाइनल पु¥याउन सक्छन् । यसतै इडेन हजार्ड र नासेर चाड्लीले पनि फ्रेन्च डिफेन्सलाई टाउको दुखाउने छन् ।

फ्रान्सले सम्भावित ४–२–३–१ को रणनीति अपनाउन सक्छन भने बेल्जियम ३–४–३ को रणनीतिमा उत्रन सक्छ । जसअनुसार मिडफील्डरहरु नासेर चाड्ली, मराउने फेलाइने, अक्सेल विट्सेल र यान्निक करास्कोले बेल्जियमको अग्रपंक्ति केभीन डे ब्रुयेने, रोमेलु लुकाकु र इडेन हाजार्डलाई गोलका लागि बल उपलब्ध गराउनेछ । जसलाई विफल पार्न फ्रान्सका गोलरक्षक ह्यूगो लोरिससहित डिफेन्डरहरु बेन्जामिन पाभार्ड, रफाएल भराने, सामुएल उम्टीटी र लुकास हर्नान्डेजÞलाई हम्मे हम्मे पर्न सक्छ ।

एट्याकिंग मिडफील्डरहरु क्लीयन एम्बाप्पे, एन्टोइने ग्रीजम्यान र ब्लाइसे मातुईडी तथा फरवार्ड ओलिभर गिरौडसहितको फ्रेन्च अग्रपंक्तिलाई रोक्न बेल्जियमका गोलरक्षक थिबाउट कुर्टोसिस र डिफेन्डरहरु जान भार्तोन्गेन, टोबी एल्डरवेरेल्ड र भिन्सेन्ट कोम्पनीलाई सहज हुने छैन ।

यधपि गोलरक्षक कुर्टोइसले भने ब्राजिलविरुद्धको खेलमा गरेको प्रदर्शन दोहो¥याउन सकेमा फ्रेन्च टोली स्तब्ध हुने सम्भावना अधिक हुनेछ । यस्तै फ्रेन्च डिफेन्सिभ मिडफील्डरहरु पाउल पोग्बा र एन्गोलो कान्टेले पनि फ्रेन्च रक्षापंक्तिको सहायक बन्ने देखि बेल्जियम अग्रपंक्तिलाई दवाब सिर्जनाका लागि दोहोरो भूमिका निभाउन सकनेछ ।
फ्रान्सले भने छैठौ पटक विश्वकपको सेमिफाइनल खेल्दैछ । जारी विश्वकपमा बेल्जियमले १४ गोल गरिसकेको छ । यो आंकडा सन् २००२ मा ब्राजिलले गरेको १५ गोलपछिको दोस्रो हो ।

हेड टू हेड
यी दुईले एकअर्का विरुद्ध ७३ पटक खेलेका छन् । जसमध्ये बेल्जियमले ३० पटक जित्दा फ्रान्सले २४ पटक मात्र विजय हासिल गरेका छन् । यस्तै १९ पटक भने यी दुवै टोलीले बराबरीमा चित्त बुझाएका छन् ।

जसमध्ये विश्वकप छनोट र विश्वकपमा गरी ६ पटक यी दुई आमने सामने भएका छन् । जसमा ४ पटक फ्रान्स बिजयी बन्दा १ पटक मात्र बेल्जियमले जित हासिल गरेको छ । बाँकी एक खेल भने गोलरहित बराबरीमा टुङ्गिएको थियो ।

विश्वकपको कुरा गर्दा फ्रान्स र बेल्जियमले पहिलो पटक सन् १९३८ को दोस्रो संस्करणको विश्वकप खेलेका थिए । जसमा फ्रान्सले बेल्जियमलाई ३–१ ले पराजित गरेको थियो । पछिल्लो पटक सन् १९८६ को विश्वकपमा यी दुई भिडेका थिए । जसमा फ्रान्स ४–२ ले विजयी बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्