टर्कीमा कर्मचारी निष्कासनको विरोध



अङ्कारा ।
टर्की सरकारले यहाँका १८ हजारभन्दा बढी कर्मचारी र सुरक्षा अधिकारीलाई बर्खास्त गरेको समाचारको व्यापक विरोध भएको छ ।

यहाँका अधिकारवादीहरुले बिना आधार सरकारले कर्मचारीहरुलाई छानी छानी बर्खास्त गरेकाले यस कार्य सरकारको स्वेच्छाचारी निर्णय भन्दै त्यसको विरोध भएको हो ।

यहाँका अधिकारवादीहरुले कर्मचारीलाई आफ्नो बारेमा स्पष्टिकरण दिने अवसर पनि नदिएर यसरी सुरक्षा, सेना र निजामती कर्मचारीलाई बर्खास्त गरेकोमा विरोध गरेका हुन् ।

टर्की सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरुसमेत गरी १८ हजारभन्दा बढी रहेका थिए ।

आतङ्ककारी समूह या संगठनहरुसँग सम्बन्ध राखेर राष्ट्रियता र सरकारका विरुद्धमा लागेका भन्दै ती कर्मचारीलाई बर्खास्त गरिएको सरकारको दाबी छ । तर अधिकारवादीहरुले राष्ट्रपति रिसेप तैयब एर्दोगानले राष्ट्रसेवकहरुप्रति नराम्रो व्यवहार गरेको र मनोमानी ढङ्गबाट कर्मचारी निष्कासन गरेको भनेर विरोध गरेका हुन् ।

सन् २०१६ को जुलाई महिनामा टर्कीका राष्ट्रपति रिसेप तैयब एर्दोगानका विरुद्धमा यहाँ सैनिक विद्रोहको असफल प्रयास भएको थियो ।

त्यसपछि राष्ट्रपति एर्दोगानले आफ्ना विरोधी मानिएका सेना, प्रहरी, गैरसैनिक कर्मचारी तथा विश्वविद्यालयका प्राध्यापकहरुलाई जेलहाल्ने, सेवाबाट बर्खास्त गर्ने तथा अरु विविध खालको कारबाही गर्नुभएको थियो ।

त्यस समयदेखि आजसम्म अर्थात् दुई वर्षसम्म यहाँ सङ्कटकालीन अवस्थाको घोषणा गरिएको छ । यो अवस्थाको कम्तीमा पनि सात पटकसम्म अनुमोदन गरिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्