संघीयताको विकासका लागि राससको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री



जनकपुरधाम ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयताको संस्थागत विकासका लागि राष्ट्रिय समाचार समितिको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल नेतृत्वको टोलीको भेटघाटका अवसरमा सो कुरा उहाँले बताउनुभएको हो । राष्ट्रिय समाचार समितिको विकास र उन्नयनका लागि प्रदेश सरकार सहयोगी र सकारात्मक रहेको छ भन्दै उहाँले राससको विकासमा प्रदेश सरकारको सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संघीय शासन प्रणालीको स्थायित्व र दिगो विकासका लागि संघीय र प्रदेश सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सक्रियताको आवश्यकता उहाँले औल्याउनुभयो ।

संघीय सरकारको सफलता प्रदेश सरकारको सफलतामा निहित रहेको चर्चा गर्दै उहाँले प्रदेश समृद्धिबिना संघ र मुलुकको विकास र समृद्धि हुन सक्दैन भन्नुभयो । यथास्थितिवादी सोच र चिन्तनबाट मुलुकको समृद्धि हुन नसक्ने भएकाले प्रक्रियागत सुधार गरी नयाँ सोचका साथ सबै अघि बढनुपर्ने धारणा उहाँले राख्नुभयो ।

समितिका अध्यक्ष श्यामलले राससको विकास, संरक्षण, संवद्र्धन र संघीयता अनुरूप रूपान्तरणमा प्रदेश सरकारको सहयोग र स्वामित्व ग्रहणबारे ध्यानाकर्षण गराउनुभयो ।

राससलाई संघीयताअनुरूप रूपान्तरणमा संघ र प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको बताउँदै उहाँले राससलाई प्रदेशको जनतासँग जोडने, नयाँ कार्ययोजनासहित गन्तव्यमा प्रदेश सरकारको भूूमिका र सहयोगका लागि आग्रह गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्