खानेपानीमा ब्रह्मलुट !  



हिक्मत नेपाली, दैलेख ।
नारायण नगरपालिका दैलेख नगरप्रमुख रत्न बहादुर खड्काले केहि साता अगाडी दैलेख सदरमुकाममा आयोजित एक कार्यक्रममा नगरमा देखिएको खानेपानी समस्या समाधान गर्ने बताएका थिए ।

नगरप्रमुख खड्काले भनेका थिए–“सहारे खानेपानी आयोजना मार्फत खानेपानीको समस्या समाधान भएपनि महसुल बढी आएको, पानी आउने समय अनियमित भएको भन्दै स्थानीयबासीले विरोध जनाउनुभएको छ, खानेपानीमा देखिएको सबैखाले समस्या समाधान गर्न पहल गर्न पहल थाल्छौ ।”

त्यसको दुई साता नवित्दै दैलेख सदरमुकाममा होटल व्यवसाय संचालन गर्दै आएका खेमराज थापाले “खानेपानीको महशुल नतिरेर असहयोग गर्दैै आन्दोलन गरौं” भन्दै सामाजिक संजाल फेसबुक मार्फत आक्रोस पोखे । उनले खानेपानी आयोजनाले ब्रह्मलुट नै मच्चाएको आरोप लगाए ।

उनि जस्तै स्थानीय विनोद श्रेष्ठले “नारायण नगरको स्थानीय सरकार भन्दा कम भएन, दैलेखको खानेपानीको महसुल आतंक, सन्दर्भ: पानीको बिल” भन्दै सामाजिक संजाल फेसबुक मार्फत नै आक्रोस पोखे । यि दुई प्रतिनीधिमुलक पात्र मात्रै हुन् । दैलेखको नारायण नगरपालिकामा संचालन भएको खानेपानी आयोजनाको महसुल बढी भएको भन्दै आक्रोस पोख्नेहरु दर्जनौ छन् । स्थानीयले खानेपानीको महसुल बढि आएको भन्दै आक्रोस पोख्न थालेका हुन् ।

२०३३ सालमा निर्माण गरिएको खानेपानी आयोजनाबाट पानीको आपुर्ती हुँदै आएको दैलेख बजारमा बृहत साहारे खानेपानी आयोजना सम्पन्न भएसंगै खानेपानीको समस्या दिगो रुपमा समाधान भएपनि खानेपानीका विविध समस्याहरु देखिन थालेको हो । सहारे खानेपानी आयोजना मार्फत खानेपानीको समस्या समाधान भएपनि महसुल बढी आएको, पानी आउने समय अनियमित भएको स्थानीय नमराज थापाले बताए । थापाले भने “कहिले राती ३ बजे पनि पानी आउने गरेको छ ।”
स्थानीय कमल कोइरालाले खानेपानी महसुल निर्धारणका लागि जो जसले निणर्य गरेपनि यसलाई सच्याउनु पर्ने भन्दै जनता यति महँगो महसुल तिर्न नसक्ने भन्द्र आक्रोस पोखे  ।  स्थानीय यामराज थापाले उपभोक्ताले खानेपानीको महसुलको यति ठुलो रकम तिर्न नसक्ने भन्दै समय सापेक्ष अनुसार घटाउनु पर्ने धारणा राखे ।
अहिले सदरमुकामबासीले प्रति महिना १६ हजार सम्म पानीको महसुल बुझाउदै आएका छन् । दैलेखमा रहेको होटल न्यू मोडल रेष्टुरेन्ट एण्ड लजले बैशाष र जेठ महिनाको मात्रै २९ हजार ३ सय महसुल बुझाएको    छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखले बैशाष र जेठ महिनाको ३१ हजार ९ सय ९० रुपैयाँ पानीको महसुल बुझाएको छ । यति मात्र नभई पानी उपभोग गरिरहेका स्थानीयले प्रति महिना ३ हजार देखि १५ हजार रुपैयाँ सम्म खानेपानीको महसुल बुझाउदै आएका छन् ।

नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलराम श्रेष्ठले सहारे खानेपानी आयोजना परिक्षणको अवस्थामै रहेको बताउँछन् ।

खानेपानीको महसुल बढी आएको गुनासोहरु आएको छ, सामान्य रुपमा ५ देखि ७ सय सम्म खानेपानीको महसुल आउनु पर्ने हो, उनले भने “पानीको बहाफ बढी छ, पानीको बहाफ संगै पाइपमा आएका हावाका कारण मिटर धेरै घुम्ने भएका    कारण महसुल बढी भएको हुन सक्छ ।”  उनले ५ हजार लिटर सम्मको प्रति युनिट १ सय ५० रुपैयाँ सम्म पानीको महसुल तोकिएको बताए । उनका अनुसार ६ हजार देखि १० हजार सम्मको प्रति युनिट ४५ रुपैयाँ थप गरिएको छ ।

उनले भने “११  हजार देखि १५ हजार लिटर सम्मको प्रति युनिट ६५ रुपैयाँ र १५ देखि २० हजार लिटर सम्मको प्रतियुनिट १ सय २० रुपैयाँ थप हुन्छ ।” उनले आयोजना संचालन गर्ने बेला सहरी विकास कोषबाट ऋण लिँदा विभागबाटै आम भेला बोलाएर पानीको महसुल तोकिएको बताए ।  हामीले पानीको महसुल घटाउन पनि मिल्दैन, बढाउन पनि मिल्दैन, उनले भने “यो आर्थीक बर्ष सकिए लगत्तै आम भेला बोलाएर पानीको महसुल घटाउन प्रक्रिया अगाडी बढाउछौ ।”
सदरमुकाममा खानेपानी समस्या समाधानका लागि आयोजना संचालन गर्न सहरी विकास कोषबाट करिब १२ करोड रुपैयाँ ऋण लिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त रकम १२ बर्ष सम्म तिरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । बृहत साहारे खानेपानी आयोजना करिब २३ करोडमा निर्माण सम्पन्न भएको अध्यक्ष श्रेष्ठले बताए । स्थानीय बासीले आयोजना निर्माणकै लागि ५ देखि १० हजार सम्म धरौटी रकम बुझाएका थिए ।
नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता ससमितिका अनुसार आयोजनाले १८ सय ५३ धारा निर्माण गर्ने स्टमेट भएपनि हाल सम्म १६ सय ९० वटा धारा जडान गरिएको छ । ति मध्ये १५ सय ८ घरमा मात्रै मिटरबाट खानेपानी संचालन भएको छ । सहारे खानेपानी आयोजना संचालन भएको एक बर्ष बित्नै लाग्दा समेत आयोजना निर्माणका लागि धरौटी रकम बुझाएका स्थानीय बासीको घरमा खानेपानी नपुगेको भन्दै आयोजना, उपभोक्ता समिति र नगरपालिकाकै आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्