६ कलाकर्मीलाई प्रज्ञा पुरस्कार



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आधा दर्जन कलाकर्मीलाई सम्मान गरेको छ।

प्रतिष्ठानले संगीत, लोक नृत्य, लोक नाट्य, गायन, तथा लोक गायन क्षेत्रमा ५ दशकभन्दा लामो समय योगदान पुर्याएका कलाकर्मीलाई राजधानीमा आयोजित एक समारोहबीच सम्मान गरेको हो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार आफ्नै कार्यालयमा २०७४ सालको नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार प्रदान गरेका हुन्।

समारोहमा आधुनिक गीततर्फको नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार ६ दशकभन्दा लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेल, शास्त्रीय संगीततर्फको पुरस्कार वाद्यवादक एवं शास्त्रीय संगीतकार पुष्परत्न तुलाधर लोक गायक एवं संकलक एलपी (लक्ष्मीप्रसाद) जोशीलाई जनही १ लाख रुपियाँसहित नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४ बाट सम्मानित गरियो।

समारोहमा ६ दशकदेखि क्रियाशील अभिनेतृ एवं नृत्य कलाकार सुभद्रा अधिकारीलाई नृत्यसम्बन्धी नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरियो भने ६ दशकभन्दा लामो समयदेखि मल्लकालीन नाट्यको अनुसन्धानमा सक्रिय अनुसन्धानकर्ता प्राडा रामावतार यादवलाई नाट्यतर्फको राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरियो। नाट्यतर्फ ५ दशकभन्दा लामो सयमदेखि नाटक क्षेत्रमा क्रियाशील नाट्यकर्मी मदनदासलाई पनि पुरस्कृत गरियो। कार्यक्रममा उपराष्ट्रपति पुनले ५ दशकभन्दा लामो समयदेखि संगीत, नाट्य, अभिनय, नृत्य, गायन, गीतलेखन, वाद्यवादन क्षेत्रमा सक्रिय कलकर्मीलाई प्रतिष्ठानका तर्फबाट श्रष्टा परिचयपत्र प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपाली मौलिक लोक संगीत, लोक नृत्य, नाच, नाटकको संरक्षण गर्न सकेमात्र मौलिक संस्कृतिको संरक्षण हुने र नेपालको पहिचान जोगिने चर्चा गरे भने प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) ले आजीवन योगदान दिएर यो क्षेत्रमा अतुलनीय योगदान पुर्याएका कारण प्रतिष्ठानले राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मान गरिँदै आएको बताए।

प्रतिक्रिया दिनुहोस्