प्रधानमन्त्रीलाई खुला पत्र: खुला प्रतिस्पर्धाबाट पाएको नियुक्ति कसरी राजनीतिक भयो?



सम्माननीय प्रधानमन्त्री ज्यु,
राजनीति नै गरेर मात्र ठूला पद प्राप्त हुने हो भने विदेशमा गएर पढेर मजस्ता व्यक्ति किन स्वदेश फर्किनु? अध्ययन र कार्यक्षमताको मूल्यांकन नहुने र नियुक्ति जति राजनीतिक दलका मानिसले मात्र पाउने हो भने पढेर, सिकेर, जानेर वा कमाएर स्वदेश किन फर्किनु?

चलचित्र विकास बोर्डको अध्यक्षका रुपमा मैले झन्डै ७ महिना काम गर्ने अवसर पाएँ। मेरो नियुक्तिलाई राजनीतिक भनिएकामा मेरो असहमति छ। किनभने म कहिल्यै कुनै पनि राजनीतिक दलको समर्थक, विरोधी, नजिक, टाढा भइन। यो मैले कहिल्यै पनि नजानेको विषय हो। हिजो म अध्यक्ष नियुक्त हुँदा तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसले पनि मेरो नियुक्तिको विरोध गरेको थियो, आज देउवा सरकारको नियुक्ति भनेर तपाईंको सरकारले नियुक्ति वदर गर्यो। मजस्ता स्वतन्त्र व्यक्तिले आप्mनो योग्यता र क्षमता देखाएर काम गर्नै नपाइने हो त? देशको मात्रै झण्डा बोकेर नपुग्ने? कुनै न कुनै राजनीतिक दलको झण्डा नबोकी नहुने हो?

म चलचित्र बुझ्दै, हेर्दै र सिक्दै हुर्कीएकी हुँ। लाइट, क्यामेरा, एक्सन मैले गर्भमा नै सुनेका शब्द हुन्। यस अर्थमा चलचित्र क्षेत्र मेरो रगतमै बगेको छ। यसै क्षेत्रमा समर्पित हुने उद्देश्यले मैले अमेरिकी युनिभर्सिटीबाट यसै क्षेत्रको विषयमा स्नातकोत्तर गरेँ र मनभरी उमंग, जोस, जाँगर र सर्टिफिकेट बोकेर आप्mनै देशमा केही गर्छु भनी फर्किएँ।


सरकारी जागिर खान कुनै न कुनै राजनीतिक दल वा नेताको घर दैलो धाउनै पर्छ? चाकडी बजाउनै पर्छ? राजनीतिक दलको आशिर्वाद विना स्वतन्त्र नागरीक बनेर यो देशको सेवा गर्न पाइन्न भने तपाईंको समृद्व नेपाल, सुखी नेपालीको नारा समृद्ध नेता सुखी कार्यकता मात्र बन्न पुग्ने छ। यो मेरो व्यंग्य होइन, चिन्ता हो।

 


१८ वर्षको इतिहास बोकेको चलचित्र विकास बोर्डका पूर्वअध्यक्षज्युले गर्नुभएको कार्यको मूल्यांकन गर्ने हैसियत त मेरो छैन तर विगत ७ वर्षदेखि यो वा ऊ बहानामा अड्केको र एक पाइला पनि नसरेको बक्स अफिस प्रणालीलाई म र मेरो टिमले ७ महिनामा लागू गर्न तयार पारेका छौं। यसो भनेर मैले कसैको विरोध गरेकी होइन। बरु आप्mनो टिमको अहोरात्र खटाइ र अथक मेहनतको दिल खोलेर प्रशंसा गरेकी हुँ। यतिखेर जब बक्स अफिस लागू हुन केही दिन मात्र बाँकी छ, यस्तो अन्तिम समयमा गरिएको नियुक्ति बदरले हाम्रो ७ महिनाको मेहनत पानीमा जाने प्रबल सम्भावना छ।

 

म पछि नियुक्त हुने अध्यक्षज्युको कार्यक्षमतामा प्रश्न गरेको होइन र यो क्षेत्रमा सबैभन्दा सक्षम नै मै हुँ भन्ने दाबी पनि गरेकी छैन। तर केही महिना काम गर्न पाएको भए म र मेरो टिमले सरकारलाई दिने उपलब्धिबाट साँच्चै नै तपाईंको सरकार र माननीय सञ्चार तथा सुचना प्रविधि मन्त्रीज्युले गर्व गर्न पाउनुहुन्थ्यो।

मेरो कार्यक्षमता र मैले सरकारलाई बुझाएको भावी योजनाको मुक्तकण्ठले तारिफ गर्नुहुने सूचना तथा सञ्चार प्रविधि मन्त्रीज्यु र आदरणीय सचिवज्युका स्याबासी अझै पनि मेरो मानसपटलमा ताजा छन्। तर त्यो स्याबासी र यो निर्णयका बीच कुनै तारतम्मे नमिलेकामा दुःखी मात्र भएकी हुँ। मैले बकाइदा जाँच दिएर, अन्तर्वाता दिएर, खुला प्रतिस्पर्धामा आफूलाई सबै प्रतिस्पर्धीभन्दा सक्षम देखाएर प्राप्त गरेको नियुक्ति हो। राष्ट्रिय पत्रिकामा छपाएर माग गरिएका आवेदकहरूबाट चुनिएको व्यक्तिको नियुक्ति कसरी राजनीतिक नियुक्ति भयो? त्यो मैले बुझ्न सकेकी छैन।

यो खुलापत्रमार्फत मैले आप्mनो पुनर्वहालीको याचना गरेकी होइन। म २१औं सताब्दीकी सक्षम महिला हुँ प्रधानमन्त्रीज्यु। यो देशको संविधानले दिएको हक अधिकार बुझेकी छु, कर्तव्य पालना गर्न जानेकी छु। जति समय मैले चलचित्र विकास बोर्डका लागि दिएँ, त्यति समय आप्mनो व्यवसायमा दिएको भए मेरा लागि त्यो निकै फाइदाजनक हुने थियो। चलचित्र विकास बोर्डको अध्यक्षका हैसियतले निर्णय गर्दा मैले आप्mनो व्यवसाय र आप्mनै परिवारका सदस्यको समेत विपक्षमा उभिनुपरेको छ। बक्स अफिसको शुरूआत आप्mनै हलबाट गरेकी हुँ, आप्mनै भाइले निर्माण गर्दै गरेको चलचित्र रोजीको सुटिङ आफैं गएर रोकेकी छु र यस्ता अनगिन्ती दृष्टान्तहरू छन्, जसलाई प्रस्तुत गरिरहँदा आप्mनो बखान गर्न खोजेको अर्थसमेत लाग्न सक्छ।

मलाई सरकारी तलब, सुविधा, पद आदि कुनै कुराको पनि लोभ थिएन र छैन। खाली एउटा दुखेसो छ कि म मात्र होइन, विभिन्न देशका डिग्री लिएका धेरै होनहार जोशिला युवाहरू यहाँ छन्, जो आप्mनो देशमा केही गर्नुपर्छ भनेर लागिपरेका छन्। के तिनले पनि उच्च ओहदाको सरकारी जागिर खान कुनै न कुनै राजनीतिक दल वा नेताको घरदैलो धाउनै पर्छ? चाकडि बजाउनै पर्छ? यदि कुनै पनि राजनीतिक दलको आशिर्वादबिना स्वतन्त्र नागरिक बनेर यो देशको सेवा गर्न पाइन्न भने तपाईंको समृद्ध नेपाल सुखी नेपालीको नारा समृद्ध नेता सुखी कार्यकर्ता मात्र बन्न पुग्नेछ। यो मेरो व्यंग्य होइन, चिन्ता हो।

आप्mनो ज्ञान र क्षमता देखाउने अवसर फेरि पनि मिल्नेछ भन्ने कुरामा म आशावादी छु र म चलचित्र विकास बोर्डमा भए पनि नभए पनि मेरो नाभीसँगै गाँसिएको चलचित्र क्षेत्रको उत्थान, प्रवद्र्वनका लागि मेरो पुरै जीवन समर्पित छ। नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने, नेपालको लोकेसनमा विश्वभरका सिनेमार्कीलाई सुटिङ गर्न आमन्त्रण गरी चलचित्र पर्यटनको विकास गर्ने, फिल्म सिटी निमार्ण गर्ने, पुराना चलचित्रलाई डिजिटाइज गरी भावी पुस्ताका लागि संरक्षित गर्ने, विशिष्ट योगदान दिएका पुराना चलचित्र साधकलाई सम्मान गर्दै नयाँ जेनेरेसनका नवयुवक चलचित्रकर्मीसँग हातेमालो गरेर नेपाली चलचित्रको सुन्दर भविष्य कोर्नेजस्ता कैयौं मेरा योजनामा ब्रेक लागेको छ। तर चलचित्र विकास बोर्ड मेरो जागिर होइन, सामाजिक जिम्मेवारी थियो। योगदान दिन पद नै चाहिन्छ भन्ने पनि केही छैन र चलचित्र क्षेत्रलाई योगदान दिने मेरो यात्राको यो कास्टिङ मात्र हो, मध्यान्तर पनि होइन, द इन्ड त हुँदै होइन।

-निकिता पौडेल

 

प्रतिक्रिया दिनुहोस्