जुम्राको मिटिङ



‘बाहिर–बाहिर टाई फिटिङ भित्र–भित्र जुम्राको मिटिङ’ सत्य एउटा देखावटी अर्कै। यो नेपाली आहान प्रायः हरेक दिन हाम्रो समाज र नेपालीको जीवनशैलीसँग मेल खान्छ। कसैको नियत नै त्यस्तो हुन्छ भने कोही अन्जानमा यस्तो परिचयसँग जोडिन्छन्। हाम्रा नेता, सरकार, अनि सरकारी निकायको कार्यशैली यस्तै नै छ। मुलुककै जेठो वीर अस्पताल वर्षौंपछि रङ रोगन गर्दा चिरिच्याट्ट परेको छ। अस्पतालको भित्री र बाहिरी आवरण सिंगारपटार गर्दा निकै चर्चाको विषय बन्यो।

वर्षांै अघिको धुलो मैलो पखालिएको छ भने अस्तव्यस्त शौचालय व्यवस्थित बनेको छ। तर कार्यशैली भने पुरानै छ। तोकिएको समयभन्दा धेरै ढिलो खुल्ने टिकट काउन्टर, घन्टौं अघिदेखि भद्रगोल लाइनमा बस्ने सेवाग्राही र अन्य सेवा सुविधा पुरानै।

अस्पतालको मुहार र भित्री रङ रोगन फेरिएको देख्दा निकै उत्साहित अनि दङ्ग परेर चुस्त दुरुस्त सेवा सुविधा पाउने अपेक्षासहित अस्पताल पुग्दा सेवाग्राही निन्द्राबाट ब्युँझिएझैं गर्नु अनौठो हुन्न। अनि अधिकांश सेवाग्राही एकआपसमा भन्छन्– ‘बाहिर–बाहिर टाई फिटिङ भित्र–भित्रै जुम्राको मिटिङ।’ वर्षौंदेखि रामराज्य बनाएर बसेका जुम्रा, उपियाँ, उडुस, लामखुट्टे निर्मुल पार्ने बारेमा अस्पतालका पदाधिकारी के सोच्छन् कुन्नी?

प्रतिक्रिया दिनुहोस्