विपद् व्यवस्थापन चुस्त बनाऊ



भारी वर्षाका कारण देशैभरि धेरैको ज्यान गएको छ । धेरै घरबारविहीन भएका छन् । यस वर्षको मनसुन सक्रिय हुँदा देशभर अविरल वर्षा भइरहेको छ । ठाउँ–ठाउँमा वर्षाका कारण पहिरो गएको छ । पहिरोमा बस्तीहरू डुबेका छन् । बाढीले गाउँबस्ती नै बगाएको छ ।

सडक आवागमनमा अवरोध खडा हुँदा हजारौं यात्री बीचबाटोमै अलपत्र परेका छन् । अविरल वर्षाले विभिन्न शहर जलमग्न बनेका छन् । यतिखेर अविरल वर्षा सास्ती बनेर उभिएको छ ।

बाढी–पहिरोमा परी बर्सेनि हजारौंको निधन हुने गरेको छ । अविरल वर्षा, बाढी, पहिरो मावनीय क्षमताभन्दा बाहिरको कुरा हो । तर समयमै सचेत हुँदा क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । गम्भीर हुनुपर्ने कुरा नै यही हो । बाढीबाट बच्नका लागि पूर्वतयारी र सचेतना भएमा धनजनको क्षतिलाई कम गर्न सकिन्छ ।

मानवीय अतिक्रमणका कारण धेरै ठाउँमा पहिरोको जोखिम बढाउने काम भइरहेको छ । पर्याप्त प्राविधिक अध्ययनविना मनलाग्दी हिसाबले विकास निर्माणका संरचनाहरू खडा गर्ने लहरले पनि नेपालका पहाडी क्षेत्रलाई पहिरोको मुखमा पु¥याउने काम गरेको छ । प्राकृतिक सन्तुलनलाई बेवास्ता गरी जथाभावी वन फडानी गर्नाले धेरै भूभागमाथि अन्याय भएको छ । यसले पनि प्राकृतिक विपत्ति निम्त्याउने काम गरिरहेको छ ।

सरकारले उद्धार र राहतका लागि खडा गरिएका सबै संयन्त्रहरूलाई ‘अलर्ट’ राख्नुपर्छ । यसका लागि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्था हुनुपर्छ । स्थानीय प्रशासन चनाखो भएर परिस्थितिलाई हेर्नुपर्छ । आपत् आइलागेको स्थानमा तत्काल टोली परिचालनका लागि तम्तयारी अवस्थामा राख्नुपर्छ । यसअघिका थुप्रै घटनाहरूमा तत्काल उद्धार टोली पठाउन नसक्नाले धेरैले ज्यान गुमाउनुपरको तीतो अनुभव छ । यसबाट पाठ सिकेर त्यस्ता कमी–कमजोरी दोहोरिन नदिनु बुद्धिमानी हुनेछ ।

सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार हो । सानोतिनो भूमिकाका लागि पनि केन्द्रको मुख ताकेर बस्नाले अनावश्यकरूपमा क्षति बेहोर्नुपर्ने स्थितिको अब अन्त्य हुनुपर्छ । यसर्थ स्वाभाविकरूपमा यस्तो आपत्विपत्का बेला उसको उपस्थिति र सक्रियता बढी अपेक्षित हुन्छ । उद्धार र राहतका लागि आवश्यक सबै सामग्रीको जोहो गरी स्थानीय सरकार चनाखो भएर रहनुपर्छ ।
– माधव कार्की, नुवाकोट ।

प्रतिक्रिया दिनुहोस्