कस्ता छन् त सेमिफाइनल पुग्ने टिमहरु



फिरोज राजोपाध्याय, काठमाडौं
२१ औं विश्वकपको अब समापनतिर लम्कँदैछ । चार खेल बाँकी छ र जुलाई १५ यानि जेठ ३१ गते राति विश्वकप विजेताको सस्पेन्स खुल्नेछ ।

विभिन्न महादेसका ३२ टिमले सहभागिता जनाएको रुसमा जारी विश्वकपमा सेमिफाइनलको समीकरण पुरा भइसकेको छ । यति लामो यात्रा सम्ममा दिग्गज नाम चलेका टीम पराजित भएर बाहिरिसकेका छन् । यस पटक पनि विजेताको नाममा युरोपियन टिमकै हुने तय भइसकेको छ ।

पाँच पटकको विश्व च्याम्पियन ब्राजिल छैठो उपाधि जित्ने सपनामाथि बेल्जियमले २–१ ले तुषारापात गरिदियो । योसँगै प्रतियोगिताको सबैभन्दा ठूलो दावेदारी ब्राजिल क्वाटरफाइनलबाटै विदा भयो ।

यसैगरी लियोनेल मेसी उपाधि जित्न भनेर रुस आए तर टोली फ्रान्ससँग अन्तिम १६ मा ४–३ ले हारेर घर फर्कियो । यस्तै डिफेन्डिङ च्याम्पियन जर्मनी त पहिलो चरणबाट माथि उठ्न पनि सकेन । स्वीडेन, दक्षिण कोरिया र मेक्सिकोले सानदार प्रदर्शन गरेपछि ३८ वर्षपछि जर्मनी पहिलो पटक पहिलो चरणबाटै विदा हुन कर लाग्यो ।

सेमिफाइनलमा पुग्ने टोलीहरुमा बेल्जियम, फ्रान्स, इंग्ल्यान्ड र क्रोएसिया रहेका छन् । यीमध्ये फ्रान्स १९९८ को विश्व च्याम्पियन हो भने इंग्ल्यान्ड १९६६ विश्वकपको विजेता हो । बेल्जियम र क्रोएसियाले भने फाइनल खेल्न पाइरहेका छैनन् । यदि यी दुई टोलीले क्रमशः फ्रान्स र इंग्ल्यान्डलाई हराएमा विश्वकपमा पहिलो पटक विश्व उपाधि नजितेका दुई टोलीबीच फाइनल खेल हुनेछ । र नयाँ विजेता घोषित हुनेछ ।

कस्ता छन् त यी टोलीहरुः

फ्रान्स

फ्रान्स १९९८ को विश्व च्याम्पियन हो । साथै २००६ विश्वकपको रनरअप पनि हो फ्रान्स । १९९८ मा च्याम्पियन भए यता फ्रान्सले विश्वकपमा राम्रो गरिरहेको छ । यस पटक फ्रान्समा धेरै जसो खेलाडी युवा छन् । पउल पोग्बा, एन्टोइन ग्रीजम्यान, १९ वर्षका युवा खेलाडी किलियन एमबाप्पेले जारी विश्वकपमा सानदार प्रदर्शन गरिरहेको छ । यस पटक फ्रान्सले जित्ने संभावना पनि बनेको छ ।

एमबाप्पेले दुई सानदार गोल गरेपछि अर्जेन्टिना जस्तो शसक्त टिम पनि विश्वकपमा निरीह साबित भयो । एमबाप्पेले पेलेसरह कीर्तिमान पनि राखिसकेकोले फ्रान्सको सबैभन्दा भरोसेमन्द खेलाडी बनिसकेका छन् । अर्को फ्रान्सको लागि युरो २०१६ को फाइनल हारेको निरासा पनि मेट्ने मौका छ यसपटक ।

फ्रान्सको नतिजा
समूह चरणः अस्टे«लिया २—१, पेरु १–०, डेनमार्क ०–०
अन्तिम १६ः अर्जेन्टिना ४–३
क्वाटरफाइनलः उरुग्वे २–०
प्रमुख गोलकर्ताः एन्टोइन ग्रीजम्यान, क्लिएन एमबाप्पे (३–३ गोल)

बेल्जियम
बेल्जियमलाई यस पटक गोल्डेन जेनेरेसनको उपनामले परिचित गराएको छ । हो पनि हो यो टिमले शुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएको छ । बेल्जियमलाई रोमेलु लुकालु, कप्तान इडिन हजार्ड र केभिन डी ब्रुएनको तिकडीले अगाडि ल्याएको भने पनि हुन्छ ।

लुकाकुले गोल्डेन बूटका लागि लोभ नगरी टिमको जितको लागि प्लेमेकरको भुमिकामा रहेका छन् । उनले यो विश्वकपमा चार गोल गरिसकेका छन् । उनी गोल्डेन बूटका दावेदारीमा अग्रपंक्तिमा रहेका ह्यारी केनसँग २ गोलले पछि छन् ।

पछिल्ला खेलमा ब्राजिलविरुद्ध डि ब्रुएनले गोल गर्नुमा पनि लुकाकुको सानदार एसिस्टकै परिणाम थियो ।

बेल्जियम १९८६ विश्वकपमा सेमिफाइनल पुगेको थियो । यदि त्यो समयमा म्याराडोनाको जादुमय खेल नहुने हो भने बेल्जियमले शायदै त्यतिबेला नै विश्वकप ट्रफीमा आफनो नाम लेखाइसकेको हुन्थ्यो ।

त्यतिबेलाका फुटबल विशेषज्ञले म्याराडोना चम्कनु नै बेल्जियमको लागि घातक बनेको भनेका थिए । यसपटक बेल्जिजयमले ब्राजिललाई २–१ ले हराएर सेमिफाइनलको यात्रा तय गरिसकेको छ । दुई जितले टाढा छ बेल्जियम मेडन प्रमुख उपाधि जित्न । जापानसँग २–० ले पछि परेर पनि ३–२ ले पुनरागमन गर्नुलाई पनि बेल्जियम खतरनाक टिम रहेको पुष्टि गर्छ ।

नतिजा

समूह चरणः पानामा ३–०, ट्युनिसिया ५–२, इंग्ल्यान्ड १–०
अन्तिम १६ः जापान ३–२
क्वाटरफाइनलः ब्राजिल २–१
प्रमुख गोलकर्ताः रोमेलु लुकाकु (४ गोल), इडिन हजार्ड (२ गोल)

इंग्ल्यान्ड
इंग्ल्यान्डको लागि यो विश्वकप परिको कथा झै भएको छ । ग्यारेथ साउथगेटले युवा खेलाडीको जमात रुसमा लगेर इंग्ल्यान्डलाई सेमिफाइनल पु¥याइसकेका छन् । इंग्ल्यान्डले आफनै घरेलु मैदानमा विश्वकप आयोजना हुँदा १९६६ मा विश्वकप ट्रफी चुमेको थियो ।

यसपछि थ्री लायन्सले परिचित यो टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरेपनि धेरै माथि उठ्न सकेन । १९९० विश्वकप इंग्ल्यान्ड सेमिफाइनल पुगे यता पहिलो पटक अन्तिम चारमा पुगेको छ । यहाँसम्म पुग्न टोलीलाई २८ वर्ष झण्डै ३ दशक लाग्यो । यो लामो समयपछि आएको मौका इंग्ल्यान्डले सदुपयोग गर्नु पर्ने पूर्व कप्तान गेरी लिनेकरले बताउँछन् । उनले भने—अहिले मौका छ यो भन्दा सुनौलो अवसर फेरि फेरि आउँला कि नआउँला भन्न सकिन्न । हाम्रा कडा प्रतिद्वन्द्वी जर्मनी, ब्राजिल, अर्जेन्टिना बाहिरिसकेका छन् । यो टोलीमाथि विश्वास छ यीनीहरुले विश्वकप जित्नेछ ।

नतिजा
समूह चरणः ट्युनिसिया २–१, पानामा ६–१, बेल्जियम ०–१
अन्तिम १६ः कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराएको
क्वाटरफाइनलः स्वीडेन २–०
प्रमुख गोलकर्ताः ह्यारी केन (६ गोल), जोन स्टोन्स (२ गोल)

क्रोएसिया
क्रोएसिया यस्तो टोली हो कि धेरै राम्रो पनि होइन नराम्रो पनि त्यति छैन । पहिले पनि क्रोएसियाले विश्वकपमा तहल्का मच्चाएको थियो । जर्मनीमा भएको विश्वकपमा क्रोएसिया तेस्रो भएको थियो । जसमा नेदरल्यान्डसलाई हराएर तेस्रो भएपछि क्रोएसिया त्यति चर्चामा रहेन जति हुनुपर्ने हो ।

यसपटक भने क्रोएसियाको खेल हेर्दा अन्त्यसम्म पनि नछोड्ने खालको छ । हुन त अर्जेन्टिना र डेनमार्कविरुद्ध जुन खेल देखायो क्रोएसियाले त्यो खेल रुसविरुद्ध देखाउन सकेन । यद्दपि पास धेरै खेल्यो । जित पनि हात पार्न लाग्दा गोल बेहोर्नु क्रोएसियाको कमजोर पक्ष हो । भाग्यवश दुई वटा खेलमा पेनाल्टी शुटआउट आफनो पक्षमा पारेर क्रोएसिया सेमिफाइनल पुगेको छ । यसका धेरै जसो खेलाडीले पहेँलो कार्डको दर्शन गरेकाले सेमिफाइनलमा फाइदा इंग्ल्यान्डलाई हुन सक्ने संकेत भएको छ ।

नतिजा
समूह चरणः नाइजेरिया २–०, अर्जेन्टिना ३–०, आइसल्यान्ड २–१
अन्तिम १६ः डेनमार्कलाई पेनाल्टी शुटआउटमा हराएको
क्वाटरफाइनलः रुसलाई पेनाल्टी शुटआउटमा हराएको
प्रमुख गोलकर्ताः लुका मोड्रिच (२ गोल)

 

प्रतिक्रिया दिनुहोस्