बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा, ब्राजिलको यात्रा समाप्त



मस्को, (एजेन्सी)
विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनलमा पराजित हुंदै ५ पटकको विश्व च्याम्पियन ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको दोस्रो क्वाटरफाइनलअन्तर्गत शुक्रवार कजान एरेनामा भएको खेलमा बेल्जियमले ब्राजिललाई २–१ ले हराएपछि ब्राजिलको विश्वकप यात्रा टुङ्गिएको हो । योसंगै ब्राजिललाई हराएको युरोपियन राष्ट्र बेल्जियम ३२ वर्षपछि विश्वकप फुटबलको अन्तिम चारमा प्रवेश ग¥यो ।

बेल्जियमले खेलको १३ औं मिनेटमा अग्रता लिन सफल भएको थियो । ब्राजिलका फर्नान्डिन्होले गरेको आत्मघाती गोलबाट बेल्जियमले अग्रता लिएको थियो । कर्नरमार्फत् नासेर चाड्लीले प्रहारलाई क्लियर गर्ने क्रममा उफ्रेको फर्नान्डिन्होको ढाडमा लागेर बल सोझै गोलपोस्टको जाली चुमेको थियो । खेलको ३१ औं मिनेटमा काउन्टर अट्याकमार्फत् बेल्जियमले आफ्नो अग्रता दोब्बर पा¥यो ।

बेल्जियमका लागि रोमेलु लुकालुको एसिस्ट केभिन डि ब्रुयेनले गोल गरेका थिए । जारी विश्वकपमा उनको यो पहिलो गोल समेत हो । पहिलो हाफमा २–० ले पछि परेको ब्राजिलले दोस्रो हाफमा निक्कै नै मेहनत गर्दै एक गोल फर्काउन सफल भयो । ब्राजिलका लागि स्थापन्न खेलाडी रेनाटो अगस्टोले गोल फर्काएका थिए ।

फिलिप कौटिन्होले लेफ्ट फ्लान्कबाट गरेको पासमा उनले हेडमार्फत् उक्त गोल गरेका थिए । तर एक गोल खेलमा फर्कन ब्राजिललाई पर्याप्त रहेन । बेल्जियमको जितमा गोलरक्षक थिबाउट कुर्टोइसले प्रमुख भूमिका खेलेका थिए । उनले ब्राजिलको आधा दर्जन खतरनाक प्रहारलाई विफल पारेका थिए । उक्त खेलमा ९ पटक गोलपोस्टमा शट हानेका बेल्जियमविरुद्ध ब्राजिलले २७ पटक शट प्रहार गरेका थिए ।

यससंगै दाबेदार मानिएका ब्राजिल पनि जर्मनी, अर्जेन्टिना र स्पेन सरह घर फर्किएको छ । अब सेमिफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्नेछ । यसअघि १९९८ को च्याम्पियन फ्रान्सले दुई पटकको च्याम्पियन उरुग्वेलाई २–० ले हराउंदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

यसअघि बेल्जियम सन् १९८६ मा पहिलो पटक सेमिफाइनल पुगेको थियो । बेल्जियमले ब्राजिललाई पराजित गरेको ५५ वर्षयता यो पहिलो पटक हो भने विश्वकपमा पनि पहिलो पटक हो । सन् १९६५ मा भएको मैत्री खेलमा ब्राजिललाई पराजित गरेको बेल्जियम त्यसयता लगातार ३ खेलमा ब्राजिलसँग पराजित भएको थियो । विश्वकपमा यसअघि सन् २००२ मा भएको अन्तिम १६ को खेलमा ब्राजिलले बेल्जियमलाई २–० ले हराएको थियो ।

उक्त हारपछि ब्राजिलका खेलाडी पौलिन्हो र गेब्रियल जिसस विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिनु निकै निराशाजनक भएको बताएका छन् । दुवैले आफ्नो प्रदर्शन सन्तोषजनक हुन नसकेको स्वीकार गरे । जर्मनीसँग सन् २०१४ को विश्वकप सेमिफाइनलमा ७–१ ले पराजित हुँदा भन्दा पनि यसपटकको हार बढी पिडादायक भएको बताए । पौलिन्होले भने,–’२०१४ को हार पनि सहन मुस्किल थियो ।

यो हार त्यो भन्दा बढी बेल्जियमसँगको हार पिडादायी रह्यो । हामी अन्तिम सेकेन्डसम्म लड्यौं । उक्त खेलमा हामी सबै क्षेत्रमा हावी थियौ । ’ यस्तै जारी विश्वकपमा गोलको खाता सम्म खोल्न नसकेका म्यानचेस्टर सिटीबाट खेल्ने जिससले पनि टोलीको हार र आफ्नो प्रदर्शनबाट निराश भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्