इंग्ल्यान्ड २८ वर्षपछि सेमिफाइनलमा



मस्को, (एजेन्सी)
स्वीडेनलाई २–० ले हराउपछि इंग्ल्यान्ड झण्डै तीन दशकमा पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

थ्री लायन्स उपनामले चर्चित इंग्ल्यान्डको जितमा ह्यारी मेगुर र डेली अलीले गोल गरेका हुन् । शनिबार जारी विश्वकपको तेस्रो क्वाटरफाइनल खेलमा मेगुरेले हेड गोलमार्फत् इंग्ल्यान्डलाई अग्रता दिलाए । उनले ३० औं मिनेटमा कर्नर किक प्रहारमा हेड गर्दै क्लोज रेन्जमा गोल गरेका थिए । यो गोलले इंग्ल्यान्डलाई १९९० विश्वकपपछि अन्तिम चारमा पु¥याउने संकेत देखायो ।

अलीले ५९ औं मिनेटमा अग्रता दोब्बर पारेपछि ग्यारेथ साउथगेटको टोली अन्तिम चारमा पुग्ने पक्का बन्यो । अनमार्कमा रहेका अलीले जेसे लिन्गार्डको क्रसमा क्लोज रेन्जमा हेड गर्दै गोल गरेका थिए । उनले स्वीडेनको डिफेन्सलाई पुरै छक्याएर गोल गरेपछि यूकेमा रहेको करिब ३२ मिलियन इंग्लिस फ्यानले एकैचोटि खुशी मनाएको डेलीमेलले जनायो । फ्यानहरुले बीयर हावामा फँयाकेर एक अर्कालाई छ्यापेर यो गोलको खुशी मनाए ।

उता कोलम्बियाविरुद्ध पेनाल्टी शुटआउटमा नायक बनेका इंग्लयान्डका किपर जोर्डन पिक्फोर्डले पनि टोली जित्न सहयोग गरेका थिए। उनले स्विडेनको तीन डरलाग्दो प्रहारलाई गोल हुनबाट विफल बनाएका थिउ । उनले मार्कस बर्गको हेडर, भिक्टोर क्लाइसनको प्रहारलाई रोकेका थिए । तर बर्गको प्रहार क्रसबारमाथिबाट गएको थियो । योसँगै स्वीडेनको यात्रा क्वाटरफाइनलमै रोकियो ।

फुटबलको जन्मदाताको रुपमा परिचित इंग्ल्यान्डले १९६६ मा विश्वकप ट्रफी उचालेको थियो । त्यतिबेला इंग्ल्यान्डले पश्चिमी जर्मनीलाई हराएर उपाधि जितेपछि १९९० मा बल्ल सेमिफाइनलको यात्रा तय गरेको थियो । यो विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्ड जर्मनीसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो । यो विश्वकपको उपाधि जर्मनीले जितेको थियो ।

यसपटक जर्मनी, अर्जेन्टिना, ब्राजिल हार्नावितिकै इंग्ल्यान्डका पूर्व चर्चित खेलाडीहरुले यो विश्वकप इंग्ल्यान्डले जित्ने मौका आएको बताएका छन् । उनीहरुले इंग्ल्यान्डले यो मौका गुमाउन नहुने बताइरहेका छन् । यो जस्तो मौका फेरि फेरि नआउने पूर्व कप्तान गेरी लिनेकरले बताएका छन् ।

म्याच स्ट्याटस्
—स्वीडेनले इंग्ल्यान्डविरुद्धका अघिल्ला चारमध्ये यो समेत गरी तीन खेल हारेको ।
—स्वीडेनविरुद्ध पछिल्ला गरिएका ११ गोलमा ६ गोल हेडमार्फत भएको ।
—इंग्ल्यान्डले जारी विश्वकपमा ११ गोल गरिसकेको छ । यसअघि १९६६ मा पनि त्यति नै गोल भएको ।
— विश्वकपमा अली २२ वर्ष ८७ दिनमा गोल गर्दै इंग्ल्यान्डका लागि दोस्रो युवा खेलाडी बने ।
—यसअघि माइकल ओवेनले १९९८ विश्वकपमा १८ वर्ष १९० दिनमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्