हरियाली प्रवद्र्धनमा जापानी हात



नेपाल समाचारपत्र, काठमाडौं । 
नेपालको पर्यावरण र हरियाली प्रवद्र्धनमा सघाउन नेपालका लागि जापानी राजदूत सहित जापानी स्वयंसेवकले भक्तपुरको चाँगुनारायण मन्दिर आसापासको खुला क्षेत्रमा वृक्षरोपण गरेका छन् ।

राजदूत साइगो मासामिचीसहित ३० जना जापानी स्वयंसेवक र नेपाली अधिकारीसमेत संलग्न टोलीले शनिबार धौलागिरी विद्यालयसँगैको पाखोमा ३ हजारभन्दा बढी बिरुवा रोप्यो । मियावाकी विधि (वृक्षरोपणमा जापानी आधुनिक विधि) अनुसरण गर्दै स्थानीय रैथाने प्रजातिका बोटविरुवा रोपिएको हो ।

कटुस, फलाट, चिलाउने, रुद्राक्ष, चाँप, काफल, पैयौं, चेतपात, कालीकाठ, खरी, लाँकुरीजस्ता प्रजातिका बिरुवा रोपिएको वृक्षरोपण कार्यक्रमका संयोजक एवं जापानका पहिलो अन्तर्राष्ट्रिय अधिवक्ता डा. बलराम श्रेष्ठले जानकारी दिनुभयो । मियावाकी विधि अनुसरण गर्दा वृक्षरोपण गर्नु भन्दा अघि वृक्षरोपण गरिने क्षेत्रको भौगोलिक अवस्थिति र वातावरणसमेत अध्ययन गरेर स्थानीय रैथाने बोटविरुवा छनोट गरिन्छ ।

रोपिएका बिरुवा छोटो अवधिमा हुर्काउन, अन्य झारपात र मिचाह वनस्पतीको संभावित अवरोध मुक्त गर्न बिरुवाबाहेकको जमिनलाई परालले ढाकिन्छ । हरियाली अभियानमा सफल र मौलिक पहिचान बनाउनु भएका जापानी प्राध्यापक इमिरेट्स आकिरा मियावाकीले अघि सार्नु भएको अभियान नै मियावाकी विधि हो । जापान, नेपाल, भारत, चीन, थाइल्यान्ड, फिलिपिन्ससहित विभिन्न ३९ मुलुकमा मियावाकी विधि अभ्यास भइसकेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण क्षेत्रमा जापानी अधिकारी र स्वयंसेवकले विगत ५ वर्ष अघिदेखि वृक्षरोपण गर्दै आएका छन् ।

५ वर्षको अवधिमा त्यहाँ १७ हजार विरुवा रोपिएका छन्, ती विरुवा लगभग सबै हुर्किएका र बढेका छन् । ९ देखि १३ फिट उचाई हाराहारीका विरुवाले हरियाली बढाएको छ । शनिवार वृक्षरोपण गर्दा त्यहाँ पुग्नु भएका राजदूत मासामिचीले वन जंगल संरक्षण र हरियाली प्रवद्र्धन अभियान कुनै एक मुलुक र क्षेत्रमा मात्रै सीमित हुन नहुने बताउनुभयो । ‘हामी फरक मुलुकका छौ, तर वातावरण संरक्षण र हरियाली प्रवद्र्धन अभियान एउटै हो, उहाँले भन्नुभयो–‘त्यसैले जापानी स्वयं सेवक हरेक वर्ष यहाँ आइरहेका छन् ।’

राजदूत मासामिची सहित दूतावासका उप–नियोग प्रमुख योसीकी, प्रदेश नं ३का सांसद नरोत्तम वैद्य, काठमाडौं र भक्तपुरका जिल्ला वन अधिकृतद्धय रामबाबु पौडेल र फणिन्द्र पोख्रेल लगायतका अधिकारी पनि वृक्षरोपणमा सहभागी हुनुहुन्थ्यो । वृक्षरोपणका लागि जापानको याकोहामा नेसनल विश्वविद्यालयकी प्राध्यापक फुजिवारा खाजुए सहित ३० जना जापानी स्वयंसेवक गत साता काठमाडौं आएका छन् । चागुनारायण वन उपभोक्ता समितिका पदाधिकारी, आसपासका विद्यालय, जापानिज सामुराई एजुकेसन फाउण्डेसनका स्वयंसेवक पनि वृक्षारोपणमा खटिए ।

जापानको ओखायामा मौरी पालन केन्द्रले सन् १९९९ यता ललितपुरको लेले, काभ्रेको रयाले र भक्तपुरका विभिन्न भेगमा वृक्षरोपण गरिसकेको छ । केन्द्रको पहलमा विगत २० वर्षको अवधिमा नेपालमा ४ लाख ६० हजार ९ सय ९१ विरुवा रोपिएको केन्द्रको तथ्यांक छ । विगतमा परम्परागत शैलीमा विरुवा रोपिएको भए पनि सन् २०१४ यता भने मियावाकी विधिमार्फत वृक्षरोपण हुने गरेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो । ओखायामा केन्द्रबाट यसपटक केन्द्रका विदेश विभाग प्रमुख डा. लि च्याङ र प्रतिनिधि आकाहोसी नेपाल आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्