काममा ढिला सुस्ती गर्ने ९ जना ठेकेदारको सूची गृहमा



धनवीर दाहाल, रुकुम ।

रुकुमको बिभिन्न योजना/आयोजनामा ढिलासुस्ती गर्ने ९ ठेकेदार कम्पनीको सूची गृह मन्त्रालयमा बुझाइएको छ । जिल्ला प्रशासन कार्यालयले विभिन्न योजना/आयोजना सम्झौता अवधि भन्दा धेरै समय कटि सक्दा पनि निर्माण नगरेको भन्दै ९ ठेकेदार कम्पनिको सूची गृह मन्त्रालयमा पठाइएको हो ।

सडक, सडक पुल, बसपार्क, सिचाई लगायतका आयोजनामा ढिलासुस्ती भएको पाइएकाले सम्बन्धित ठेकेदार कम्पनीको सूची गृह मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । जिम्मा लिएको काममा ढिलासुस्ती गर्नेहरुको सूची गृह पठाउनुको साथै कामकाजलाई तीब्र पार्न भनिएको प्रजिअ रेग्मीले बताउनुभयो ।
चौरजहारी नगरपालिकामा बसपार्क निर्माणको काममा ढिलासुस्ती गर्ने मोतिदान/वानिया कन्ट्रक्सन सेवा, चौरजहारी बसपार्क–सिमलेखोला–त्रिवेणि–खहरे–लहरे–पीपलबोट–प्रियाटाकुरा–खहरे सडक निर्माणको जिम्मा लिएको मोतिदान÷वानिया कन्ट्रक्सन सेवा, आठबीसकोट सिचाई उप आयोजनाको जिम्मा लिएको खड्का कृष्ण कन्ट्रक्सन सेवा, मेगापुल पूर्तिमकाँडा गरायलाको सडक पुल निर्माणको जिम्म लिएको सपना सेलुङ्ग जेभीको सूची जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पठाएको हो ।

यस्तै गरी भरलाखोला पुल बाँसखोला निर्माणको जिम्मा लिएकोे नागार्जुन कन्ट्रक्सन कम्पनी, बाँसखोला पुल बाँसखोलाको जिम्मा लिएको नागार्जुन कन्ट्रक्सन कम्पनी, फलामेगौंडा–नदुवा–खदी–गोतामकोट सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्ट्रक्सन कम्पनी, त्रिभुवन जनता मावि भवन निर्माणको जिम्मा लिएको सस्छन्द सूर्य जेभी, नयाँ सहर आयोजनाको भवन निर्माणको जिम्मा लिएको रोशन कन्ट्रक्सन कम्पनीको कामका प्रगति सहितको प्रतिवेदन गृहमा पठाइएको छ ।

जिल्ला प्रशासन मार्फत गृहमा बुझाइएका योजनाको भौतिक प्रगति ४ देखि ८० प्रतिशत सम्म रहेको छ । मेगापुल पूर्तिमकाँडा गरायलाको सडक पुल निर्माणको प्रगति ४ प्रतिशत छ भने फलामेगौंडा–नदुवा–खदी–गोतामकोट सडक निर्माणको प्रगति ८० प्रतिशत रहेको छ ।

योजनाहरु समयमै सम्पन्न नहुँदा सर्वसाधारणको दैनिकी सहित विकास निर्माणका कार्यहरु ठप्प भएका छन् । सडक पुल नबन्दा लामो समयदेखि सर्वसाधारणले सास्ती खेपेका छन् । ‘सडक तथा पुल बनाउन सरकारले दिएको पैसाको पनि उपयोग नभएपछि समस्या ठूलो समस्या भएको छ,’ जिल्ला समन्वय समिति सदस्य धनवीर ओलीले भन्नुभयो, ‘विकास गर्न भनेर दिइएको बजेट र कामको जिम्मा पूरा नगर्ने परिपाटी अन्त्य नभए सम्म विकास पनि नहुने र जनताले पनि सुविधा नपाउने अवस्था भैरहने देखिन्छ ।’ ठूला र महत्वपूर्ण योजना समयमै नसकिएपछि त्यसले सबैतिर असर गरेको भनाई उहाँको छ ।

निर्माणाधिन योजना÷आयोजनाको काम सम्झौता गरेको अवधिमा नसकिनुका पछाडी ठेकेदारको लापरबाहीको नै मुख्य कारण रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ । ‘योजना आयोजना समयमै सम्पन्न हुन नसक्नुका कारणमा अरु पनि देखिएका छन्, तर मुख्य कारण भनेको ठेकेदारकै लापरबाहीका कारण देखिएको छ,’ प्रजिअ रेग्मीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्