तालमा डुबेर दुई बालकको मृत्यु



हेटौंडा, (नेस) ।
बेलाबेलामा मानिसको ज्यान लिने गरेको उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, कुलेखानीस्थित मानवनिर्मित देशकै ठूलो इन्द्रसरोवर तालमा डुब्दा दुई बालकको ज्यान गएको छ ।

शुक्रबार दिउँसो करिब साढे ४ बजे पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने १२ वर्षीय समीर थिङ र थाहा नगरपालिका–९ बस्ने ८ वर्षीय चन्द्रबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार स्थानीय सरस्वति बालबोधनी माविको परीक्षा सकेर ४ जना पौडी खेल्न गएका थिए । चन्द्रबहादुर २ कक्षा र थिङ ६ कक्षाका विद्यार्थी रहेको वडा अध्यक्ष जमानसिंह वाइबाले बताउनुभयो ।

पौडी खेल्न गएकामध्ये २ जना केही पर बसेर मृतकहरुले पौडी खेलेको हेरिरहेका थिए । त्यहीबेला एक जना डुबेपछि उनलाई बचाउन सरोवरमा पसेका अर्काको पनि ज्यान गएको थियो । साथीहरु सरोवरमा डुबेपछि २ जनाले अभिभावकलाई खबर गरेका थिए ।

अभिभावकहरु र स्थानीयको प्रयासमा करिब २ घण्टापछि शव निकालिएको वाइबाले बताउनुभयो । उनीहरु डुबेको सरोवरको उक्त भाग करिब २० मिटर गहिरो रहेको वडा अध्यक्ष वाइबाको भनाइ छ ।

शव परीक्षणका लागि शनिबार विहान करिब ३ बजे हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बालकहरुको मृत्युपछि आक्रोशित स्थानीयलाई प्रहरीले निकै समय सम्झाएपछि मात्र उनीहरुले शव पोष्टमार्टमका लागि हेटौंडा ल्याउन दिएका थिए ।

उक्त क्षेत्रमा वर्षेनी यस्ता दुर्घटना हुन थालेपछि स्थानीयले उद्धारका लागि डुंगा र डुबेकालाई तान्न डोरीमा बाँधेर पानीमा हालिने ४ वटा काँडे बल्छी तयारी अवस्थामा राखेको जानकारी दिँदै बाइवाले त्यही बल्छीको सहायताले शव निकालिएको बताउनुभयो ।

उक्त सरोवर नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाका लागि प्रयोग गर्ने गर्दछ । बढी जसो दुर्घटना हुने उक्त क्षेत्र स्थानीयको फुटबल मैदानका रुपमा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्