पुस्तक चर्चा: बेहोसीका होसका कथाहरु ‘सेतो स्कार्फ’



-किरण श्रेष्ठ
सविता श्रेष्ठ ‘बेहोसी’ धरानबाट उदय भएकी कवि हुन् । कवितामा मन दिन सफल यिनै कविले भर्खरै मात्र काठमाडौंमा ‘सेतो स्कार्फ’ कथासङ्ग्रह विमोचित गराए । यिनको पहिलोचोटि प्रकाशित कथासङ्ग्रह ‘आफ्नै व्यथा आफ्नै तरङ्ग’ हो ।

 

यिनका दुईवटा उपन्यासहरु ‘अनन्तमा मिल्ने आशामा दुई समानान्तर रेखाहरु’ र ‘जीवन ज्योति’ प्रकाशित छन् । साहित्यमा मन राख्न पाउँदा र साहित्य प्रकाशन गर्न पाउँदा यिनी खुशी हुने गर्छन् । यस्तै खुशीयाली ‘सेतो स्कार्फ’को सार्वजनिकीकरणमा यिनले पोखे ।

‘सेतो स्कार्फ’ कथासङ्ग्रहमा १६ वटा कथाहरु सङ्ग्रहीत छन् । यिनका सबैजसो कथाहरुमा बोधो मनका बोधो तरङ्गहरु प्रवाहित छन् । साहित्यमा अझ कथामा कथाकै रुप–रङ्गहरु नभए कथाको स्वरुप खल्लो–खल्लो बन्दछ । सविताका कथाहरु खल्लो–खल्लो नभएकै कारणले कथाहरु पठनीय छन् । ‘अज्ञानता’ कथामा अज्ञानीहरुले अन्धविश्वास आफ्नो काँधमा चढाएर आफ्नो र आफ्नो जनको समेत हत्या गराउँछन् ।

 

कथामा छाउपडीकै क्रममा शारदाको मृत्यु भएको, मृत्युपछि अज्ञानी आमासमेत सबै शोकाकूल भएको देखाइएको छ । आत्मबल सबै रोगको निदान हुने औषधि रहेको तथ्य कथामा देखाएर श्रेयालाई बलियो बनाउन सफल ‘आत्मबलभित्रको यथार्थता’ कथा समसामयिक र उपदेशात्मक छ । ‘उपहार’ कथामा आफ्नी आमालाई झुक्याएर वृद्धाश्रम पु¥याइदिएको कथा छ । यसभित्र सङ्ग्रहीत अन्य कथाहरुमा ‘कथाभित्रको कथा’ मा आमाको महानता बखानिएको छ ।

यसै गरी ‘खुशीका रङहरु’मा खुशीको अनैतिक चरित्रले हुन गएको हत्या वर्णित छ । सार्थक र सम्पदाका प्रेममय मायापीर्तिलाई अधुरो बनाएर दुर्घटनामा सार्थकको मोटरको ठक्करले भएको मृत्युलाई औल्याइएको छ ‘नियतिको खेल’ कथामा ।

 

‘परिणाम’ कथामा लुटेर, ठगेर बेइमानीपूर्वक जसरी सम्पत्ति कमाएको हुन्छ त्यसरी नै नष्ट भएर जान्छ भन्ने सन्देश दिन खोजिएको छ । ‘पश्चात्तापको आँसु’मा साधनाले बच्चा नपाएको पीडाको कथा छ । गाउँबाट शहर गएका जीतबहादुरको जीवनको भताभुङ्गका कथाप्रसङ्गहरु छन् ‘बन्धकी सपना’ कथामा ।

‘मोक्ष’मा सन्तप्रसादको हुस्सु जीवनका प्रसङ्गहरु छन् । जीवनमा मान्छेले अनौठा लाग्दा घटनाहरु भोग्नुपर्दारहेछन्, यस्तै भोग्नुको कथा भएको छ यो कथा । ‘यस्तो एउटा कल्पना’ मा पात्र–यात्रहरुको जीवनप्रतिको कल्पना देखाइएको छ । स्वप्निलका कथा–व्यथाहरु ‘स्वप्निल साँझ’ मा वर्णित छ ।

सबैजसो कथाहरुमा कथाकार सविता श्रेष्ठ ‘बेहोसी’ले नेपालीहरुको वास्तविक चित्रण गर्न खोजेका छन् । पारिवारिक जीवन, प्रेममय कुराकानी, दुःखद रहनसहन, वियोगान्त कथा–सूत्रहरु सबैजसो कथामा घटना–प्रसङ्गका रुपमा व्यक्त भएका छन् । सर्वसाधारणले बुझ्ने खालका कथाहरु यस ‘सेतो स्कार्फ’ कथासङ्ग्रहमा समेटिएका छन् ।

 

बेहोसीको यस होसको ‘सेतो स्कार्फ’मा सङ्ग्रह गरिएका कथाहरु केही कुराहरुको कमी रहेको जस्तो देखिए तापनि पढ्नलायकका छन् ।

प्रतिक्रिया दिनुहोस्