न्यायको भीख देऊ



छोराको हत्यारालाईकारबाहीको माग राखीझन्डै एक दशकदेखि न्यायको भीख माग्दै आएका गोरखाका नन्दप्रसाद दम्पतीले सरकारबाट न्यायको भीख पाउन सकेनन् । न्यायको भीख माग्न अनशनमा बसेकै समयमा नन्दप्रसादको ज्यान गयो भने उनकी पत्नी गंगामाया अधिकारी अझै न्यायका लागि अनशनमै छिन् । झन्डै साढे ३ सय दिनको आमरण अनशनपछि २०७१ असोजमा नन्दप्रसादको मृत्यु भयो । न्याय नपाएसम्म नन्दप्रसादको अन्त्येष्टि नगर्ने अडानपछि उनको शव अझैसम्म शिक्षण अस्पताल, महाराजगन्जकै शवगृहमा राखिएको छ । यता उनकी पत्नी गंगामायाको स्वास्थ्यस्थिति यतिखेर चिन्ताजनक अवस्थामापुगेका छ ।उनको पनि न्यायको भीख नपाईकन ज्यान जाने सम्भावना नजिकिइसकेको छ । न्याय माग्दा प्राण नै त्याग्नुपर्ने नियति आउनु भनेको मुलुकमा सरकारको उपस्थिति र अस्तित्व नै नरहनुजस्तै होइन र ?
उता चिकित्सा शिक्षा अध्यादेशलाई जस्ताको तस्तै कानुन बनाउनुपर्ने माग राखेर जुम्लामा पुगी अनशन बसेका डा. गोविन्द केसीको अवस्था पनि गम्भीर हुँदै गएको छ । उनलाई स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र तोडेर अस्पतालको आकस्मिक उपचार कक्षमा पु¥याइएको छ । जुम्ला अस्पतालका चिकित्सक प्रवीण गिरीका अनुसार डा. केसीको छातीमा गम्भीर समस्या देखापरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएर राखिएको छ ।डाक्टर केसी प्रतिष्ठानको कभर्ड हलमा गत शनिबारदेखि अनशन बस्दै आएका थिए ।
यिनै विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारविरुद्ध उत्रिएको छ । कांग्रेसले डा. गोविन्द केसी र गंगामाया अधिकारीको अनशनमा समर्थन गर्ने निर्णयसमेत गरेको छ ।कांग्रेसका राष्ट्रिय सभा नेता सुरेन्द्र पाण्डेले सरकारले अनशन बस्न तथा प्रदर्शन रोक्नकै लागि माइतीघर मण्डलालगायत विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा गर्दै जाने हो भने आफूहरूले संसद्भित्रै अनशन बस्ने चेतावनीसमेत दिएका छन् । न्यायको भीख माग्दा नन्दप्रसाद अधिकारीको उपेक्षा गरियो । यसै क्रममा उनको ज्यान गयो । अब गंगामाया एवम् डा. केसीलाई पनि उपेक्षा गरियो भनेउनीहरु पनि यस संसारबाट चाँडै बिदा हुनेछन् । अब के उनीहरुलाई पनि चाँडै बिदा दिने ? ज्यान नै जाने सवालमा सरकार चनाखो हुनै पर्छ । होइन भने अनशन बस्नेहरुकै गल्ती हो भनी प्रमाणित गरियोस् । सरकारले नागरिकको जीउ–धनको सुरक्षाको ग्यारेन्टी गर्न नसक्नु लज्जास्पद कुरा हो । आफ्नै जिन्दगीलाई रित्याएर न्यायको लडाइँ लडिरहेकाहरुप्रति बेवास्ता नगरियोस् ।

प्रतिक्रिया दिनुहोस्