धेरैपछि शेयर बजारमा उच्च वृद्धि



काठमाडौं (नेस)
केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार ३६ दशलमव शून्य १ अंकले बढेर १ हजार २ सय २४ दशमलव ४१ अंक कायम भएको छ।

नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा शेयर कर्जामा सहुलियत दिने चर्चासँगै पुँजी बजारमा उत्साह थपिएको हो। निरन्तरको गिरावटसँगै पुँजी बजारमा निराशा छाउँदा विभिन्न बैंकले जारी गरेको एफपीओसमेत बिक्री हुन सकेको छैन।

बिहीबार कुल १ सय ६८ वटा कम्पनीको १२ लाख १ हजार ४ सय ३३ कित्ता शेयर ६ हजार ६ सय २४ पटक खरिद बिक्री हुँदा ४६ करोड २० लाख १८ हजार ६ सय ३० रुपियाँ बराबरको कारोबार भएको छ। बजार बढेसँगै बिहीबार कारोबार रकममा पनि बढेको हो।

बिहीबारको कारोबारमा उत्पादन समूहबाहेक अन्य सबै समूहको उपसूचक बढेको छ। उत्पादन समूह ३६ दशलमव ३४ अंकले घटेको छ भने व्यापार समूह स्थिर देखिएको छ। सबैभन्दा धेरै बीमा समूहको उपसुचक ३ सय २२ दशमलव ४३ अंकले बढेको छ।

त्यसैगरी बैंकिङ समूह २६ दशमलव ७७ अंकले, होटल समूह ५८ दशलमव ६ अंकले, विकास बैंक समूह ३७ दशलमव २८ अंकले, जलविद्युत् समुह ५२ लशमलव शुन्य २ अंकले, वित्त समुह ८ दशलमव ७८ अंकले, अन्य समूह ८ दशलमव ४८ अंकले र लघुवित्त समूह ५ दशलमव ९ अंकले बढेका छन्।

बिहीबारको कारोबारमा सबैभन्दा धेरै नेसनल लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाख रुपियाँ बराबरको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्