ब्राजिलका लागि चुनौतीपूर्ण टोली बेल्जियम



फिफा विश्वकप २०१८ अन्तर्गत शुक्रबार कजान एरिनामा हुने दोस्रो क्वार्टरफाइनलमा ब्राजिल र बेल्जियमले प्रतिस्पर्धा गर्दैछन्। यसअघि सम्पन्न नकआउट चरणका खेलमा ब्राजिलले मेक्सिकोलाई २–० ले तथा बेल्जियमले जापानलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए। यसअघिका खेलमा जिते पनि ब्राजिलका लागि बेल्जियम कडा चुनौतीपूर्ण टोली बन्न सक्ने संभावना छ।

जारी विश्वकपमा अहिलेसम्म खेलेका हरेक म्याचमा जितलाई निरन्तरता दिने २ मध्येको एक राष्ट्र हो बेल्जियम। बेल्जियम र उरुग्वेले निर्धारित ९० मिनेटभित्र जित हासिल गर्दै आइरहेका छन्। यता ब्राजिल पनि जारी प्रतियोगिताको ४ वटै खेलमा अपराजित नै छ।

समूह चरणको पहिलो खेलमा मात्र ब्राजिल स्विजरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

बेल्जियमविरुद्धको खेलमा ब्राजिलका मार्सेलो, डेनिलो र कोस्टाले खेल्ने सम्भावना प्रबल छ। जसमध्ये मार्सेलोले खेल्ने प्रायः निश्चित नै छ। सर्बियाविरुद्ध समूह चरणको अन्तिम खेलमा उनी चोटग्रस्त बनेपछि खेलको सुरुआतमै उनलाई लेफ्ट ब्याक फिलिपे लुइसले स्थापन्न गरेका थिए। यस्तै डेनिलो र कोस्टालाई पनि इन्ज्युरीले नै सताएको थियो। यस्तै २ वटा पहेँलो कार्डका कारण कासेमिरोको स्थानमा फर्नान्डिन्होले सेन्ट्रल मिडफिल्ड सम्हाल्नेछन्।

यता नकआउट चरणमा जापानविरुद्धको खेलमा रोमेलु लुकाकु र इडेन हाजार्डको फिटनेसमा प्रश्न खडा भएको थियो। तर त्यसअघि बेन्चमै थन्किरहेका मराउने फेलाइनी र नासेर चाड्लीले भने वैकल्पिकरूपमा मैदान प्रवेश गर्दै आफूलाई प्रमाणित गर्न कुनै कसर बाँकी राखेनन्। जापानविरुद्धको जितमा दुवैले १–१ गोल आफ्नो नाममा लेखाउन सफल बने। यस्तै जापानविरुद्धको खेलमा फिट भएर मैदानमा देखिएका भिन्सेन्ट कम्पनी र थोमस भर्मालिन पनि ब्राजिलविरुद्धको सुरुआती ११ मा अटाउन सक्नेछन्।

गत अगस्तमा अर्जेन्टिनासँग मैत्रीपूर्ण खेलेयता ब्राजिल अपराजित रहेको छ। पछिल्ला ९ खेलमा स्विजरल्यान्डविरुद्ध मात्र ब्राजिलले १ गोल बेहोरेको छ। सो गोलका कारण नै पछिल्ला ९ खेलमध्ये १ म्याच मात्र ब्राजिलले बराबरीमा चित्त बुझाउनुपरेको थियो।

यता बेल्जियम पनि सन् २०१६ को अगस्तदेखि अपराजित नै छ। त्यसक्रममा लगातार ६ खेल जित्ने क्रममा बेल्जियमले १९ गोल गरेको छ। विश्वकप वार्मअपमा इजिप्टलाई ३–० ले तथा कोस्टारिकालाई ४–१ ले हराएको बेल्जियमले जारी विश्वकपको पछिल्ला ४ खेलमा ९ गोल गरेको छ। जापानविरुद्धको खेलमा पनि ६८ मिनेटसम्म २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बेल्जियमले जितको नतिजा निकालेको थियो। यसले पनि बेल्जियमको ब्राजिलमाथि दबाब हुने सक्ने अन्दाज लगाउन सकिन्छ।
शुक्रबार हुने खेलमा ब्राजिल ४–३–३ र बेल्जियम ३–४–३ को रणनीतिमा उत्रने सम्भावना छ। जसअनुसार आक्रमणमा तालमेल रहेको विलियन, गाब्रिएल जिसस र नेयमारको अग्रपंक्तिलाई छोटोछोटो पासमा पोख्त मिडफिल्डरहरू फिलिपे कौटिन्हो, फर्नान्डिन्हो र पौलिन्होले सघाउनेछन्। जसलाई रोक्न बेल्जियमका गोलरक्षक थिबाऊट कोर्टोइस र डिफेन्सिभ पर्खालमा जान भेर्टान्घेन, टोबी एल्डरवेइरेल्ड, भिन्सेन्ट कोम्पनीलाई धौ–धौ पर्नेछ।

यस्तै उचाइको साथ पाएका बेल्जियम अग्रपंक्तिका ड्राइस मर्टेन्स, रोमेलु लुकाकु र इडेन हाजार्डले चुस्त मिडफिल्डरहरू थोमस मेउनिएर, केभिन डे ब्रुने, अक्सेल विट्सेल र यान्निक कारास्को सहयोगमा ब्राजिलका गोलरक्षक एलिसन, फाग्नर, थियागो सिल्भा, जाओ मिरान्डा र फेलिपे लुइसको बलियो रक्षापंक्तिलाई भत्काउन हरसम्भव प्रयास गर्नेछ। ब्राजिलको नतिजा मुख्यतः नेयमार, फर्नान्डिन्हो र फिलिपे कौटिन्होको प्रदर्शनमा भर पर्नेछ।

बेल्जियम भने जारी विश्वकपमा ४ गोल गरिसकेका रोमेलु लुकाकुसहित असिस्ट किङ केभिन डि ब्रुने र इडेन हाजार्डको प्रदर्शनमा भर पर्नेछ। बेल्जियमविरुद्धको खेलमा ब्राजिलको कप्तानी मिरान्डाले गर्ने भएका छन्। ब्राजिलका प्रशिक्षक टिटेले मिरान्डालाई कप्तानको जिम्मेवारी दिने भएका हुन्।

२०१६ मा ब्राजिलको टोली सम्हालेका टिटेले प्रत्येक खेलमा फरक खेलाडीलाई कप्तान बनाउँदै आएका छन्। यसो गर्दा टिममा सामूहिकता बढ्ने उनको विश्वास छ। टिटेले समूह चरणमा सर्बियाविरुद्धको खेलमा पनि मिरान्डालाई क्याप्टेनको जिम्मेवारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्