विश्वकपमा आज क्वार्टरफाइनलका खेल,तीन विश्वविजेता भिड्दै



काठमाडौं । विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलका खेल सुरु हुँदै छन् । पहिलो क्वार्टरफाइनलमा फ्रान्स र उरुग्वे आमनेसामने हुँदैछन् । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । शुक्रबार राति हुने दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ ।

उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो । जारी विश्वकपमा पनि उरुग्वेका स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानीको जोडी निकै जमेको छ । प्रिक्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध दुई गोल गरेका काभानी चोटग्रस्त भएकाले शुक्रबार मैदानमा उत्रने निश्चित भइसकेको छैन । उनको अनुपस्थितिमा पनि उरुग्वेसँग क्षमतावान खेलाडीको कुनै कमी छैन ।

सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप जितेको ब्राजिलको टोली पनि आक्रमण, मिडफिल्ड र डिफेन्स सबैमा सन्तुलित देखिएको छ । लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता प्रभावशाली खेलाडीको बहिर्गमनपछि ब्राजिली स्ट्राइकर नेमार प्रतियोगितामा बाँकी रहेका थोरै स्टार खेलाडीमध्ये एक हुन् । नेमारबाहेक पनि जारी प्रतियोगितामा ब्राजिली टोलीका हरेक खेलाडीले अब्बल प्रदर्शन गर्दै आएका छन् ।

समूहगत चरणदेखि नै सशक्त प्रदर्शन गरिरहेको बेल्जियमले यस पटक पनि उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।
रोमेलु लुकाकु, इडेन हाजार्ड, केभिन डी ब्रुन, थिबउट कर्टोइज, मिची बात्सुईजस्ता विश्व फुटबलमा स्थापित खेलाडीको साथ पाएको बेल्जियम कुनै पनि टोलीलाई कठिन चुनौती दिन सक्षम छ । शुक्रबार चार टोलीबीच हुने दुई क्वार्टरफाइनल प्रतिस्पर्धा कुनै दृष्टिकोणबाट फाइनलभन्दा कम हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्