कर्णालीकै ठुलो आलु चिप्स उद्योग संञ्चालनमा



हिक्मत नेपाली, दैलेख ।

दैलेखको गुराँस गाउँपालिकामा आलु चिप्स र दालमोठ उद्योग संचालनमा आएको छ । गुराँस गाउँपालिका र जिल्ला लघु उद्यमी समूह संघ दैलेखको संयुक्त पहलबाट उक्त उद्योग संचालनमा आएको हो । गुराँस गाउँपालिकामा स्थापना भएको आलु चिप्स र दालमोठ उद्योग कर्णाली प्रदेशकै सबैभन्दा ठूलो उद्योग हो । उद्योग संचालनका लागि ८ लाखको लागतमा ६ वटा स्वचालित मेसिनहरु गुराँस गाउँपालिकामा भित्रिएका छन् । उक्त मेसिनले प्रतिघण्टा २ क्विन्टल आलु चिप्स तयार गर्न सक्ने क्षमता रहेको छ ।

गुराँसे क्षेत्रमा आलु उत्पादन धेरै हुने र चिसो हावापानीमा फलेको यहाँको अर्गानीक आलु स्वादिलो हुने भएकाले पहिलो प्राथमिकताका साथ उद्योग संचालनमा ल्याएको गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । उद्योग संचालनमा आएसंगै गुराँस गाउँपालिकाका स्थानीय युवाहरुलाई रोजगारीको बाटो खुल्नेछ ।

उद्योग संचालनलाई प्रभावकारी बनाउनका लागि दश दिने तालिम शुरु गरिएको जिल्ला लघु उद्यमी समूह संघ दैलेखका अध्यक्ष कविराज खत्रीले जानकारी दिए । उद्यमशीलता र प्रविधिको युगमा समाजलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन गाउँपालिकाले पहल गरेको गुराँस गाउँपालिकाका उपाध्यक्ष दिपा विसीले बताईन । ‘यो उद्योगले गुराँस गाउँपालिकाका किसानहरुको कृषि जन्य बस्तु खपत हुन्छ, उनले भनिन् “बेरोजगार युवाहरुलाई रोजगार सृजना गर्ने लक्ष्य राखेर उद्योग संचालन गर्न लागेका हौ ।”

सीप विकास तालिममा गुरासँ गाउँपालिकाका प्रत्येक वडाबाट एक÷एक जना गरि आठ जना सहभागि छन् । तालिममा सहभागि लघु उद्यमीहरुलाई व्यवसायका बारेमा शैद्धान्तिक प्रशिक्षण गर्नुका साथै प्रयोगात्मक रुपमा दक्ष बनाइनेछ । प्रशिक्षार्थीहरुले तालिम लिए पश्चात सहकारी दर्ता गरी सहकारीका माध्यमबाट उद्योग संचालन गर्ने बताएका छन् ।

यसका लागि गुराँस गाउँपालिकाले औद्योगिक ग्राम स्थापना गर्ने, प्याकेजिङ्ग मेसिन र लेवल छपाईका लागि अनुदान दिने भएको छ । जिल्ला लघु उद्यमी समूह संघ, दैलेखले उक्त उद्योगलाई सहयोग पु¥याउन व्यवसायिक योजना निर्माण, बजारीकरण र आवश्यक ऋणका लागि वित्तिय संस्थाहरुसंग पहल गर्ने भएको छ । दैलेख जिल्लामा लघु उद्यम विकास कार्यक्रम लागु भएयता ३ हजार लघु उद्यमी श्रृजना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्