ढलमा लगानी बालुवामा पानी, काम राम्रो नभए निर्माण कम्पनीलाई कारवाही



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरले ढल निकासको लागि खर्चिएको तीन अर्ब रुपैयाँभन्दा बढीको लगानी बालुवामा पानीजस्तै भएको छ ।

ढल तथा नाला निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी र कालिका कन्स्ट्रक्सनले बनाएको नाला पहिलो वर्षमै असफल देखिएको हो । अहिले परिरहेको वर्षातको पानी निकास हुन नसकेर नगरक्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् भने मुख्य बजार आदर्शनगर, पानीटंकी, कुम्हालटोल, छपकैया, श्रीपुरलगायतका स्थान जलाम्य भएर सर्वसाधारणलाई सास्ती पुगेको छ ।

एडिबीको ऋणमा बनाइएको यो परियोजनाबाट नगरको ढल निकासको समस्या समाधान हुने अपेक्षा गरिएकोमा पहिलो बर्खामै निर्माणको असली रुपमा देखा परेको छ ।वीरगन्जमा नाला निर्माण भइराख्दा जानकारहरुले डिजाइन गलत भएको भन्दै समस्या आउन सक्नेमा सचेत गराए पनि महानगरपालिकाका केही आफैमात्र जान्ने प्रवृत्तिका इन्जिनियर र निर्माण कम्पनीको मलिभगतमा डिजाइन नै परिवर्तन गरिएको जानकारहरु बताउँछन् ।

५४ किलोमीटर नाला बनाउनुपर्नेमा डिजाइन परिवर्तन गरी ४५ मा झारिएको र त्यसमा सस्तो कोटेसनलाई उल्ट्याएर महँगो दरको कामको स्वीकृती कालिकालाई पोस्नकै लागि भएको पनि बिज्ञहरुको तर्क छ ।

ढल, नाला र बाटो निर्माणका बारेमा जानकार प्राविधिकहरूले कालिकाले गरेको कामको टिकाउमा प्रश्न उठाउँदै आएका थिए । गतवर्ष नाला निर्माण भइराख्दा सिर्सिया नदीको बाढी ढल हुँदै सहर पसेको थियो । त्यसबेला महानगरका इन्जिनियरहरुले अनपेक्षित बाढीलाई कारण देखाउँदै निर्माण कम्पनीको बचाउ गरेका थिए ।

यसपटक सानै वर्षामा नदीको बहावले ढलको सतहलाई पार गर्न खोजेको देखिएको छ । यसबाट ढलको न्यून गुणस्तर र गलत डिजाइन प्रमाणित भएको छ । महानगरले एडिबीको साढे २ अर्ब रुपैयाँको दोस्रो चरणको काम पनि कालिकालाई नै सुम्पिएको छ । तर,महानगरपालिकाका मेयर बिजय सरावगीले काम राम्रो नभए निर्माण कम्पनीहरुलाई कारवाही हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्