एक वर्षमा १ सय १८ वटा मोटरसाइकल चोरी



सरोज यादव, विराटनगर ।

विराटनगर महानगरपालिकामा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको छ । दिनहुँ हुने मोटरसाइकल चोरीको घटनाले सर्वसाधारण हैरान भएका छन् । चालु आर्थिक वर्ष समापनको १७ दिन अघिसम्म विराटनगर महानगरपालिकाबाट मात्र १ सय १८ वटा मोटरसाइकल चोरी भएका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा विराटनगर महानगरपालिकाबाट १ सय १५ वटा मोटरसाइकल चोरी भएकोमा यसवर्ष साउन १५ गतेसम्म १ सय १८ वटा मोटरसाइकलहरु चोरी भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

विराटनगरको मालपोत कार्यालय, काली मन्दिर रोड, गुद्री बजार र नोबेल अस्पताललगायत बढी भीडभाड हुने क्षेत्रबाट प्रायः दिनहुँ सर्वसाधारणको मोटरसाइकल चोरी हुने गरेको छ । सर्वसाधारणको दैनिकी क्रियाकलापसँग जोडिएको मोटरसाइकल पार्किङ गरिएको ठाउँबाट क्षणभरिमै चोरले गायब गरिदिंदा सर्वसाधारण आर्थिक र मानसिकरुपमा पीडित भइरहेका छन् ।

चालु आर्थिक वर्षको असार १५ गतेसम्म विराटनगर महानगरपालिकासहित मोरङको विभिन्न क्षेत्रबाट १ सय ३८ वटा मोटरसाइकलहरु चोरी भएका छन । जसअन्र्तगत सिजुवाबाट दुइ, उर्लाबारीबाट तीन र बेलबारीबाट १५ वटा मोटरसाईकलहरु चोरी भएका छन् ।

विराटनगर महानगरपालिकासमेत गरी गएको आर्थिक वर्षमा मोरङबाट जम्मा १ सय २२ वटा मोटरसाइकलहरु चोरी भएका थिए । दिन बिराएर मोटरसाइकल चोरीका घटना हुने गरे पनि चोरी भएपछि न्यून संख्याका मोटरसाइकलमात्र भेटिने गरेको छ । चोरी भएको माल बरामद भएपछि मात्र मुद्दा चल्ने कानुनी प्राबधानका कारण मोटरसाइकल चोरीको घटनामा थोरै संख्यामा मात्र मुद्दाहरु चल्ने गरेको छ ।

चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकामा जम्मा १२ वटा र मोरङका अन्य ठाउँसमेत गरी मोटरसाइकल चोरीको जम्मा २० वटा मुद्दा प्रहरीले चलाएको छ । ती मुद्दाहरुमा ४० जनालाई प्रतिवादी बनाइएकोमा ३२ जनालाई पक्राउ गरिएको छ भने ८ जना फरार रहेको प्रहरीको तथ्यांकले देखाएको छ ।

मोटरसाइकल चोरीलाई न्यूनीकरण गर्न प्रहरीले विशेष सर्तकता अपनाउँदै आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी निशान थापाको भनाइ छ । चोरी गरी लगेको मोटरसाइकलहरुको नम्बर प्लेट, इन्जीन र रंगसमेत हेरफेर गरिदिने हुनाले बरामद भएका कयौं मोटरसाईकल सवारीधनी स्वयंले पनि नचिन्ने अवस्थाका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्