जनताको लगानी बालुवामा पानीः बल्ल बल्ल जोडिएको सिसि क्यामेरा बन्द गरियो



उत्तम नेपाल, भद्रपुर ।

झापाको भद्रपुर नगरपालिका स्थित चन्द्रगढीका व्यस्त चोक वजार क्षेत्रमा अपराध नियन्त्रण अभियानलाई लक्षित गरी चारवर्ष अघि जडान गरिएका सिसि क्यामरा प्रयोगविहीन भएको पाइएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको संयोजन तथा स्थानीय संघ संस्थाको आर्थिक सहयोगमा चन्द्रगढीको लेखनाथ चोकदेखी चन्द्रगढीकै ट्रेडयुनियन चोकसम्ममा लक्षित गरेर चार वटा क्यामरा जडान गरेपनि एकवर्ष यतादेखि सञ्चालनमा आएका छैनन ।

स्वचालित क्षमता रहेका पिटिजेट नामक क्यामरा लेखनाथचोक र ट्रेडयुनियन चोकमा तीनसय साठी डिग्रीमा घुम्न सक्ने क्षमताका क्यामरा जडान गरिएको थियो । त्यसैगरी वीरेन्द्र उच्च मावि छेउ र कृषि विकास बैङ्क छेउको चोकमा निश्चित(फिक्स) क्षमता भएका सिसि क्यामरालाइ ३ लाख ३२ हजार २ सय २० रुपैयाको लागतमा जडान गरिएको थियो । सिसि क्यामराको कन्ट्रोलरुम जिल्ला प्रहरी कार्यालय झापामा राखि ती क्षेत्रहरुको क्यामरा मार्फत निगरानी गरिने जनाइएको थियो ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल,जिल्ला प्रहरीका एसपी मुकुन्द आचार्य (हाल एसएसपी),उद्योगी ,व्यापारी ,संघ संस्था लगायतको उपस्थितीमा ०७१ पुस ११ गते कार्यक्रमको आयोजना गरि सञ्चालनमा आएको घोषणा गरिएको थियो । चन्द्रगढी क्षेत्रमा दैनिक विभिन्न प्रकारका अवान्छित कृयाकलाप बढेर गएपछि क्यामराको आवश्यक्ता देखेर स्थानीय लगायत सरोकारवालाहरुको लामो छलफलमा क्यामरा जडान गरिएको थियो । क्यामरा जडानको लागि सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीका अध्यक्ष दुर्गाप्रसाद पाठकको संयोजकत्वमा पन्ध्र सदस्य सिसिटिभी क्यामरा व्यवस्थापन समिति गठन गरेको थियो ।

समितिले झापाका विभिन्न ४७ जना दाता तथा सङ्घ संस्थाबाट रकम उठाई चारवटा क्यामरा खरिद गरेका थिए । क्यामरालाइ सामुदायिक प्रहरीले जिल्ला प्रहरीलाई जिम्मा लगाएपछि ढुक्कले चन्द्रगढीका वासिन्दा बसेका थिए । तर , एकवर्षदेखि पुनः सञ्चालनमा नआएपछि जनताको रकम वालुवामा पानी भएको पाइएको छ ।

जडान गरिएका सामाग्री गुणस्तरहीन हुन् वा प्रहरीको लापर्वाहीले अहिले प्रययोगवीहीन भएको प्रति स्थानीय अनभिज्ञ भएका छन् । क्यामरा सञ्चालनमा आएपछि बजार सुरक्षित भएको स्थानीय रोशनी राई बताउँछिन् । तर, अहिले क्यामरा बन्द भएकाले चन्द्रगढीमा केही घट्ना भयो भने पत्ता लगाउन प्रहरीलाई अप्ठ्यारो हुने उनको भनाई छ । के गरेर हुन्छ यसलाई सञ्चालनमा ल्याउन जरुरी रहेको उनको भनाई छ ।

क्यामरा सञ्चालनमा आएपछि चन्द्रगढी क्षेत्र सुरक्षित भएको सामुदायिक प्रहरी मुना दाहाल बतउँछिन् । सिसि क्यामराको सहयोगमा चोरसमेत पक्राउ गर्न प्रहरी सफल भएकोले यसलाई चाडो भन्दा चाडो सञ्चालनमा ल्याउन उनले माग गरिन् । यो विषयमा व्यवस्थापन समितिका सल्लाहकार पुरुषोत्तम अधिकारी र असारु राजवंशीलाई कुनै जानकारी नभएको वताए । ‘सेवा केन्द्रले क्यामरा जोड्ने भन्दै घर पुगेका थिए , मागेजति रकम दिएको तर ,अहिले के भयो अध्यक्ष पाठकले नै जानुन’ अधिकारीले भने ।

क्यामरा जडानको विषयमा झापाका एसपी विष्णु कुमार केसी पनि अनभिज्ञ छन् । केही हप्ता अघि टोलटोलमा प्रहरी भन्ने कार्यक्रममा क्यामराको विषय उठान हुँदा एसपी केसीले चन्द्रगढीमा छ र ? भन्ने प्रश्न गरेका थिए । क्यामरा लाई निरन्तर सञ्चालनमा ल्याउनु पर्ने व्यवसायी श्याम खतिवडा बताउँछन् । मुख्य चोकमानै क्यामरा नभएपछि सुरक्षित भएको महशुस गर्न नसकिने उनले जनाए ।

एक वर्ष अघि चन्द्रगढीमा रहेका दुइवटा केवलबिच विवाद भएर तार काटाकाट गर्दा समस्या आएको सामुदायिकका अध्यक्ष दुर्गा पाठकले बताए । उनिहरुले तार काट्दा हाम्रो पनि काटिएको साथै तार सर्ट भएर आगलागी हुदा क्यामरामा पनि समस्या आएपछि बन्द भएको उनको भनाई छ ।

जडान भइसकेपछि प्रहरीको मातहातमा रहेकोले हामीलाई चलेको नचलेको थाहा नभएको उनले जनाए । पछि समस्या आएको जानकारी आएपछि भद्रपुर नगरपालिकाले केही रकम खर्च गरेर मर्मत गरेको उनको भनाई छ । यसको व्यवस्थापनको लागि छुट्टै प्राविधिक खटाएर निरन्तरता दिनु पर्ने उनि बताउँछन् । मूल जिम्मेवारी स्थानीय सरकारको रहेको भन्दै उनि पन्छिए । जिल्ला प्रहरी कार्यालयका प्राविधिक देवेन्द्र बहादुर भण्डारीले क्यामराले काम नगरेको झण्डै एकवर्ष पुग्न लागेको बताए । जिम्मेवारी कस्को हो भन्ने निश्चीत नभएका कारण अलपत्र परेकोले उनको भनाई छ ।

त्यसैगरि भारतीय सीमा क्षेत्रसँग जोडिएको पूर्वको पुरानो बजार भद्रपुरमा हालसम्म सीसी क्यामेरा जडानका लागि कुनै पहल भएको छैन । सीमामा हुने दैनिक अवान्छित कृयाकलाप भइरहेपनि भद्रपुर नगरपालिकाले यसतर्फ ध्यान नदिदा प्रहरीलाई सुरक्षामा चुनौती देखा परेको छ ।

भद्रपुर बजार क्षेत्रमा पटक पटक मोटर साइकल चोरी हुने, पसल तोडफोड गर्ने, दिनदहाडै रकम लुटेर भाग्ने सम्मका घट्ना भइरहेको अवस्थामा पनि नगरपालिकाले चासो नदेखाउदा काम गर्न समस्या भएको प्रहरीले गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन अघिदेखी हालसम्म यो विषयमा नगर प्रमुख,उपप्रमुख ,प्रशासनलाई बारम्बार अनुरोध गरेपनि हुन्छ मात्र भनेको तर काम नगरेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जबेगूले बताए ।

खुल्ला सीमाना भएको भद्रपुर नाकामा भारतबाट आएर भद्रपुर बजारमा दिनदहाडै थुप्रै घट्ना घटाएर फरार भएको अवस्थामा क्यामरा नभएका कारण अपराधि पहिचान गर्न समस्या भएको इन्सपेक्टर जबेगूको भनाई छ । वडा प्रहरीले छलफलको लागि नगरपालिकालाइ लिखित तथा मौखिक जानकारी गराएपनि चासो नदेखाएको उनले आरोप लगाए ।

चन्द्रगढीमा राखिएका सिसि क्यामरालाइ जिल्ला प्रहरीले हेर्नेमात्र काम भएको तर क्यामरा जडान गर्ने समुदायले वास्ता नगरेका कारण अहिले क्यामराले काम नगरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले बताए । क्यामराको व्यवस्थापन हुन जरुरी रहेकोले सञ्चालनमा आउने बित्तिकै प्रहरीले त्यसतर्फ ध्यान दिने एसपी केसीको भनाई छ । अर्को तर्फ अन्य नगर तथा गाउँपालिकाले बजेटमा प्रहरीलाई सम्बोधन गरेपनि भद्रपुर नगरले भने वास्ता नगरेका कारण दुःख लागेको केसीले बताए ।

प्रहरीपनि यहि समाजको लागि सपथ खाएकोले थोरै मात्र भएपनि विपत् व्यवस्थापनको लागि भन्दै वेल्चा,गैती,डोरीमात्र व्यवस्थापन गरिदिन पनि वास्ता नगर्ने नगरले प्रहरीले के आसा राख्ने उनले गुनासो गरे । ०७५।७६मा नगरपालिकाको बजेटमा प्रहरीको लागि सम्बोधन नगरेकोमा आशङ्का गरेका छन् ।

चन्द्रगढीमा राखिएको सिसि क्यामराको विषयमा सामुदायिक प्रहरीको नै जिम्मेवारी रहेको भद्रपुर नगरपालिका मेयर जीवन कुमार श्रेष्ठले बताए । हालसम्म सामुदायिक केन्द्रले नगरपालिकालाई यो विषयमा जानकारी नगराएकोले थाहा नभएको मेयर श्रेष्ठको भनाई छ ।

भद्रपुर बजारमा सिसि क्यामरा राख्ने विषयमा प्रहरीनै पन्छिएको उनले बताए । समग्र नगरको लागि ०७५।७६ मा पाँचलाख रकम क्यामराको लागि छुट्टयाएको उनले जनाए । नगरले प्रहरीलाई सम्बोधन गरेन भन्ने आरोपको खण्डन गर्दै उनले भने ‘प्रहरीका जिम्मेवार व्यत्तिले राजनीति नगरि बजेटको पुस्तक अध्ययन गर्न सुझाव दिए ।’

शान्ती सुरक्षा अमन चयन कायम राख्ने प्रहरीको दायित्व हो ,स्थानीय सरकारले सहजीकरण मात्र गर्ने भएकोले प्रहरी नगरको मातहातमा नरहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्