डेंगु रोगको जोखिम र बचावट



औलो रोग नियन्त्रण उन्मुख रहे पनि डेंगु रोगको जोखिम भरतपुरमा बढिरहेको छ । एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेंगु रोग सर्छ । डेंगु सार्ने लामखुट्टेको प्रकोप भने अझै पनि उस्तै छ । चितवनमा चालू आर्थिक वर्षको जेठ महिनासम्म १ हजार २ सय ९१ जनाको परीक्षणमा ५८ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ, जसमा ३२ जना बिरामीमा डेंगु रोग लागेको पाइएको छ ।

विशेष गरी, बर्खाको समय साउनदेखि कात्तिकसम्म डेंगुको उच्च जोखिम हुने समय मानिन्छ । नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमा डेंगुको संक्रमण देखिएको थियो । त्यसको ६ वर्षपश्चात् अर्थात् सन् २०१० मा यस रोगको महामारी नै फैलिएको थियो, जसमा पाँचजनाको मृत्युसमेत भएको थियो । अहिले डेंगुको संक्रमण ४९ जिल्लामा फैलिसकेको छ । यस वर्ष पनि डेंगु रोगका कारण मकवानपुरबाट चितवन ल्याएर उपचार गराएका एकजनाको मृत्यु भएको थियो ।

डेंगु रोगको प्रकोप फैलिँदै गए पनि यस रोगको उपचार हालसम्म पत्ता लागिसकेको छैन । लक्षणअनुसार डाक्टरहरुले उपचार गर्दै आएका छन् । डेंगु रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरूचि बढ्ने, मांसपेशी दुख्ने, पेट गडबडी हुनेजस्ता लक्षण देखिने चिकित्सकहरु बताउँछन् । यो रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र उपाय हो ।

घरवरपर सफासुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झुलभित्र सुत्ने, झ्यालढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपडा लगाउनेजस्ता प्राथमिक उपाय अपनाएर डेंगुको संक्रमणबाट बच्न सकिन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः जमेको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने भएकाले कुनै पनि भाँडामा पानी जम्मा हुन दिनुहुँदैन । सामान्य कुराको होसियारी अपनाउने हो भने डेंगु रोगको जोखिमबाट बच्न सकिन्छ ।

डेंगुको संक्रमण बढ्दै गएपछि जनस्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी चितवनका विभिन्न क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने अभियान थालेको छ । बर्खा शुरू भएसँगै डेंगु रोगको प्रकोप बढ्न सक्ने भएकाले भरतपुर महानगर, रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकामा सचेतनामूलक कार्यक्रमसहित डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा र प्युपा नष्ट गर्ने अभियान शुरू भएको छ । महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, टोल विकास प्रतिनिधिसहितको टोली अभियानमा खटिएका छन् ।

चितवनमा डेंगुसँगै औलो रोगको उच्च जोखिम रहँदै आएको छ । चितवनसहित तराईका १५ जिल्लामा अझै पनि औलो रोगको जोखिम विद्यमान छ । नेपाललाई सन् २०२६ सम्ममा औलोमुक्त राष्ट्र घोषणा गर्न औलो नियन्त्रणका प्रयासहरु भएका छन् । सन् २०१८ सम्म औलो रोगको संक्रमण ३० प्रतिशतसम्म घटाउने लक्ष्य लिइएको छ ।

औलो एनोफिलिम जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । डेंगु र औलोको प्रकृति फरक भए पनि दुवै रोगबाट बच्ने एकमात्र उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै हो । डेंगु रोग नियन्त्रणका लागि कीटनाशक औषधि छर्ने, गाउँबस्तीमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, झुल वितरणजस्ता अभियान जारी राख्नु जरुरी देखिएको छ ।
– सुरज ताम्राकार, भरतपुर, चीतवन ।

प्रतिक्रिया दिनुहोस्