विपद्को लागि पूर्वतयारी अपनाऊ



प्राकृतिक विपत्ति कहाँ र कति बेला हुन्छ भन्न सकिन्न । प्राकृतिक विपत्ति जहाँ जति बेला पनि हुन सक्छ । प्राकृतिक विपत्ति रोक्न सकिँदैन । तर प्राकृतिक विपत्तिबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न भने सकिन्छ । देशभित्र हरेक वर्षाको समयमा डुबान र बाढीपहिरोको कारण नागरिकहरुको मृत्यु र विस्थापित हुने गरेको छ ।

पहाडमा बाढीपहिरो र तराई क्षेत्रमा डुबानको समस्या वर्षौंदेखि चल्दै आएको छ । वर्षा लागेपछि पहाडमा बाढीपहिरो आउने र तराईका क्षेत्रमा डुबान हुने समस्या निकै लामो समयदेखिको हो । जब प्राकृतिक विपत्ति आउँछ तब मात्र सरकारले चासो दिने गरेको छ । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो भनेझैँ सरकारले प्राकृतिक कारणले हुन सक्ने विपत्तिलाई रोक्नेतिर पर्याप्त ध्यान दिएको पाइँदैन ।

अहिले पनि विनाशकारी भूकम्पको कारण भूकम्प प्रभावित जिल्लाहरुमा उच्च जोखिममा दर्जनौँ बस्तीहरु रहेका छन् । ती बस्तीमा रहेका नागकिरहरुलाई समयमा नै स्थानान्तरण गर्ने हो भने नागरिकहरुको ज्यान बचाउन सकिन्छ । तराईका क्षेत्रहरुमा पनि बर्सेनी डुबान हुने र हजाराँै नागरिक विस्थापित हुने समस्या दोहोरिँदै आएको छ ।

सरकारले पहाडमा देखिएको बाढीपहिरोको रोकथामको लागि प्रभावकारीरुपमा काम गर्नुपर्छ । त्यसै गरी तराईमा हुने डुबान रोक्नेतर्फ ध्यान दिनुपर्छ । विपत्तिपछि राहत लिएर जाने भन्दा नागरिकहरुलाई जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गर्नेतर्र्फ बढी ध्यान दिनुपर्छ ।

नदी तथा खोला किनाराका बस्ती निकै जोखिमपूर्ण मानिन्छन् । ती बस्तीलाई सरकारले मापदण्ड बनाएर मात्र राख्ने व्यवस्था गर्नुपर्छ । जथाभावी घर तथा बस्ती निर्माणले क्षति हुँदा त्यसको बोझ राज्यमाथि नै पर्ने गरेको छ ।

बस्ती कहाँ बनाउने, कस्तो बनाउने भन्ने विषययमा सरकारले अहिलेसम्म प्रभावकारी नीति अगाडि सार्न सकेको छैन । नगरपालिकाहरुमा घर निर्माण गर्दा मापदण्ड लागू गरे पनि गाउँपालिकाहरुमा भने अहिले पनि मनलाग्दी ढंगले घर निर्माण भइरहेका छन् । सुरक्षित बस्ती निर्माण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । अविरल वर्षाको कारण दुई दिनको अवधिमा नै एक दर्जनभन्दा बढी नागरिकको निधन भयो ।

जुन विषय निकै दुःखद हो । बर्सेनी यस्ता प्राकृतिक विपत्तिहरु रोक्नको लागि सरकारले नीतिगतरुपमा नै सुधार गर्नुपर्ने खाँचो छ । अहिले पनि धेरै बस्तीहरु वर्षाको कारण उच्च जोखिममा रहेका छन् । ती बस्तीलाई स्थानान्तरण गरेर भए पनि नागरिकहरुलाई बचाउनुपर्छ । साथै सरकारले वर्षाको कारण ज्यान गुमाएका परिवारहरुलाई उचित राहत उपलब्ध गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्