सुस्त कांग्रेस: नीति तथा प्रशिक्षण प्रतिष्ठान कहिले गठन हुन्छ ?



नेपाल समाचारपत्र, काठमाडौं
नेपाली कांग्रेसको १२औं महाधिवेशनले पार्टीको नीति निर्माणमा सहयोग पु¥याउन र आम कार्यकर्तालाई पार्टीको आदर्श, नीति, सिद्धान्त बोध गराउने तथा देशव्यापी प्रशिक्षणको कार्यलाई नियमित र व्यवस्थित गर्न नयाँ संयन्त्रको रुपमा गठित केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान १३औं महाधिवेशनपछि निष्क्रिय भएको छ ।

१३औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुँदा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई देशको बदलिँदो आवश्यकताअनुसार नीति र कार्यक्रमका सम्बन्धमा निरन्तर छलफल र बहस गर्ने थलोका रूपमा विकसित गरिने छ भनी प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यो प्रतिबद्धता १४औं महाधिवेशन आउने समय हुन लाग्दा समेत पूरा भएको छैन । तत्कालीन अवस्थामा सभापति देउवाले विधानले व्यवस्था गरेको समयसीमाभित्र विधानमा भएका पार्टी संरचनाका व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता थियो ।

स्थानीय, प्रान्तीय र संघीय तीनै तहको निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुनुको एउटा कारण नीति तथा प्रशिक्षण प्रतिष्ठान क्रियाशील नहुनुलाई पनि लिइएको छ । पार्टीभित्र अन्य विषयगत विभिन्न विभाग हुँदाहुँदै पनि विभागहरुको हैसियतभन्दा माथि राखेर गठन गरएको नीति तथा प्रशिक्षण प्रतिष्ठान १२औं महाधिवेशन देखि १३औं महाधिवेशनसम्म भने क्रियाशील भएको थियो ।

कांग्रेसभित्र केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान महत्वपूर्ण भएकै कारण यसलाई अन्य विभागको हैसियतभन्दा माथि राखिएको हो ।


‘पार्टीभित्रको केन्द्रीय विभागलाई भन्दा बढी महत्व दिइएको नीति तथा प्रशिक्षण प्रतिष्ठान १३औं महाधिवेशनदेखि निष्क्रिय छ ।’


विभागहरुमा केन्द्रीय सदस्य प्रमुख रहने व्यवस्था छ भने यो प्रतिष्ठानको नेतृत्व उपसभापतिले गर्ने व्यवस्था छ । त्यही भएर पनि नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई महत्व दिएको स्पष्ट हुन्छ ।
१३औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले लामो समयसम्म उपसभापति मनोनित नगर्दा यो प्रतिष्ठान गठन हुन नसकेको गुनासो आइरहेको थियो ।

अहिले उपसभापति मनोनित भइसकेको अवस्थामा पनि केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान गठन हुन सकेको छैन ।

कांग्रेसको महत्वपूर्ण संरचना मानिएको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको गठन सम्बन्धि व्यवस्था विधानको धारा ३६ मा उल्लेख गरिएको छ भने यसको संरचना र नियममित कार्य सञ्चालनबारे नियमावलीमा उल्लेख छ । उपसभापतिको प्रमुखत्वमा गठन हुने यो प्रतिष्ठानमा केन्द्रीय सदस्य एवं पार्टीका उपयुक्त व्यक्ति उपप्रमुख रहने व्यवस्था छ ।

यसको संरचना निर्माण गर्दा प्रतिष्ठानका प्रमुखले सम्बन्धित विषय क्षेत्रका ज्ञाता पार्टीका क्रियाशील सदस्यमध्ये २५ जनालाई सदस्यमा नियुक्त गर्ने व्यवस्था छ । प्रतिष्ठान प्रमुखले एक जना कार्यकारी निर्देशकसमेत नियुक्त गर्ने व्यवस्था छ ।

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको उद्देश्यअनुरुप १२औं महाधिवेशनपछि उपसभापतिमा मनोनित हुनुभएका रामचन्द्र पौडेलले तत्काल संरचना बनाई देशव्यापी प्रशिक्षणको कार्यक्रम अघि बढाए पनि १३औं महाधिवेशनपछि उपसभापतिमा मनोनित हुनुभएका विमलेन्द्र निधिले यो संरचना निर्माण गरी अघि बढाउन चासो नदिएको गुनासो आइरहेको छ ।

सभापति देउवाले समेत यसको महत्वलाई ध्यानमा राखी बेलैमा उपसभापति मनोनित नगरेको मात्र हैन उपसभापति मनोनित नहुँदा साविककै प्रतिष्ठानलाई क्रियाशील हुन निर्देशन दिएको भए पनि यो देशव्यापी प्रशिक्षण प्रभावकारी भइरहन्थ्यो । साथै उपसभापति मनोनित नहँुदा सभापति देउवा स्वयम्ले अग्रसरता लिएर प्रतिष्ठानको उद्देश्यअनुरुप कार्य अघि बढाउन सकिने भए पनि यसमा देउवाले ध्यान नदिएको कारणले पनि हालै सम्पन्न तीनै तहको निर्वाचनमा कांग्रेस पराजित हुन बल पुगेको भनी सभापति देउवाको आलोचना भइरहेको छ ।

उपसभापतिमा मनोनित भइसकेपछि निधिले तत्काल यसको संरचना बनाएर क्रियाशील गराउनुपर्ने भए पनि उहाँले झन् निष्क्रियता देखाउनुभएको गुनासो आइरहेको छ । यसबारेमा उपसभापति निधिसँग नेपाल समाचारपत्रले जिज्ञासा राख्दा नीति तथा प्रशिक्षण प्रतिष्ठानको संरचना छिट्टै पूर्णता दिएर क्रियाशील बनाउने बताउनुभएको छ ।

तत्कालीन अवस्थामा यो प्रतिष्ठानको उद्देश्यअनुरुप प्रभावकारी काम भएकै कारण पनि पहिलो संविधानसभामा निर्वाचनमा नराम्ररी पराजित भएको नेपाली कांग्रेसले दोस्रो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको हैसियत कायम राख्न सकेको पनि बताइएको छ । तत्कालीन अवस्थामा पार्टीका जिल्ला सचिव, कोषाध्यक्ष, क्षेत्रीय सभापति, कार्यालय सचिव एवं भ्रातृ तथा शुभेच्छुक संघसंस्थालाई प्रशिक्षणको माध्यमबाट जुझारु र क्रियाशील बनाउन पनि प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

यो प्रतिष्ठानले बीपी कोइराला, गणेशमान सिंहजस्ता पार्टीका दिवंगत शीर्ष नेताको शतवार्षिकी समारोहलाई समेत देशव्यापी पदयात्रा, विचारयात्रा, बलिदान यात्राका रुपमा कार्यक्रम गरेर नयाँ पुस्ता र गाउँको तल्लो तहसम्म नेताको विचार र त्यागलाई पु¥याउने काम पनि गरेको थियो ।

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको निष्क्रिय भएको बारे पहिले कार्यकारी निर्देशक भएर प्रभावकारी काम गरिसक्नुभएका मधु आचार्य भन्नुहुन्छ– ‘ढिलो गरी मनोनित हुनुभएका उपसभापति निधिले यसलाई छिट्टै गठन गर्न र देशव्यापी प्रशिक्षणका कामहरुलाई तीव्रता दिन गम्भीर रुपमा लाग्नुभएको पाएको छु ।’ हालै हेटौंडामा सम्पन्न जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा आफूसँग भएको भेटमा समेत उपसभापति निधिले प्रतिष्ठानको अघिल्लो टिमसँग परामर्श गरेर तत्काल अघि बढ्ने कुरा बताएको आचार्यले नेपाल समाचारपत्रलाई बताउनुभएको थियो ।

प्रतिष्ठानको काम
– विभिन्न विषय क्षेत्रमा कार्यरत सिर्जनशील, वौद्धिक र व्यावसायिक जनशक्तिको सहयोग लिई प्रतिष्ठानले पार्टीको नीति निर्माणमा र नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
– नियमित रुपमा विषयगत विचार गोष्ठी, अन्तरसंवाद र परामर्श कार्यक्रम सञ्चालन गर्ने ।
– पार्टी सदस्य तथा विभिन्न तहका पार्टी पदाधिकारीलाई लगी प्रतिष्ठानद्वारा निर्धारित कार्यक्रमअनुसार राजनीतिक, सामाजिक, आर्थिक विषयमा प्रशिक्षत गराउने ।
– प्रतिष्ठानलाई ६÷६ महिनामा आफ्नो प्रतिवेदन केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्ने ।
– भ्रातृ तथा शुभेच्छुक संस्थाका व्यक्तिहरुलाई संलग्न गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
– राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र विकाससम्बन्धी विविध विषयमा पार्टीले अख्तियार गर्नुपर्ने नीति निर्माण कार्ययोजना तर्जुमा गर्ने ।
– तर्जुमा भएका नीति पार्टीबाट स्वीकृत गराई पार्टीगत तहमा कार्यान्वयन गर्ने, गराउने ।
– पार्टीको नीति तथा कार्यक्रमको निर्माण गर्दा अनुसन्धान तथा मूल्याङ्कन विभागले निकालेको निष्कर्ष र प्रतिवेदनलाई समेत प्रयोग गर्ने

प्रतिक्रिया दिनुहोस्