मन पराइयो जारको नाटक



जंगबहादुरलाई जारले काटेको मिथकमा आधारित नाटक सोनाम ग्याल्मोलाई मन पराइएको छ। राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटकको नियमित मञ्चन भइरहेको नाटक २ वर्ष लामो अनुसन्धान र अध्ययनपछि सञ्चारकर्मी एवं नाटककार फूलमान बलले लेखेका हुन्।


नाटकमा जंगबहादुरलाई जारले काटेको तामाङ मिथकलाई अहिलेको जीवनसँग जोडेर प्रस्तुत गरिएको छ। सोनाम लामा मोक्तानको निर्देशन रहेको नाटक तामाङ सुमदायको विवाहबाट शुरू हुन्छ। विवाहमा बेहुला र बेहुली राखेर चारदाम (वैवाहिक जीवनको कसम खुवाउने विधि) गर्दै गर्दा नाटक फ्लासब्याकमा जान्छ। त्यसपछि सर्लाही पत्थरघट्टा आसपासको पुरानो तामाङ समाज र जीवनको उत्तरार्धमा त्यही ठाउँमा शिकार खेल्न गएका जंगबहादुरबीचको संघर्षले नाटकलाई गति प्रदान गर्छ। मुख्य पात्र छन् भर्खरै विवाह भएको सोनाम र ग्याल्मो। ग्याल्मोलाई जंगबहादुरले मन पराएर हरण गरेपछिको पीडादायी सन्दर्भ र उनैले बनाएको जार काट्ने कानुनको आड टेकेर आइपुग्ने सोनामबीचको उतारचढाव नाटकमा लोभलाग्दो छ।

 


जंगबहादुर कसरी मरे? त्यो भने रहस्यमै छाडिएको छ। तामाङ संस्कृति, परम्परा र जीवनशैलीलाई मालाजस्तै उनिएको नाटकमा तामाङ फिल्मकी नायिका चा“दनी लामा, सेलो गायक एवं संगीतकारद्वय फूलकुमार बमजन र सुसन लामाको पनि अभिनय छ। मुख्य पात्र सोनाममा निर्देशक स्वयंले खेलेका छन् भने ग्याल्मोको भूमिकामा शान्ति वाइबा छिन्। यसबाहेक निकिता वाइबा, निशा पाख्रिन, मात्रिका घिमिरे, मनोज तामाङ, सन्तोष तामाङ (बोन्बो), सञ्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ, साजन लामालगायतले अभिनय गरेका छन्।


नाटकमा तामाङ समुदायको ताम्बा संस्कृतिलाई पनि सघनरूपमा देखाइएको लेखक बलले बताए। उनका अनुसार जंगबहादुरलाई जारले काटेको थुप्रै कथामध्ये संस्कृतिविद् एवं अन्वेषक रवीन्द्र ग्याबा तामाङले पुस्तक नै लेखेका छन्। सेलो थिएटरको प्रस्तुति रहेको नाटक मंगलबारबाहेक हरेक दिन सा“झ ५ बजे नियमित मञ्चन भइरहेको छ। शनिबार दुई शो हुने निर्देशक सोनाम मोक्तानले जनाए।

प्रतिक्रिया दिनुहोस्