नरैनापुरको नेपालगञ्जसँग सडक सम्पर्क टुट्यो



नेपालगञ्ज, अविरल वर्षाका कारण राप्तीपारि नरैनापुर गाउँपालिकाको नेपालगञ्जसँग सडक सम्पर्क टुटेको छ ।

आइतबार रातिदेखि परेको वर्षाका कारण सडक पूरै अवरुद्ध भएको छ । निर्माणाधीन हुलाकी सडक निर्माणका क्रममा लापर्बाही गर्दा आवतजावत प्रभावित भएको हो ।

पुल निर्माणको काममा ढिलाइ हुँदा उचित डाइभर्सनको अभाव भएर गएरातिदेखि आवतजावत ठप्प भएको हो । “ठाउँठाउँमा पुल बनिरहेका छन्, तर पुल बनाउनुअघि डाइभर्सन बनाउनुपर्ने मापदण्डलाई बेवास्ता गरिएकाले अहिले पानी पर्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ,” गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आक्रोश पोख्नुभयो ।

वर्षायाममा यस्तै अवस्था हुन्छ भनेर आफूले पहिल्यैदेखि नै हुलाकी सडक आयोजना प्रमुख, ठेकेदार र प्रमुख जिल्ला अधिकारीलाई सचेत गराउँदै आएको भए पनि सुनुवाइ नहुँदा यो अवस्था आएको उहाँले बताउनुभयो ।

“अब न भारततिर जान सक्ने अवस्था छ, न नेपालगञ्ज आउने अवस्था छ, आफ्नो २ नं वडामा रहेको घरबाट गाउँपालिका कार्यालय पनि जान सकिरहेको छैन,” अध्यक्ष शाहले भन्नुभयो ।

यस सम्बन्धमा रासससँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले अस्थायी भए पनि नेपालगञ्जसँग नरैनापुर क्षेत्रको सडक सम्पर्क जोड्न निर्माण कम्पनी र आयोजना कार्यालयमा निर्देशन दिएको बताउनुभयो ।

यसैगरी, मनसुन शुरु भएसँगै बाँके जिल्ला विपत् व्यवस्थापन समितिअन्तर्गतका कलस्टर समूहलाई उच्च सतर्कताको स्थितिमा राखिएको पनि उहाँले बताउनुभयो ।

भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्र नजिक बनाएको लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी त्यहाँका गाउँ डुबानमा पर्ने गरेका छन् ।

घर डुबानमा

अविरल वर्षापछि बाँके जिल्ला कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका करीब ६० घर डुबानमा परेका छन् । पानीको सहज निकास नभएका कारण घर डुबानमा परेका हुन् ।

डुबानमा परेका घरका सदस्यको उचित राहतका लागि स्थानीय प्रशासन कार्यालयले अहिले उच्च सतर्कताका साथ काम गरिरहेको प्रजिअ केसीले बताउनुभयो । कार्यालयले पानी अझै पर्ने सम्भावना रहेकाले विभिन्न नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्