थाहानगरमा पहिरोले दुई जना घाइते



नेपाल समाचारपत्र, हेटौंडा,

लगातारको वर्षाले मकवानपुरको थाहानगर–७ मा पहिरो गएको छ । पहिरोमा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा विष्णुमाया गोले र बेली गोले छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

एउटा टहरो पहिरोले भत्किएको स्थानीय रत्नबहादुर गोलेले जानकारी दिएका छन् । सामान ढुवानी गर्ने गाडीसमेत पहिरोमा परेर झुण्डिएको गोलले जानकारी दिए ।

लगातारको वर्षापछि आएको पहिरोका कारण छोटो दुरीको मदन भण्डारी मार्ग अवरुद्ध भएको छ । निर्माण क्रममा रहेको मार्गको इन्द्रसरोवर गाउँपालिका–२, छेपारेमा पहिरो खस्दा हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार सोमबार विहान पहिरो खसेको हो । लगातार वर्षा हुँदा पहिरो हटाउन सकिएको छैन । सडक अवरुद्घ भएपछि कुलेखानी–फाखेल खण्डमा सवारीचाप बढेको प्रहरी चौकी फाखेलको भनाइ छ ।

उक्त बाटो भएर हेटौंडाबाट काठमाडौं दैनिक साना सवारी १ हजारभन्दा बढी गुड्ने प्रहरी तथ्यांक छ । तीन वर्षको ठेक्का लागेर काम थालिए पनि गति लिन नसक्दा सवारी सञ्चालनमा समस्या भएको यातायात व्यवसायी बताउँछन् ।

छोटो दुरीको मार्गमा पूर्वी नेपालको सर्लाही, रौतहट, पर्सा, मकवानपुरका साना सवारी सुमो, निजी गाडी, मोटरसाइकल र स्थानीय रुटका भाडाका सवारी सञ्चालन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्