कलेज छनोट गर्दा आइपर्ने दश प्रसंग



ओमशंकर श्रेष्ठ  
कलेज छान्नु निकै गाह्रो काम हो। त्यसैले कुनै पनि चिन्ता नलिई आफ्नो चाहना र महत्वलाई ध्यानमा राखी यसबारे निर्णय लिनुपर्दछ।
१ घरदेखि कलेज कति टाढा छ भन्ने अर्थ हँुदैन। यस्तो बेला कलेजसम्म पुग्ने यातायातको साधन छ वा छैन र आफ्नो बजेटले भ्याउँछ वा भ्याउँदैन भन्नेबारे ध्यान दिनुपर्छ। दूरीभन्दा आफ्नो कलेज रहेको स्थानको महत्वमाथि ध्यान दिनुपर्छ। धेरै समय त्यहाँ बिताउनुपर्ने भएकाले त्यहाँको वातावरणले तपाईंलाई पक्कै प्रभावित पार्दछ। तर दूरी जति नजिक भयो उति फाइदा हुन्छ। यसले पढाइका लागि समय जोगिन्छ। कलेज वरपर आधुनिक सुविधा भएको खण्डमा खाली पिरियडमा समयको सदुपयोग गर्न सकिन्छ।
२ आफू जान लागेको कलेजले वर्षमा कतिवटा खेलकुद प्रतियोगिता जित्ने गरेको छ भन्ने भन्दा त्यहाँका विद्यार्थीको खेल प्रस्तुति र क्षमता कस्तो छ भन्ने कुरामा ध्यान दिनुपर्छ। खेलकुदलाई भन्दा पढाइमा मात्र बढी केन्द्रित हुने कलेजको अचेल कुनै महत्व छैन। खेलकुद कलेजको अपरिहार्य विशेषता एवं गहना बनिसकेको छ।
३ कलेज महँगो वा सस्तोभन्दा पनि आफू जाने कलेजप्रति आफू कति आकर्षित छु र त्यहाँबाट आफूले अपेक्षित शिक्षा र ज्ञान हासिल गर्न सक्ने सम्भावना के कति छ भन्ने बारे बुझ्नु जरुरी छ। यसबारे पैसा लगानी गर्ने अभिभावकले पनि कलेज रोज्नुभन्दा पहिल्यै राम्ररी ध्यान दिनु जरुरी छ। किनभने महँगो कलेज रोजेर चाहेजस्तो प्रतिफल पाउन सकिएन भने पश्चाताप गर्नुबाहेक अन्य केही विकल्प हुँदैन।
४ कलेजको अलुम्नी कति लोकप्रिय र स्तरयुक्त छ भन्नेभन्दा सो कलेज भविष्यमा त्यहाँका विद्यार्थीलाई इन्टर्नसिप र रोजगारका अवसर दिलाउन कति सक्षम छ भन्ने कुरामा बढी ध्यान दिइनुपर्छ। यसका लागि त्यहाँका पूर्वविद्यार्थी र अभिभावकसँग विचार विमर्श गर्नुपर्दछ। त्यसैगरी त्यहाँ पढेका विद्यार्थी समाजमा कति हदसम्म सफल र सम्मानित छन् भन्ने पनि बुझनुपर्दछ।
५ समय समयमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिरहने भन्दा तपाईंलाई मनपर्ने भौतिक पूर्वाधार जस्तै स्विमिङ पुल, म्युजिक रुम, स्नुकर, डान्स रुम आदिको व्यवस्था गरिएको छ वा छैन भन्ने बुझ्नुपर्दछ। कहिलेकाँही आफ्ना साथीसँग घरमाझैं फिल्म हेर्न वा मज्जाले सुत्न हुने खालको डोर्म रुम छ वा छैन बुझनुपर्दछ।
६ आफूले छानेका केही कलेजका बारे जान्न स्थलगत भ्रमण गर्नुपर्दछ। त्यसपछि आफ्नो छनोटमा परेका कलेजलाई पनि प्राथमिकताका आधारमा वरियताक्रममा राख्नुपर्दछ। यस क्रममा त्यहाँका प्रिन्सिपल, व्यवस्थापन पक्ष र उक्त कलेजप्रतिको छरछिमेकीको धारणा पनि बुझ्नुपर्दछ। आफूले छानेको कलेजको मूल उद्देश्य नाफा आर्जन गर्नु मात्र हो कि सेवा पनि हो भन्ने बुझनुपर्दछ। साथै कलेज परिसरमा राजनीतिक चलखेल हुने गरेको छ वा छैन भन्ने पनि बुझ्नु जरुरी छ।
७ अध्ययन र अध्यापन नै कलेजको सबैभन्दा ठूलो उद्देश्य र उपलब्धि हुने भएकाले त्यहाँका सम्पूर्ण विभागका शिक्षक शिक्षिकाको शैक्षिक योग्यता, अनुभव र आफूलाई दिइएको सुविधा र तलबप्रति उनीहरू सन्तुष्ट छन् वा छैन भन्नेबारे बुझ्नु जरुरी छ। किनभने शिक्षक तथा शिक्षिकाको व्यस्थापनसँगको सन्तुष्टिका परिणाम नै त्यहाँको गुणस्तरीय अध्यापन हुनेछ। व्यवस्थापन सफल रहे मात्र कुनै पनि संस्था राम्ररी चल्दछ भन्ने यथार्थता बिर्सिनुहुन्न।

८ अध्ययनको सिलसिलामा विद्यार्थीले धेरै समय कलेजमा बिताउनुपर्ने हुनाले त्यहाँको क्यान्टिनको गुणस्तर र कलेजको वातावरणको सरसफाइमा पनि ध्यान दिनुपर्दछ। त्यसै गरी कडा अनुशासन र शिक्षा दिने नाममा त्यो कलेजमा अमानवीय मानसिक र शारीरिक सजाय दिइने गरेको छ वा स्वतन्त्रताका नाममा विद्यार्थीलाई निकै छाडा छोडिने गरिएको छ भन्ने राम्ररी अध्ययन गर्नुपर्ने हुन्छ।

९ वर्तमान वैज्ञानिक युगको आवश्यकताअनुरुप योग्य एवं दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पठनपाठन हुने गरेको, नैतिकवान, विवेकशील, अध्यात्मप्रति आस्थावान र सुसंस्कृति र व्यावहारिक ज्ञान दिइने गरिएको छ वा छैन भन्ने पनि जान्न जरुरी छ। अझ समाज र समाजसेवाप्रति बफादार र जिम्मेवार हुने ढंगले पढाइने कलेज त अब्बल छनोट सावित हुनेछ।
१० त्यहाँ पढ्ने विद्यार्थीको मात्र नभई त्यहाँका कर्मचारी एवं शिक्षक शिक्षिकाको नैतिक आचरणप्रति पनि कलेज छनोट गर्नुअघि अभिभावक र विद्यार्थी दुवैले विशेष ध्यान दिनुपर्दछ। हामीले कहिलेकाहीं कलेजमा यौन व्यभिचारी कार्य हुने गरेका खबर पनि सुन्ने गरेका छौं। यौन शोषणका घटनाका कारण आत्महत्याको परिणामसमेत निस्कन सक्छ। साथै कलेज लागूपदार्थ र हिंसामुक्त छ वा छैन भन्ने पनि जान्नु जरुरी छ।
सरकारले यो वर्षदेखि एसईई परीक्षा केन्द्रबाट सञ्चालन नगर्ने भएको छ। कक्षा १० को परीक्षा प्रदेश तहबाट सञ्चालन हँुदैछ। अब केन्द्रबाट सञ्चालन हुने परीक्षा कक्षा १२ को मात्रै हो। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट कक्षा १० को परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेशलाई दिने जनाएको छ। त्यसैले केन्द्रबाट सञ्चालन हुने अन्तिम परीक्षाको इतिहास समेटेका छौं।

प्रतिक्रिया दिनुहोस्