बेल्जियमसँग जापानले मेहनत गर्नु पर्ने



जारी विश्वकपको समूह चरणको ३ वटै खेल जितेर अन्तिम १६ मा पुग्ने तीन राष्ट्रमध्येका एक हो बेल्जियम । अन्तिम १६ अन्तर्गत सोमबार राति रोस्टोभ एरिनामा हुने खेलमा बेल्जियमले एसियाली राष्ट्र जापानको सामना गर्नेछ । तुलनात्मक रुपमा बेल्जियमको भन्दा जापानले समूह चरणमा निक्कै संघर्ष गर्नु परेको थियो ।

समूह एच को पहिलो खेलमा १० जनामा सिमित कोलम्बियालाई हराएको जापान दोस्रो खेलमा सेनेगलसँग बराबरी रोकियो । यस्तै अन्तिम तथा महत्वपूर्ण खेलमा पोल्याण्डसँग १–० ले हारेपछि फेयर प्ले को आधारमा सेनेगललाई पछि पार्दे जापान अन्तिम १६ प्रवेश गरेको हो ।

यता समूहको अन्तिम खेलमा बेल्जियमका गोल मेसिन रोमेलु लुकाकु भने कुर्कुच्चाको चोटका कारण अनुपस्थित भएका थिए । तर जारी विश्वकपमा ४ गोल गरिसकेका लुकाकु जापानविरुद्धको खेलमा पूर्ण फिट हुनेमा म्यानेजर रोबर्टो मार्टिनेज आशावादी देखिन्छन् । उनी जापानलाई सजिलो टिम पनि मान्छन् ।

यस्तै समूहको दुई खेल मैदानमा नदेखिएका थोमस भर्मालिन र भिन्सेन्ट कोम्पानी पनि जापानविरुद्धको खेलका लागि तम्तयार छन् । यता समूहको चरणको सुरुका दुई खेलमा एउटै सुरुवाती ११ मैदानमा उतारेका जापानले पोल्याण्डविरुद्ध भने केहि खेलाडी परिवर्तन गरेका थिए ।

तर बेल्जियमविरुद्धको खेलका लागि भने जापानले समूहको पहिलो म्याच खेलेका सुरुवाती ११ लाई नै मैदानमा उतार्ने सम्भावना रहेको छ । उक्त खेलमा भने चोटका कारण विश्राममा रहेका स्ट्राइकर शिन्जी ओकाजाकीको ठाउँमा युया ओसाकाले खेलेका थिए । बेल्जियम गत अगस्तदेखि अपराजित छ ।

जसमध्ये पछिल्ला ५ म्याचमा बेल्जियम लगातार विजयी समेत बनेको छ । रुस आउनु अघि विश्वकप वार्मअप म्याचमा बेल्जियमले इजिप्टलाई ३–० ले तथा कोस्टारिकालाई ४–१ ले पराजित गर्दा पोर्चुगलसँग भने गोलरहित बराबरी खेल्यो । यता पछिल्ला ९ म्याचमध्ये जापानले दुई खेलमा मात्र जित हासिल गरेको छ ।

विश्वकप वार्मअप खेलमा पाराग्वेलाई ४–२ ले तथा समूह चरणको पहिलो खेलमा कोलम्बियामाथिको विजय नै उक्त दुई जित हुन् । जापानविरुद्ध ३–४–३ को रणनीतिमा उत्रने सम्भावना रहेको बेल्जियमविरुद्ध जापानले ४–२–३–१ को रणनीति अपनाउने सम्भावना प्रबल छ । जसअन्तर्गत बेल्जियमको सुरुवाती ११ का फरवार्डहरु ड्राइस मर्टेन्स, रोमेलु लुकाकु र ईडेन हाजार्डको आक्रमणलाई रोक्न जापानी गोलरक्षक ईजी कावाशिमा तथा डिफेन्डरहरु हीरोकी सकई, माया योशिदा, गेन शोजी, यूटो नागाटोमोलाई फलामको च्यूरा चपाउनु सरह हुनेछ ।

बेल्जियमको अग्रपंक्तिलाई थप चुस्त राख्न मिडफील्डरहरु थोमस मेनुयर, केभीन डे ब्रुयेने, एक्सेल विट्सेल र यानिक करास्कोले सहज स्थानमा बल उपलब्ध गराउन सक्नेछ । यता जापानको रक्षापंक्ति र अग्रपंक्तिलाई सघाउन डिफेन्सिभ मिडफील्डरद्वय गाकु शिबासाकि र मकोटो हासेबे सहित अट्याकिंग मिडफील्डरहरु गेन्की हिरागुची, शिन्जी कागावा र ताकाशी इनुई पनि मैदानमा छाउने छ ।

यस्तै काउन्टर अट्याकमा घातक बन्न सक्ने जापानी फरवार्ड युया ओसाकालाई निस्तेज पार्न बेल्जियमका गोलरक्षक थिर्बोट कुर्टोइससहित डिफेन्डरहरु जान भर्टोन्गेन, टोबी एल्डरवेइल्द र थोमस भर्मालिन सतर्क भएर बस्ने छन् । मुख्यतः बेल्जियम टिम रोमेलु लुकाकु, इडेन हाजार्ड र असिस्ट किंगबाट परिचित केभीन डे ब्रुयनेमा भर पर्नेछ । यता शिन्जी कागावा, ताकाशी इनुई र स्थापन्न भई प्रवेश गर्न सक्ने केईसुके होन्डाको प्रदर्शनमा जापानी टोलीको नतिजा निर्भर रहनेछ ।

हेड टू हेड
यी दुईले एकअर्का विरुद्ध ५ म्याच खेलेका छन् । जसमध्ये जापानले २ खेलमा जित्दा समान एक–एक खेलमा हार र बराबरीको नतीजा आत्मसात गरेको छ । यसक्रममा जापानले ९ गोल गरेका छन् भने बेल्जियमले ५ गोल फर्काएका छन् । पछिल्लो पटक सन् २००२ को विश्वकपमा आमनेसामने भएको यी दुईले २–२ गोलको बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्