म्याच प्रिभ्यु: ब्राजिललाई त्यति सजिलो हुँदैन



सन् २०१८ को फिफा विश्वकपको प्रमुख दावेदार ब्राजिलले समूह ई को विजेता बन्दै समूह एफ को उपबिजेता मेक्सिकोसँग सोमबार अन्तिम १६ को खेलमा भिड्दैछ ।

उक्त नकआउट खेल कसमस एरिनामा हुनेछ । सर्बियाविरुद्ध समूहको अन्तिम खेलमा चोटग्रस्त बन्दै बाहिरिएका ब्राजिलका डेनिलो र कोस्टा मेक्सिकोविरुद्धको खेलमा फर्किनेमा अन्योल बनेको छ । सोही खेलको सुरुवाती १० मिनेटभित्र चोटका कारण बाहिरिएका मार्सेलो भने मेक्सिकोविरुद्ध देखिने प्रबल सम्भावना छ । डेनिलोको स्थानमा फाग्नरले ब्राजिलको राइट ब्याक सम्हाल्न सक्नेछ ।

यता समूहमा जर्मनी जस्तो सशक्त टिमलाई हराएको मेक्सिको तेस्रो चरणको खेलमा भने स्वीडेनसँग नमज्जाले ३–० ले पराजित भएको थियो । पराजय भोग्नु अघि दक्षिण कोरियालाई २–१ ले हराएको सुरुवाती ११ स्वीडेनविरुद्धको खेलमा पनि उत्रेका थिए । ब्राजिलविरुद्ध हुने अन्तिम १६ मा पनि स्वीडेनविरुद्ध खेलेको टिम सेट नै उत्रने प्रबल सम्भावना छ ।

तर दुईटा पहेँलो कार्ड देखेका हेक्टर मोरेनोको ठाउँमा भने ह्यूगो आयला ब्राजिलविरुद्ध देखिने छन् । गत अगस्तमा अर्जेन्टिनासँग मैत्रीपूर्ण म्याच खेलेयता ब्राजिल अहिलेसम्म अपराजित रहेको छ । समूह चरणमा स्वीजरल्याण्डविरुद्ध बराबरी बाहेक पछिल्ला ७ खेलमध्ये ६ वटामा ब्राजिल बिजयी बनेको छ । विश्वकप वार्मअप म्याचमा ब्राजिलले क्रोएसिया र अस्ट्रियालाई हराएका थिए ।

रुस पुग्नु अघिका ५ वार्मअप म्याचमा ब्राजिलका नेयमार र कौटिन्होले समान तीन–तीन गोल आफ्नो नाममा लेखाएका थिए । यता मेक्सिको भने पछिल्ला ६ खेलमध्ये २ मा पराजित भएको थियो । मेक्सिको विश्वकप वार्मअप म्याचमा डेनमार्कसँग तथा समूह चरणमा स्वीडेनसँग पराजित भएको थियो ।

यस्तै विश्वकपमा डिफेन्डिग च्याम्पियन जर्मनीलाई हराउनु चाहिँ मेक्सिको लागि ऐतिहासिक उपलब्धि बनेको छ । उक्त नतीजाले ब्राजिललाई पनि सोच्न बाध्य बनाएको छ । सोमबार सम्भावित ४–३–३ को रणनीतिमा उत्रने ब्राजिलविरुद्ध मेक्सिकोले ४–२–३–१ को रणनीति अपनाउन सक्नेछ ।

जसअन्तर्गत विलियन, गाब्रिएल जिसस र नेयमारको अग्रपंक्तिलाई रोक्न मेक्सिकोका गोलरक्षक गुइलर्मो ओचाओ सहित एड्सन अल्भारेज, कार्लोस साल्सेडो, ह्यूगो आयला र जिसस गलार्डो सतर्क रहनेछ । ब्राजिलको अग्रपंक्तिलाई बल उपलब्ध गराउन मिडफील्डको बागडौर फिलिपे कौटिन्हो, कासेमेरो र पौलिन्होले सम्हाल्ने छ ।

जसलाई निस्तेज पार्न र मेक्सिकोका अग्रपंक्तिलाई सघाउन डिफेन्सिभ मिडफील्डर आन्द्रेआस गुआर्डादो र हेक्टर हेरेरा ब्यस्त बन्नेछ । जर्मनीविरुद्ध झै ब्राजिलविरुद्ध पनि तेजगतिको काउन्टर अट्याक बुन्नका लागि मेक्सिकोको अग्रपंक्तिमा फरवार्ड हेभिएर हर्नान्डेज सहित अट्याकिंग मिडफील्डरहरु मिगेल लायुन, कार्लोस भेला र हरभिंग लजानोले समन्वय देखाउने छ ।

जसलाई झेल्न ब्राजिलका गोलरक्षक एलिस्सनसहित रक्षापंक्तिका सदस्यहरु फाग्नर, थियागो सिल्भा, जाओ मिराण्डा र मार्सेलो चुस्त बन्नेछन् । विन्गर मार्सेलोले भने ब्राजिलको रक्षापंक्ति सम्हाल्नुका साथै मेक्सिकोको डिफेन्डरहरुमाथि संकट सिर्जना गर्न सक्नेछ ।

ब्राजिल मुख्यतः छोटो पाससहित बल पोजीसन केन्द्रित खेलसहित नेयमार, गाब्रिएल जिसस र फिलिप्पे कौटिन्होको प्रदर्शन भर पर्नेछ । यता मेक्सिको भने हेभिएर हर्नान्डेज, हरभिन्ग लोजानो र गोलरक्षक गुलेर्मो ओचाओको प्रदर्शनमा निर्भर हुनेछ ।

हेड टू हेड
यी दुईले एकअर्काविरुद्ध ४० पटक खेलेका छन् । जसमा ब्राजिलले २३ खेल जित्दा मेक्सिकोले १० म्याच आफ्नो पक्षमा पारेका छन् । यस्तै ७ खेल भने बराबरीमा टुङ्गिएको छ ।

फीफा विश्वकपमा भने यी दुई ४ पटक खेलेकोमा ब्राजिल तीन पटक विजयी बनेको छ भने एक पटक बराबरीमा खेल टुङ्गिएको छ । पछिल्लो पटक सन् २०१४ को विश्वकपमा यी दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्