सरकारको रवैयाप्रति डा.केसीको आक्रोस



काठमाडौं (नेस)
चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसी जुम्लाको कठाङ्ग्रीदो चिसोमा अनसन बसिरहनुभएको छ । कर्णालीमा चिसो बढेको र खुल्ला हलमा अनसन बस्नु निकै कठीन भएको छ । प्रहरीको हिरासत जस्तै गरि घेराबन्दीमा खेलकुद विकास समितिको कभर्ड हलको कुनामा सत्याग्रहमा बस्नुभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका दन्त विशेषज्ञ डा.भुमिस काफ्लेले जानकारी गराउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले डा.केसीको अनसनको व्यवस्थापन राम्रो होस यदि त्यसो नभए हामी पूर्ण रुपमा सेवा ठप्प पार्ने चेतावनी दिएका छौ । जिल्ला प्रशासन कार्यालय समक्ष निवेदन पेश गरेको काफ्लेले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा विषय पढ्ने अधिकारका लागि लड्दै आउँनु भएको छ ।
आइतबार संसदमा दर्ता भएको चिकित्सा शिक्षा ऐन प्रतिपक्षी दल नेपाली कांग्रेसले बिरोध गरेपछि शुरुमा २ घण्टका लागि स्थगित गरिएको र अन्तमा सूचना जारी गरी आईतबार नबस्ने जानकारी गराइएको थियो । यस अगाडि विभिन्न राजनीतिक दल र नेताहरुको संकीर्ण स्वार्थका कारण पारित हुन नसकेपछि अध्यादेशका रुपमा जारी भएको थियो । नयाँ संसद बसेपछि डा.केसीले बारम्बार सो ऐन जारी गर्न स्मरण गराउँदै आए पनि त्यसलाई समयमा पारित नगरेपछि नयाँ अध्यादेश जारी गरिएको थियो ।

तीन करोड नेपालीको गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पाउने तथा सबै विद्यार्थीहरुको योग्यताअनुसार निःशुल्क वा उचित शुल्कमा चिकित्सा लगायत स्वास्थ्य शिक्षाका कोर्सहरु पढ्ने अधिकार सुनिश्चित हुने गरी आउनुपर्छ भन्दै डा.केसी १५ औं अनसन जुम्लाको कभर्डहलमा बस्नुभएको छ ।

डा.काफ्ले भन्नुहुन्छ–डा.केसी जुम्ला पुगे लगत्तै जिल्ला प्रशासन कार्यालय जुम्लाले अनसन र भेला निषेधित क्षेत्र घोषणा गर्दै सार्वजनिक सूचना जारी गरेको छ । डा.केसी १५औं अनसनको दोस्रो दिन, जुम्लास्थित खेलकुद परिरको कार्यालय कबर्ड हलमा जारी छ । अनसन स्थल वरपर व्यापक रुपमा परिचालन गरिएको छ । भेटघाटमा आउँने शुभचिन्तकहरुलाई समेत आउँन जान कडाई गरिएको छ । यसरी बन्दक जस्तै बनाएर राखिनु गैरकानुनी भएको भनी डा.केसीले सरकारको रवैयाप्रति आक्रोश व्यक्त गर्नुभएको छ । जुम्लामा डा.केसीको अनसनप्रति एकेबद्धता जनाउँदै हस्ताक्षण अभियान चलिरहेको छ ।

डा.केसीलाई गरिएको अमानवीय व्यवहारको चिकित्सकसंघको बिरोध

नेपालको चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि नेपाल चिकित्सक संघ र यसका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी. बीच सरकारले पटक–पटक गरेको सम्झौताको उपलब्धी स्वरुप माथेमा आयोगले सिफारिस गरे बमोजिम विगतको सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो । त्यसरी जारी गरिएको अध्यादेशको मूल मर्म र आशयलाई परिवर्तन गर्दै वर्तमान सरकारले नयाँ विधेयक दर्ता गर्ने तयारी गरेपछि प्रा. डा. गोविन्द के.सी.ले १५ औं सत्याग्रहको शुरुवात जुम्लामा गर्नु भएको छ ।

गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका लागि आफ्नो ज्यानको बाजी लगाउँदै नेपाली जनताको पक्षमा उभिनु भएका अभियान्तालाई लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारले पक्राउ गर्ने, धरपकट गर्ने जस्तो लज्जास्पद र अत्यन्तै अमानवीय क्रियाकलापप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ । नेपाल सरकारले नेपाल चिकित्सक संघ र डा. के.सी.सँग विगतमा गरेका सम्झौताहरुको अक्षरक्ष पालना गर्दै लोकतान्त्रिक मूल्य र मान्यता अनुरुप नेपाली जनतालाई गुणस्तरीय चिकित्साशिक्षा र स्वास्थ्यसेवामा सहज पहुँच पु¥याउँने प्रमुख दायित्वबाट बञ्चित हुँदै विद्यमान परिस्थितिको सिर्जना गरिएकोमा यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपालको संविधानले व्यवस्था गरे बमोजिमको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि शान्तिपूर्ण सत्याग्रहको सुरुवात गर्दा डा. के.सी.लाई गैरमानवीय र अलोकतान्त्रिक ढंगबाट हिरासतमा लिने हरकद नेपाल चिकित्सक संघलाई कुनै पनि हालतमा मान्य हुने छैन । यसले आगामी दिनमा उत्पन्न गर्न सक्ने कुनैपनि परिस्थितिप्रति नेपाल सरकार जिम्मेवार हुनेछ ।

लोकतान्त्रिक व्यवस्था र आँचरणका लागि नेपालका चिकित्सकहरुले निर्वाह गरेको २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको अग्रणी भूमिकालाई समेत धक्का पुग्ने गरी कुनै पनि व्यक्तिको बैयक्तिक अभिव्यक्तिलाई रोक्न खोज्ने निरंकुशतावादी सोच गणतान्त्रिक राज्यका लागि सोभनिय हुँदैन । त्यसैले यस्ता असान्दर्भिक र गैरमानवीय हरकदलाई अभिलम्ब रोकी संविधानले प्रदत्त गरे बमोजिमका मौलिक अधिकार निर्वाध रुपमा पालना गर्न गराउन नेपाल सरकार समक्ष यस संघ जोडदार माग गर्दछ ।

साथै संघका सम्पूर्ण शाखाहरुलाई विगतमा जस्तै डा. गोविन्द के.सी.ज्यूले उठाउनु भएका जायज मागहरुलाई पूर्ण रुपमा सहयोग र समर्थन गर्दै उहाँले संचालन गर्नु भएको सत्याग्रहलाई निर्णायक तहमा पु¥याउन समेत सबैमा हार्दिक अपिल गर्दछ नेपाल चिकित्सक संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारका पछिल्ला निर्णय निरंकुशतातर्फ उन्मुखर डा. केसी पक्राउको निन्दा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले अवलम्बन गर्न थालेको कतिपय नीतिहरु र प्रदर्शन गर्न थालेको स्वतन्त्रता विरोधी आचरणप्रति मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ । शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रता र सद्भावपूर्ण विचार अभिव्यक्तिको स्वतन्त्रता लगायतका संवैधानिक अधिकारका विरुद्ध पछिल्लो समय गरेका केही सरकारी निर्णयहरु आपत्तिजनक छन् ।

२०७५ साउन १ गतेदेखि लागू हुने गरी सरकारले तोकिएको प्रदर्शनस्थलबाहेक अन्यत्र धर्ना र प्रदर्शन गर्न बन्देज गरी शान्तिपूर्वक भेला हुन पाउने नागरिकको मौलिक हकप्रति अनुदार बन्दै गएकोप्रति शान्ति समाज गम्भीर चासो व्यक्त गर्दछ । सार्वजनिक स्थलहरुलाई निशेधित क्षेत्र घोषणा गरेर नागरिक अधिकार कुण्ठित पार्ने सरकारको निर्णय निन्दनीय छ । सदैव लोकतान्त्रिक मुल्य, कानुनी शासन र नागरिक स्वतन्त्रताप्रति गम्भीर र प्रतिवद्ध बन्न सरकारलाई शान्ति समाज आग्रह गर्दछ ।

यसै सिलसिलामा स्वास्थ्य क्षेत्र सुधार लगायतका माग राखी पटक पटक अनसन बस्दै आउनुभएका सत्याग्रही डा. गोविन्द केसी १५ औँ पटक अनसनका क्रममा जुम्ला पुग्दा २०७५ असार १६ गते दिउँसो बाटोबाटै प्रहरीले पक्राउ गरेको घटनाप्रति मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ । एक सत्याग्रहीलाई निर्मम तवरले नियन्त्रण गरिनुलाई शान्ति समाजले क्रुरता ठानेको छ । न्यायको पक्षमा आवाज उठाउने सत्याग्रही प्रति शान्ति समाजले सद्भाव र ऐक्यवद्धता व्यक्त गर्दै डा. शीघ्र रिहाइको माग गर्दछ ।

सरकारका पछिल्ला निर्णय एवं नीतिहरु निरंकुशतातर्फ उन्मुख एवं हिंसा र विष्फोटन गर्नेहरुप्रति नरम, अहिंसा र सत्याग्रहीप्रति क्रुर हुँदै गएको अवस्थाप्रति शान्ति समाज घोर निन्दा गर्दछ । समाजका केन्द्रीय कार्यसमिति सभापति डा. गंगाधर अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्