प्राङ्गारिक मल उत्पादन शुरु



विराटनगर, मोरङको कटहरी गाउँपालिका–४ मा रहेको वाग्मती फर्टिलाइजर्स एण्ड केमिकल्स ९उद्योग०ले कृषि क्षेत्रको उत्पादकत्व बढाउन प्राङ्गारिक एवं अर्गानिक मलको उत्पादन शुरु गरेको छ ।

दिगो कृषि विकासका लागि प्राङ्गारिक खेती गर्ने उद्देश्यले सो उद्योगले धान, गहुँ, मकै र उखुलगायत तरकारी तथा फलफूलको उत्पादकत्व बढाउन करीब एक दर्जनभन्दा बढी विभिन्न ब्राण्डका मल उत्पादन शुरु गरेको हो ।

उद्योगका सञ्चालक सावरमल खेतानका अनुसार सो उद्योगबाट सोना अर्गानिक फर्टिलाइजर, हिमाल माटो सुधारक, हिमाल बायोफर्टिलाइजर, सोना जिंक, सोना म्यानेसियम, सोना निमाजिम, सोना माइक्रो न्यूटेन्स, शिखर जाइन, शिखर जाइम, सोना मल्टिनिम, सोना सुपरस्टिकलगायतका मल उत्पादन शुरु गरेको छ ।

उद्योगले धेरै अगाडि रासायनिक मल उत्पादनका शुरु गरेको तर केही वर्षदेखि बन्द भएपछि पुनः प्राङ्गारिक मलको उत्पादन शुरु गरेको हो ।

करीब रु एक करोड मूल्यबराबरको लागतमा अर्गानिक मल उत्पादन गरी त्यसको परीक्षण व्यवस्थापनको कार्य शुरु भएको बताइएको छ ।

प्राविधिकसहित ४० जना कामदार रहेको उक्त उद्योगले दैनिक १० टन प्राङ्गारिक मल उत्पादन गर्न शुरु गरेको छ ।

उद्योगका लागि भारतबाट जिंक सल्फेट, पेस्टिसाइड, जाइम, जिंक तथा स्थानीयस्तरमा कुखुराको सुली, मेसमड र कृषि चुनलगायत कच्चा पदार्थबाट सो प्राङ्गारिक मल उत्पादन भइरहेको सञ्चालक खेतानको भनाइ छ ।

सो उद्योगबाट उत्पादित मलबाट मानव स्वास्थ्यमा असर नपर्ने तथा कृषि उत्पादकत्व बढ्ने विश्वास उद्योगको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादवका अनुसार प्रयोगशाला रिपोर्टका आधारमा यस उद्योगले आफ्नो उत्पादन शुरु गरेको बताउँदै अहिले यो परीक्षणका रुपमा रहेको छ ।

रङ्गेलीका कृषक फणीन्द्र सुवेदीले रासायनिक मलभन्दा प्राङ्गारिक मल खेतीका लागि उत्तम भएकाले गुणस्तरीय प्राङ्गारिक मल आज किसानको आवश्यकता हो भन्नुभयो ।

सो उद्योगले सुनसरीको झुम्कामा रहेको बीउबिजन केन्द्रमा धान रोपाइँसँगै खेतमा मल वितरण गरी परीक्षण शुरु गरेको जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्