अस्पतालको छतमा चिप्लियो हेलिकोप्टर



नेपाल समाचारपत्र, काठमाडौं
ग्राण्डी अस्पताल टोखा सडक काठमाडौंमा डाक्टर लिन गएको सिम्रिक एयरको हेलिकप्टर अवतरणको क्रममा दुर्घटनामा परेको छ । दिउँसो साढे २ बजे ग्राण्डीको छतमा रहेको हेलिप्याडमा अवतरण गर्दा हेलिकप्टर चिप्लिएर तल्लो छतमा खसेको छ ।

महाराजगञ्ज प्रहरी वृत्तका सही कृष्णहरी बोहराले दिनुभएको जानकारी अनुसार हेलिकप्टर बिरामी लिनका लागि चिकित्सक टोली लिन ग्राण्डी अस्पताल पुगेको थियो । सहचालकले चलाएको उक्त हेलिकप्टर अवतरणको क्रममा हेलिप्याड भन्दा बाहिर टेक्दा चिप्लिएर तल्लो तल्लामा अड्किएको छ ।

बोहरा भन्नुहुन्छ– ‘एयरपोर्टबाट सिधै अस्पताल पुगी ल्याण्ड हुनलाग्दा डिसव्यालेन्स भयो । मानविय क्षेति केही छैन्, हेलिकप्टरको भने पंखा, ट्यांकी कुच्चीएको तेल चुहिएको छ भने अगाडिको सिसा पनि फुटेको छ ।’ सिम्रिक एयर ९ एन एल आर को हेलिकोप्टर सहचालक हरेराम थापाले चलाउनुभएको थियो । हेलिकप्टरको निरीक्षण गरि टोली फर्किसकेको र भोली मात्र त्यसलाई हटाउने निधो भएको छ ।

अस्पतालको छतलमा हेलिप्याड बनाएर आकस्मिक बिरामीलाई हेलिकप्टर मार्फत ल्याई उपचार गराउँदै आएको ग्राण्डी अस्पतालले हेलिप्याडको समेत स्वीकृति लिए नलिएको बारेमा छानविन समेत शुरु गर्नुपर्ने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

अस्पतालमा हेलिकप्टर दुर्घटना भएलगत्तै खटेको प्रहरी टोलीले २ वटा दमकल र जनशक्ति तयारी अवस्थामा राख्नुका साथै आईसीयु कक्षका बिरामीलाई समेत अन्यत्र सार्नलाई अस्पताल प्रशासनलाई सल्लाह दिएको थियो ।

घटनाको बारेमा अस्पताल प्रशासन तथा सूचना अधिकारीलाई सम्पर्क गर्न खोज्दा मोबाइल नै नउठाएर मौन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्