सिंहदरबारमा निदाएर बिउँझदा



-मुक्तिबन्धु
महाभारतमा पाण्डव बनवासको सन्दर्भमा एउटा प्रसङ्ग छ । बनवासका क्रममा पाण्डवहरु एक पटक एउटा बनको बीच भेगमा अवस्थित चारैतिर वृक्षवनस्पतिले घेरिएको एउटा कुशस्थलीमा पाँचवटा छाप्रा बनाएर बसेका थिए । युधिष्ठिरका छाप्रामा त्यस रात द्रौपदी पनि थिइन् ।

बिहान स्याल कराएको आवाजले बिम्झेका राजा युधिष्ठिरलाई देखेर द्रौपदीलाई दुःख लाग्यो । उनले दिक्क हुँदै भनिन्, हजुर सर्वसामान्य व्यक्तित्व होइन । हजुर त सम्राट् व्यक्तित्व हो ।

पहिले हजुर राजधानी इन्द्रप्रस्थको मणिमय दरबारमा रिटिक्क चिटिक्क सिँँगारेको सुनको पलङ्गमा बिछिएको सुगन्धित नरम नरम वहुमूल्य गद्दामाथि चारणहरुका मङ्गलमय स्तुतिगीतहरु सुन्दै बेलुका सुत्नुहुन्थ्यो । बिहान चारणहरुको माङ्गलिक स्तुति गीतका सुमधुर आवाज सुनेरै बिम्झनु हुन्थ्यो ।

अहिले जङ्गलभित्र राम्ररी काट्न नसकिएर ठोसा बाँकी रहेका कुशको मैदानी ओछ्यानमा सुत्नुहुन्छ । स्यालका अमाङ्गलिक आवाज सुनेर बिम्झनु हुन्छ । एक शक्तिशाली सम्राटका लागि योभन्दा दुःखद अरु के हुन सक्छ ? मलाई त सहन गाह्रो भयो महाराज ! जस्तै संस्कृत भाषाकै शव्दमा— “पुराधिरूढः शयनम्ंमहाधनम्। विवोध्यसे यस्तुतिगीतिमङ्गलैः ।। अदभ्रदर्भामधिशय्य सस्थलीम् । जहासि निद्रा मशिवै शिवारुतैः ।।”—महाकवि भारविप्रणीत किरातार्जुनीय महाकाव्य ।

नेपालमा कुनै राजा बनवास गएको र कुशस्थलीमा सुतेको इतिहास त छैन । सुखसयलका इतिहास भने जति पनि छन् । सत्तासीन राणा प्रधानमन्त्री र तिनका भाइ भारदारहरुले सुखसयलकै लागि उपत्यकाका विभिन्न ठाउँमा एक से एक बाढलाग्दा दरबार बनाएका थिए । सिंहदरबार सवभन्दा बाढिलो दरबार थियो । आज पनि छ । दरबारमा निदाएर बिम्झने नेपालका महाराजाहरुमा चन्द्रशमशशेरको स्थान सर्वोपरि रहेको छ ।

 

उनी त्यहाँ हजारौं रात सुत, निदाए र बिम्झे । नेपालका राजामहाराजाहरु पनि बेलुका सङ्गीत गीतप्रवीण चारणहरुका स्तुतिगीतहरु सुन्दै सुन्दै निदाउँथे । उनीहरु बिमझने समयमा पनि चारणहरु जुटेर सुमधुर लयस्वरमा स्तुतिगीत घन्काएकै हुनुपथ्र्यो । स्तुतिगीत र मङ्गल ध्वनिहरु शुभ सकुन तथा शास्त्रीय आचरण अन्तर्गत पर्थे । सुत्ने वेला सुनिने स्तुतिगीत तथा मङ्गल ध्वनि र देखिने मङ्गल दृश्यले शुभ सपनाहरु देख्न मद्दत गर्छ भने सुतेर बिम्झँदा सुनिने स्तुतिगीत तथा मङ्गल ध्वनिले सुखमय रुपमा दिन बिताउन मद्दत पुग्छ भन्ने स्थापित विश्वास थियो । यो राजा, महाराजा, सामन्त, महासामन्तहरुको परम्परागत संस्कृति नै हो ।

 


लोकतान्त्रिक गणतन्त्र नामधारी समाजवादी मुलुकमा चित्त नबुझेका कुरामा जनताले विरोध गर्न त पाउनै पर्छ, तर सिंहदरबारमा दिनभरि निदाएर उठेका माननीय सांसद, मन्त्री, सम्माननीय प्रधानमन्त्री र आदरणीय कर्मचारीबाबुहरुका कानहरुमा अमाङ्गलिक कर्कश ध्वनि गुञ्जित हुने गरी होइन । उहाँहरुका दरबारिया अमनचैन र शान्तिमा खलल पर्ने गरी होइन ।


राजामहाराजाहरु अमङ्गल ध्वनि सुन्न चाहँदैनन् । अमाङ्गलिक दृश्य देख्न चाहँदैनन् । नेपालमै पनि राणाकालसम्म साइतका शुभ मुहूर्तमा कुकुर रोएको आवाज, स्याल हुइँच्याएको आवाज सुनिनु अमाङ्गलिक मानिन्थ्यो । साइतका समय विधवा नारी र बरखीबारेका पुरुष देखिनु अलच्छिन मानिन्थ्यो ।

यसैले राजा महाराजाका सवारीमा प्रहरी र आठपहरियाहरु त्यस्ता आवाज मौसुफका कानमा पर्न नदिन र त्यस्ता दृश्य मौसुफका आँखामा पर्न नदिन चौकन्ना र सावधान रहन्थे । कुनै समय श्री ३ महाराजका सवारीका वेला विधवा महिला र बरखी बारेका पुरुषहरु राजधानीका सडकमा देखिनै नहुने गरी प्रतिबन्ध पनि लाग्यो । यत्ति कारणले उपत्यकाका बासिन्दा कति नारीपुरुषहरु यहाँबाट पलायन समेत भएका थिए भनिन्छ । नेपाली जनतालाई रैती ठान्ने र दुनियाँ भन्ने राणाहरुका दृष्टिमा दुनियाँ पनि स्यालबराबर थिए ।

दुनियाँको आवाज पनि स्यालको आवाजजत्तिकै बन्धित थियो । रैती दुनियाँले झुक्किएर पनि सरकारविरुद्ध आवाज ननिकालुन् भन्ने मनसायले राणाहरु आफ्ना अनुचरद्वारा स्यालहुइयाका विरुद्ध जनतामा बारम्बार प्रचार गराइरहन्थे । विभिन्न सन्दर्भमा रैतीहरु भेटिँदा ‘ल है स्यालहुइयामा नलाग्नू जिब्रो काटेर पातमा राख्नुपर्ला !’ भन्दै तर्साउँथे राणाका थरी द्वारे जिम्वाल र मुखियाहरु ।

अहिले त्यो समय छैन । नेपालमा राणाहरु छैनन् । उनीहरु सत्ताच्युत भएर पनि सत्तरी वर्ष बिति सक्यो । यसबीच नेपालमा थरी थरीका राज्य व्यवस्था आए । गए । अहिले समाजवादोन्मुख लोकतान्त्रिक गणतन्त्र नामको राज्यव्यवस्था छ । यति लामो नामको राज्य व्यवस्था नेपालमा आइपुगेको भर्खभर्खरै हो । यस व्यवस्थासँग एक थान सम्विधान पनि छ । त्यस सम्विधानभित्र मानवअधिकार र मौलिक अधिकारजस्ता शव्दहरु पनि लेखिएका छन् । जनता सार्वभौम छन् पनि लेखिएको छ । यसै सम्विधानको सपथ लिएर सत्तामा गएका नेकपाका राजनेताहरु अहिले सरकारमा विराजमान छन् । नेपाल फोरम् भन्दै उदाएका अन्य पार्टीका नेता पनि छन् । सरकारले मुलुकमा समाजवादको लगनगाँठो समातिसकेको छ । यस अवस्थामा सरकारी चाहना यस्तो रहेको हुनसक्छ ।

जस्तै—
“मङ्गलकर्मका अवका शुभ मुहूर्तहरुमा हरेक दिन सिंहदरबारमा मन्त्री प्रधानमन्त्री सांसदगण र कर्मचारीमण्डल सुतेर बिम्झँदा चारणहरु उपस्थित भएर वाद्यवादनसहित मङ्गलगीत गाउन् । भित्ताभरिका टीभी स्क्रीनहरुमा मङ्गल दृश्यहरु देखियुन् । जागृत मुहूर्त मिलाएर मुलुकका खेलमन्त्री भैँसीगोठ उद्घाटन गर्न पुगुन् । समाजवादमा अन्तर्राष्ट्रिय फुटबल खेलको प्रसङ्ग सुन्नबाट र निकट भविष्यमा नेपालमा आयोजित हुने विभिन्न खेलमा सम्मिलित हुनबाट नेपाली भैंसीहरु पनि वन्चित नरहुन् ।

कृषिमन्त्रीले तरकारी फल्ने खेत बारीहरुलाई मकैजोन बनाएर मकै मात्र रोप्न, र धान फल्ने फाँटहरुलाई कोदोजोन घोषित गरेर त्यहाँ विकासे कोदो रोप्न फरमान जारी गरुन् । बाहुनहरुले धानलाई राजा भन्दै आएका छन् । जस्तै धान्यराजा सुमाङ्गल्या विष्णुप्रीतिकराः यावाः । विष्णुलाई जौ मन पर्छ भनेका छन् यसैले त्यस सामन्तवादी उद्घोषका विरुद्ध आजको समाजवादी सरकारले नेपालका जौबारीलाई करुजोन घोषित गरोस् ।

किनकि समाजवादमा अन्नमै पनि सबाल्टर्न वर्गलाई माथि उठाउनुपर्छ । मकै कोदो करु यसै वर्गमा पर्छन् । हामीले राजतन्त्र त बढारिसकेका छौं भने अन्नको राजा भनिने धानलाई यहाँबाट किन नबढार्ने ? भात चहिए हामी विभिन्न मुलुकबाट चामल आयात गर्छौं । गरिरहेकै छौं । तरकारी दलहन तिलहन सवै आयात गर्छौं । गरिरहकै छौं । सौ सवै कृषिउपज आयात गर्छौं । कुनै दिन आवश्यकता पर्दा हामी नेपालमा जङ्गल आयात गर्छौं । पानी आयात गर्छाौं । हिमाल आयात गर्छौं । रेल चढाएर ल्याउँछौँ । पानीजहाज चढाएर ल्याउँछौँ । यसैका लागि हामीले विभिन्न फर्मान जारी गर्न आरम्भ गरेका छौं ।

सशक्तीकरणका लागि हामीले हाम्रा आदरणीय साँसदहरुलाई आफ्नो हात जगन्नाथ मोडेलको समाजवादी विकासका लागि प्रति सांसद चार चार करोड, दुई दुई करोड रकम राष्ट्रिय कोषबाट बाहुली दाखिल गर्न व्यवस्था मिलाएकै छौं । परम्परागत असारे विकास जोडतोडका साथ चलाएकै छौं । हामीले के गरेका छैनौ ? अव अझ धेरै गर्छौं । सम्सदीय घोडेजात्रामा खप्पीस नेपाली काङ्ग्रेसलाई समेत सत्ताउपयोगको मामिलामा हामी कोसौं उछिनिदिन सक्छौं । राजनीतिका पसलहरुमा काङ्ग्रेसले भन्दा बढी खसीका टाउका हामी जुटाइदिन सक्छौं । अहिले हामी समाजवादको सवारी चलाउने तैयारीमा छौं । यति वेला कतै कसैले आलोचना नगरुन्, विरोध न गरुन् र गर्नै मन लागे हामीले नसुन्ने ठाउँमा गएर गरुन् ।”

हाम्रा मन्त्री प्रधानमन्त्रीहरुको यही चाहना हो भने देश र जनताका लागि समसामयिक चाहना हो । उज्ज्वलसमयको शुभ सङ्केत पनि हो । समाजवादी सरकारलाई सल्लाह सुझावका रुपमा हामी भन्छाँैं— जनताले विरोध प्रदर्शन गर्ने ठाउँ अझै संशोधित हुनुपर्छ । काठमाडौ र ललितपुरका लागि थापाथली पुलको ४०० मिटर तलबाट टेकु देभान सम्मको स्थान विरोध प्रदर्शनका लागि उपयुक्त र पर्याप्त हुन सक्छ । भक्तपुरका जनताका लागि सानोठिमी बजारपछाडिको हनुमन्ते खोलाका दुवै तीरलाई विरोध प्रदर्शनस्थल निर्धारित गर्नु उपयुक्त हुनसक्छ ।

केन्द्रबाट तोकिने विरोध प्रदर्शनको स्थान विकेन्द्रित किन ? केन्द्रित रुपमै उल्लिखित स्थानहरुलाई प्रदर्शन स्थल तोक्नु मनासिप हुन्छ । ती स्थानमा विरोध प्रदर्शनका लागि जनता जम्मा हुँदा जनताको जनताद्वारा जनताकै नाकहरुको सुरक्षाकै कारण पनि नदी सफाइ अभियानमा समेत मद्दत पुग्न सक्छ । हैन र ?

लोकतान्त्रिक गणतन्त्र नामधारी समाजवादी मुलुकमा चित्त नबुझेका कुरामा जनताले विरोध गर्न त पाउनै पर्छ, तर सिंहदरबारमा दिनभरि निदाएर उठेका माननीय सांसद, मन्त्री, सम्माननीय प्रधानमन्त्री र आदरणीय कर्मचारीबाबुहरुका कानहरुमा अमाङ्गलिक कर्कश ध्वनि गुञ्जित हुने गरी होइन । उहाँहरुका दरबारिया अमनचैन र शान्तिमा खलल पर्ने गरी होइन ।

पुरातात्विक भइसकेको दरबारको पनि त सुरक्षित रहने आत्म अधिकार छ । ध्वनिप्रदूषणबाट जोगिने अधिकार छ । स्वयम् सत्तासीनहरुको पनि मानवअधिकारको सवाल छ । तिनका सुकोमल शान्तिप्रिय आँखा र कानहरुका प्रान्तीय अधिकारको सवाल पनि छ । सम्विधानबाट सार्वभौम भईसकेका जनताले मानिसहरुको आवतजावत बढी हुने घन्चमन्चका ठाउँमा जुटेर प्रदर्शन गर्नु नारा लाउनु शोभनीय कुरा पनि हुँदैन ।

टाढा कतै एकान्तमा जुटेर सुटुक्क विरोध गर्नु र तोकिएका ठाउँमा जुटेर रुनु, कराउनु पनि अवान्छनीय छैन । सरकारको शान्ति भङ्ग नहुने गरी रुन कराउन र मर्न पनि जनतालाई सरकारले रोकेको छैन । रोक्दैन । जनताको एकान्त रोदन स्थलहरुमा खोजी खोजी प्रहरी आउँदैन । जनता सार्वभौम जो छ ।

प्रतिक्रिया दिनुहोस्