जलवायु परिवर्तनको मारमा पृथ्वीवासी



संसारमा विज्ञान र प्रविधिको आविष्कारसँगै विकास तीव्ररूपमा अगाडि बढेको छ । यही विकासका गतिहरू तथा मानवसिर्जित क्रियाकलापका कारण वातावरणीय समस्या दिनानुदिन जटिल बन्दै गइरहेको हामीले देख्न सक्छौँ ।

यिनै समस्याका विविध कारणहरूमध्ये जलवायु परिवर्तन पनि एक हो । आजभन्दा २७ वर्षअगाडि सन् १९८८ देखि नै जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह गठन भएपश्चात् यस क्षेत्रमा विकसित देशहरूको ध्यान पुगिसकेको थियो भने विकासशील तथा अविकसित देशहरू भने भर्खर मात्र यसतर्फ उन्मुख भएका छन् ।

वर्तमान अवस्थामा जलवायु परिवर्तनसम्बन्धी मुद्दा सबैभन्दा बढी बहसको विषय बन्ने गरेको पाइएको छ ।

के हो जलवायु परिवर्तन ?
भूमण्डलीय वा क्षेत्रीयस्तरमा लामो समयमा भएको जलवायुको फरकपनलाई जलवायु परिवर्तन भनिन्छ । यो समयावधि १० वर्ष वा सोभन्दा बढी हुनुपर्छ । लामो समयावधि देखि पृथ्वीमा चलिआएको जाडो, गर्मी, वर्षायाम र अन्य अवस्थामा आउने परिवर्तनलाई पनि जलवायु परिवर्तन भनिन्छ ।

जलववायु परिवर्तनका कारण केही समययता गर्मी, वर्षा, जाडो यामको समय परिवर्तन हुँदै गएको छ । अतिवृष्टि, अनावृष्टि हुन थालेको छ । मौसममा आएको यस किसिमको समष्टिगत परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ ।

यसले पारेको असर
जलवायु परिवर्तनका कारण पृथ्वीको सतहको तापक्रममा वृद्धि भएको छ । वर्षाको स्वरूपमा परिवर्तन भएको छ । यस्तो खालको परिवर्तनले विभिन्न क्षेत्रमा प्रभाव परेको देखिन्छ ।

यसबाट बोटबिरुवा र बालिनालीको जीवनचक्र छोटो भएको छ । उष्ण क्षेत्रमा हुने बोटबिरुवा समशीतोष्ण हुँदै उपोष्ण क्षेत्रतर्फ फैलिन थालेका छन् । मनसुन ढिलो हुनुका साथै वर्षाको तीव्रता बढेको छ । सुख्खा समय लामो हुने गरेको छ र तापक्रम, वर्षा, हावाले अनियमित र अस्थिर स्वरूप देखाउने गरेको पाइएको छ ।

रोग तथा कीराहरूले अपर्झट विप्लव रूप लिने गरेको तथा नयाँ–नयाँ झारपातहरूको प्रकोप बढेको र जमिनमा पानीको मात्रा घटेको पाइन्छ । हिउँ पग्लने दर बढ्नुका साथै हिमरेखा माथि सरेको छ र समुद्रको सतह बढ्ने गरको छ । यसले गर्दा समुद्री सतहमा बसोबास गर्दै आएका मानिसको ज्यान जोखिममा पर्ने गरेको हामीले स्पष्ट देख्ने गरका छौँ ।

यस्ता असरले गर्दा खाद्यान्न उत्पादन घट्ने र कृषकहरुलाई मर्का पर्ने गरेको देखिन्छ । त्यति मात्र नभई जलवायु परिवर्तनले मानिसको दैनिक जनजीवन नै कष्टकर बन्दै गएको देखिएको छ ।

हुन त कतिपय धेरै चिसा क्षेत्रमा नयाँ बालीको सम्भावना नबढेको होइन, नयाँ–नयाँ प्रकारका बीउ बिजनको उत्पादन नभएको पनि हैन, तर मौसमका तत्वहरूमा देखिएको अनियमित तथा अस्थिर स्वरूपले गर्दा कालान्तरमा उत्पादनमा नकारात्मक असर पर्ने देखिन्छ ।

अनावृष्टि र अतिवृष्टिका कारण बाढी–पहिरो गई खेतीयोग्य जमिनको विनाश हुन गएको छ भने सिंचाइ प्रणालीमा नकारात्मक असर पर्नेे गरेको हामीले सजिलै देख्न सक्छौँ । यस्ता घटनाको प्रत्यक्ष प्रभाव कृषिक्षेत्र र कृषकमा धेरै पर्न जान्छ । यसरी आउने नकारात्मक असर पर्याप्त स्रोतको अभावका कारण सबैभन्दा बढी गरिब मुलुक र समुदायमा पर्ने कुरा पक्का छ ।

जलवायु परिवर्तनको रोकथाम
आज जुन गतिले ऊर्जा संक्रमणकालबाट गइरहेछ, त्यसको न्यून आँकलन गरिनुको कारण पहिलेको पुरानो प्रविधिबाट नयाँँमा परिवर्तन हुँदाको भन्दा फरक परिणामले पनि हो । जब दाउरा छाडेर कोइला र त्यसपछि तेल बाल्नेतर्फ मानव उन्मुख भयो, हरेकपटक यस्ता नयाँ स्रोतहरुमा अत्यधिक पुँजी लगानी भयो । भीमकाय योजनाहरु जस्तै– कोइलाखानी, समुद्रका तेल तथा ग्यासखानी अनि प्रशोधनालयहरु सञ्चालन भए । यसबाट ऊर्जा प्राप्त गर्न थालियो ।

पहिलेको तुलनामा आज ऊर्जा बाजारमा उपभोक्ताहरुको धेरै नियन्त्रण छ । तर, औद्योगिकीकरण, गाडीहरूको बढी प्रयोग, हातहतियारको बढ्दो प्रयोग, भौतिक पूर्वाधारहरूको निर्माणमा भएको वृद्धि, वनजंगलको विनाशका कारण जमिनमाथिको वायुमण्डलको तापक्रम बढ्दै गएको छ ।

फोटोभोल्टिक सेल, वायुघट्ट, ब्याट्री एवम् अन्य उपकरणहरुजस्ता दशौँ लाख स–साना यन्त्रहरुले आजको ऊर्जा संक्रमणलाई परिचालित गरिरहेका छन् । यो पद्धतिमा हरेक नयाँ साधन सस्तो छ र छिट्टै आफ्नो मूल्य बराबरको प्रतिफल दिन पनि पछाडि नभएको अवस्था छ ।

त्यसैले औद्योगिक उपकरणहरुको नवीन प्रयोग कम खर्चिलो हुन्छ र प्रविधिलाई द्रुतगतिमा सुधार्न सकिन्छ । धेरै विकास र ठूलो परिमाण सस्तो लागतमा उत्पादन गर्न र वितरण गर्न सकिन्छ । स्वच्छ ऊर्जा उत्पादनका प्राविधिक पक्ष भने खानी र प्रशोधनशालाहरुभन्दा अहिलेको बजार तताएका मोबाइल, इलेक्ट्रोनिक उपकरण र कम्प्युटरहरुसँग मिल्छ भन्दा कुनै फरक नपर्ला ।

ऊर्जातर्फको यो द्रुत दौडाइ मात्र पनि पृथ्वीको ताप घटाउन अथवा कम गर्न सक्ने अवस्थामा देखिँदैन । यस लक्ष्य हासिल गर्न विश्वले अझै धेरै हरितगृह ग्यासहरु वायुमण्डलबाट हटाउनुपर्ने देखिन्छ । कृषि र भूमि संरक्षणमा समाविष्ट गराएर वायुमण्डलबाट ताप उत्सर्जन हुनबाट रोक्ने ग्यासहरुलाई वन तथा जमिनमा बाँधेर राख्ने, वनजंगलको जति सक्दो धेरै संरक्षण गर्ने, खेतीपाती गर्ने, ऊर्जा क्षेत्रको सही सदुपयोग गर्ने लगायतले कार्बन घटाउन सहयोग पुग्ने गर्दछ ।

ऊर्जा तथा भूमिको प्रयोगमा उच्च सुधार ल्याउन बजारको भूमिका अहम् हुन्छ । आँधिबेहरी, बेमौसमी तरकारी र फलफूलहरु, हिले वर्षालगायतका कुराले हामीलाई जलवायुको आपतकालीन स्थिति जाहेर गरेको छ । यसले यसबारे अविलम्ब र सशक्तरुपमा उठाउनुपर्ने कदमको स्मरण गराएको छ । ऊर्जाको अधिग्रहण, उपभोग, भूमिको प्रयोग विधि आदिलाई परिवर्तन गर्न निकै ठूलो प्रोत्साहन, नीति तथा नियमहरुको आवश्यकता पर्छ । यसले मात्र जलवायु परिवर्तन रोक्न मार्गप्रशस्त पार्न सक्छ ।

नेपालमा पनि यसको प्रभाव उत्तिकै सशक्त छ । पहिला–पहिला हिउँले ढाक्ने हिमालमा अहिले हिउँ कम पर्ने गरेको छ, कृषकहरु समयमा वर्षा नहुनाले मारमा पर्ने गरेका छन् भने कैयौं मानिस भोकमरीको चपेटामा पर्ने गरका छन् । त्यसैले यसको उचित रोकथाम गर्नु जरुरी छ । भविष्यको लागि अहिलेबाट नै गम्भीर भएर सोच्नु जरुरी छ ।
– मनोज रेग्मी, हाल: काठमाडौं

प्रतिक्रिया दिनुहोस्