डेनमार्क क्रोयसियासँग कमजोर



विश्वकपमा “डार्क हर्स“ बाट परिचित बनिरहेको क्रोयशियाले आइतबार अन्तिम १६ मा डेनमार्कको सामना गर्दैछ । निज्नी नोभोगोरोड स्टेडियममा समूह सी को उपबिजेता डेनमार्कले समूह डी को बिजेता क्रोएशियासँग भिडन्त पक्का गरेको हो ।

समूह चरणको नतिजा विश्लेषण गर्ने हो भने तुलनात्मक रुपमा डेनमार्क भन्दा क्रोएशिया बलियो देखिन्छ । क्रोएशियाले समूह डी मा अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्डलाई पराजित गर्ने क्रममा ७ गोल गरेर १ गोल मात्र बेहोरेको छ ।

यता डेनमार्कले भने २ बराबरी र १ म्याच जित्ने क्रममा २ गोल गर्दा १ गोल बेहोरेको छ । यी बीचको समानता भनेको यी दुवै समूह चरणमा नै अपराजित रहेका छन् ।

लुका मोड्रिच र ईभान पेरिसिच बाहेक आइसल्याण्डविरुद्ध समूहको अन्तिम खेलमा आफ्ना मुख्य खेलाडीलाई आराम दिएकाले डेनमार्कबिरुद्ध क्रोएशियाले सशक्त प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

यता दुई पहेँलो कार्डका कारण फ्रान्सविरुद्ध नदेखिएका डेनमार्कका युसूफ पौलसन क्रोएशियाविरुद्ध मैदानमा उत्रने छन् । उनीसँगै टिमको सुरुवाती ११ मा लास्से स्कोन र जोर्गेन्सेन पनि मैदानमा उत्रने छन् ।

विश्वकप अघि डेनमार्क पछिल्ला १७ खेलमा अपराजित रहेको थिए । विश्वकपमा फ्रान्ससँग गोलबिहीन बराबरी खेलेको डेनमार्कले त्यसअघिका मैत्रीपूर्ण खेलमा चिली र स्वीडेनसँग पनि गोलबिहिन बराबरी नै खेलेका थिए ।

रसिया आउनु अघि भने डेनमार्कले मेक्सिकोलाई २–० ले हराउंदा एरिक पौलसेन र क्रिस्टियन एरिक्सनले एक–एक गोल गरेका थिए । यता क्रोएशिया भने पछिल्ला ६ मध्ये ५ खेलमा विजयी बनेको छ । जसमध्ये ४ खेलमा लगातार जित हासिल गरेको छ ।

सम्भावित ४–२–३–१ को रणनीतिमा उत्रने डेनमार्कविरुद्ध क्रोएशियाले पनि ४–२–३–१ कै रणनीति अपनाउने सम्भावना रहेको छ । जसअन्तर्गत डेनमार्कको गोलरक्षक कस्पेर स्माइकलसहित डिफेन्डरहरू हेन्रीक, सिमोन, अन्द्रियास र जेनको रक्षापंक्तिको पर्खाललाई क्रोएशियाका अट्याकिंग मिडफील्डरहरु रेबीच, राकिटिच, पेरिसिच तथा फरवार्ड मारियो माण्डुजिकिचले भत्काउने हरसम्भव प्रयास गर्नेछ ।

क्रोएशियाको अग्रपंक्ति र रक्षापंक्तिलाई सघाउन लुका मोड्रिच र मिलान बाडेल्जको डिफेन्सिभ मिडफील्ड पनि चुस्त हुनेछ । यता डेनमार्कका फरवार्ड निकोलेइ जोर्गेन्सेन र मिडफील्डरहरु पौलसेन, एरिक्सन, सिस्टोले पनि क्रोएशियाली गोलरक्षक डेनिजेल सुबासेच सहित डिफेन्डरहरू सिमे, डेजन, डोमागोज र ईभानलाई ब्यस्त पार्नेछ ।

जसलाई डिफेन्सिभ मिडफील्डरहरु लास्से र डेलानेले सहयोग गर्नेछ । विशेषतः क्रोएसियाको प्रदर्शन लुका मोड्रिच, राकिटिच र पेरिसिचको प्रदर्शनमा निर्भर हुनेछ । यस्तै डेनमार्कको नतिजा भने क्रिस्टियन एरिक्सन, युसूफ पौलसेन र सिमोन केजाएरको प्रदर्शनमा भर पर्नेछ ।

हेड टू हेड
डेनमार्क र क्रोएशियाले एकअर्काबीच ५ पटक खेलेका छन् । जसमा समान दुई–दुई पटक दुवै टिमले जित हात पार्दा एक खेल बराबरीमा टुङ्गिएको छ । त्यसक्रममा क्रोएशियाले ७ गोल गर्दा डेनमार्कले ६ गोल फर्काएका छन् ।

प्रतिक्रिया दिनुहोस्