पुस्तक चर्चा: उज्यालो छर्न आतुर कवि उप्रेती



-शरद श्रेष्ठ
भीष्म उप्रेती सरल भाषा–शैलीमा कविता कोर्न सिपालु छन् । उनका काव्य–शैलीमा मीठासपन हुनुका साथै लोभ लाग्दा कविताका लागि कोरिएका अक्षर–विम्बहरु हुन्छन् । कवितामा जीवन हुनु र कविता सबैले बुझ्ने खालको सरल हुनु उप्रेतीका काव्यात्मक विशेषताहरु हुन् ।

यिनी कवितामा मात्र होइन नियात्रा, निबन्ध र उपन्यासमा पनि भाषा–शैली छर्न सफल छन् । त्यसैले यिनका कविताहरु अंग्रेजी, हिन्दी, तमिल, जापानी, कोरियाली, सर्बियाली, स्लोभोनियाली, कम्बोडियन र संस्कृत भाषामा पनि अनुदित छन् । नयाँ पुस्ताबाट उदय भएका कवि भीष्म उप्रेती कवितामा क्षमतावान् देखिन्छन् ।

यिनको पछिल्लोपल्ट प्रकाशित कविता सङ्ग्रह ‘आधा उज्यालो’ कविताको प्रयोगमा देखिएको एकखालको सुन्दर प्रयोग मान्न सकिन्छ । यसै कविता सङ्ग्रहमा कवि दिनेश अधिकारी आफ्नो भूमिकामा कामना गर्छन् र भन्छन्– यिनका कविता ‘सुनारले गहना बनाउन/टुक्राटुक्रा सुन वा चाँदी टिपेजस्तै÷ चिम्टीले उज्यालो टिप्दै÷ कविताको ढाकर भर्ने स्वभावका छन् ।’

कवि दिनेश अधिकारीले भनेजस्तै भीष्मका कविताहरु कालिगढले बनाएका शिल्पीहरुजस्तै छन् । भीष्म कवि कवितालाई ‘सृजनात्मक कलाहरुमध्ये एक उत्कृष्ट सृजना’ मान्दछन् ।

उनको कविता र कविबारे आफ्नै खालको यस खालको तर्क छ– ‘जीवनलाई, सत्यलाई र निष्ठालाई प्रेम गर्नेले मात्र कवितालाई प्रेम गर्न सक्छ ।’ यस्तै भावनात्मक संवेगले भीष्मलाई योग्य कवि बनायो । जीवनका लागि गहिरिएर कविता लेख्नेहरु धेरै थोरै छन्, ती थोरै कविहरुको हुलमा कवि भीष्म उप्रेती ‘आधा उज्यालो’ मा देखिन्छन् ।

‘देश’, ‘प्रकृति’, ‘पानी’, ‘मान्छे’ उपशीर्षकमा ५३ वटा स–साना कविताहरु यस कविता सङ्ग्रहमा समाविष्ट छन् ।

कवि भीष्म प्रसाईंका कविताहरु सरल भएकै कारणले र जीवन–उत्सर्ग भरिएकैले, अन्ध–परम्पराविरुद्ध लेखिएकैले सुन्दर र पढौं–पढौं खालका छन् । कवि देशलाई ‘अखण्ड’ बनाउन चाहन्छन् । सस्तो डान्सबारजस्तो संसद् देखेर यिनी भयातुर छन् । शान्ति अपहृत हुँदै गरेको जस्तो परिवेश भोगेर देशमाथि चिन्ता व्यक्त गर्दै यिनी कवितामा लेख्छन्–

सगरमाथा र बुद्धको नाममा
गर्व गर्नुले कति पनि अर्थ राख्दैन आज
सौन्दर्यको अनुहारमा
फोहोर पोखिएको छ ।
यिनी देशप्रति चिन्ता व्यक्त गर्दै कवितामा लेख्छन्–
‘देशभक्ति अब
राष्ट्रिय गीतमा मात्र बाँचेको छ ।

देशप्रति सचेत, जनमनप्रति जिम्मेवार, अन्धविश्वास र कुरीति प्रथाका विरोधी कवि भएकै कारणले यिनका कविताहरु प्रगतिशील–दृष्टिचेत् भएका सुन्दर कविताहरु बनेका छन् । यिनी भोलिका लागि उज्यालो दिन जन्माउन सङ्कल्पबद्ध छन् । यिनी पानीजस्तै बग्न चाहन्छन्, यिनी रुखझैँ ठिङ्ग नलत्रीकन उभिरहन खोज्छन्, यिनी गाउँ र देशकै सुन्दरताका लागि हिस्सी थप्न मन गर्छन् । यिनी श्रमिक जनमा र परिश्रमी जनावरमा प्रणाम चढाउँदै कवितामा लेख्छन्–

बाटामा भेटिएका खच्चडलाई
च्याप्प समातेर ढोग्यौं र भन्यौं–
तिमी देवता हौ यस हिमालमा
म तिमीलाई प्रणाम गर्छु ।

श्रमिकजनमा भक्तिभाव जनाउँदै यिनी ‘समानता’ कवितामा खच्चडहरु र भरियाहरुले नै ‘हिमाल’को सुन्दरता खोप्न सकेका हुन् भनी जयगान गाउँछन् । ‘आधा उज्यालो’ ले भीष्म उप्रेतीलाई सम्भावनायुक्त उज्याला कविका रुपमा उभ्यादिएका छन् ।

प्रतिक्रिया दिनुहोस्