दुवै अध्यक्ष ब्यस्त हुंदा मस्यौदा पारित हुन सकेन



मधुसूदन रायमाझी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नियमावली मस्यौदा पारित नहुँदा अन्यौता सृजना भएको छ । पार्टी स्थायी कमिटीबाट नियमावली मस्यौदा पारित नहुँदा प्रदेश, जिल्ला कमिटी, नगर कमिटी र गाउँ कमिटीको गठन हुने संख्या र प्रक्रिया अगाडि बढन सकेको छैन् ।

पार्टी एकता भएको डेढ महिना वितिसक्दा पनि पार्टीको नियमावली मस्यौदा पारित हुन सकेको छैन् । नेकपाका पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको व्यस्थता र हाल अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारको क्रममा देश बाहिर रहनुभएको कारण नियमावली पारित हुन सकेको छैन् ।

पार्टी एकीकरणपछि पहिलो पटक गत असार २ गते बसेको पार्टी स्थायी कमिटीको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित नियमावली मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि गर्दै उक्त मस्यौदामाथि स्थायी कमिटी सदस्यहरुले १० दिनभित्र आफ्ना राय, सुझावहरु दिने र केन्द्रीय सचिवालयले ती राय–सुझावहरु समेटेर तयार पारेको प्रस्ताव १५ दिनभित्र स्थायी कमिटीको बैठकबाट पारित गर्ने निर्णय भएको थियो ।

तर नेताहरुको कार्य व्यवस्ताको कारण नियमावली मस्यौदा पारित हुन सकेको छैन् । जसको कारण पार्टी एकता भएसँगै निर्माण हुने कमिटीहरुमा अन्यौलता सृजना भएको छ । नेकपाले तीन महिनाभित्र पार्टी अन्तर्गत रहने संगठन र भातृ संगठनको एकता प्रक्रिया टुंगो लगाउने बताएको छ ।

त्यसैगरी पार्टीले जिल्ला कमिटी निर्वाचन क्षेत्र अनुसार ७५ सदस्यीय प्रस्ताव गरेपनि १ सय १५ सदस्यीय सम्मको बनाउने विषयमा गृहकार्य भइरहेको बताइएको छ । जिल्ला कमिटीमा धेरै नेतारुको व्यवस्थापन गर्नको लागि सानो कमिटी बनाउदा समस्या हुने भएकाले केही संख्या बढाएर व्यवस्थापन गर्न नेतृत्वलाई जिल्ला तहका नेताहरुले दबाब दिएका छन् ।

नियमावली मस्यौदामा अन्तिम रुप दिनको लागि गृहकार्य भइरहेको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो–‘नियमावली मस्यौदामाथि आएको सुझावको आधारमा सच्याउने काम अन्तिम चरणमा पुग्न लागेको छ, अध्यक्ष प्रचण्ड स्वदेश फर्किएपछि स्थायी कमिटीको बैठक बसेर टुंगो लाग्छ ।’ पार्टीका अध्यक्ष प्रचण्ड नहुँदा स्थायी कमिटीको बैठक बस्न सकेको छैन् ।

पार्टी एकता प्रक्रियालाई अगाडि बढाउनको लागि पार्टीको संगठन, भातृ संगठनहरुको संयुक्त बैठक बस्ने र कार्यदल गठन गरेर काम भइरहेको छ । तर नियमावली मस्यौदाले पूर्णता नपाउदा कति सदस्यी बनाउने भन्ने विषयमा अन्यौता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्