माथिल्लो तामाकोसीको सेयर निष्कासन समय अनुपयुक्त



चिरञ्जीवी मास्के दोलखा ।
ठुलो संर्घष पछि प्राप्त भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जिल्लावासिको लागि छुट्टाईएको सेयर निष्कासन हँुदा पनि दोलखालीको मुहारमा खुशी देखिएको छैन् ।

सेयर दलालहरुको डिजाईनमा आयोजनाले सबै दोलखालीले सेयर हाल्न नसक्ने समय रोजेर सेयर निष्कासन गरेको स्थानियको आरोप छ । यतिबेला असारको चटारो रहेको, बैङ्क तथा वित्तिय संस्थाहरुको क्लोजिङको समय रहेकोले ऋण लगानि नहुने, बर्षाको समय भएकोले सेयरको लागि दरखास्त हाल्न सदरमुकामसम्म आउने अवस्था नरहेको, सबै दोलखाली पुर्ननिर्माणमा व्यस्त रहेकोले जगेडा पँुजी नहुदा सबै दोलखालीले सेयर खरीद गर्न नसक्ने जस्ता समस्या रहेकोले सेयर निष्कासनको निर्णयमा पुर्नविचार हुनुपर्ने जनहित नागरिक समाज दोलखाका अध्यक्ष लक्ष्मण खड्का बताउछन् ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवद्धक कम्पनि अपर तामाकोसी हाईड्रो पावर लिमिटेडले मंगलवार सार्वजनिक सूचना प्रकाशीत गर्दै दोलखावासीको लागि सेयर आव्हान गरेको थियो । कम्पनिले जिल्लावासीको लागि छुट्टाईएको १० प्रतिशत अर्थात एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको सार्वजनिक सूचना मार्फत जानकारी गराएको थियो ।

सार्वजनिक सूचना अनुसार जिल्लावासीले आवश्यक कागजात सहित आगामी असार २४ गतेदेखी साउन ९ गतेसम्म कम्तिमा ३० कित्तादेखी ३ सय कित्तासम्मको सेयरका लागि दरखास्त दिन पाउने छन् ।

दोलखामा सक्रिय नागरिक समाज तथा अधिकारकर्मीहरुले पनि माथिल्लो तामाकोसी आयोजनाले कसैको डिजाईनमा अनुपयुक्त समयमा सेयर निष्कासन गरेको आरोप लगाएको छ । नागरिक समाज दोलखा, नेपाल नागरिक समाज, जनहित नागरिक समाज, हुराडेक दोलखा, इन्सेक दोलखा र नेपाल पत्रकार महासंघ दोलखाले जिल्ला समन्वय समिति दोलखा र जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापनपत्र बुझाउदै सेयर निष्कासनको मिति पुर्नविचारको लागि सरोकारवाला निकायलाई दवाव दिन आग्रह गरेका छन् ।

माथिल्लो तामाकोसी सेयर सरोकार संयुक्त संघर्ष समिति दोलखाका संयोजक बर्मा लामा अपर तामाकोसी हाईड्रो पावर लिमिटेडले मिचाह प्रवृत्ति देखाउदै सेयर दलालहरुलाई फाईदा पुग्ने गरी बर्गिकरणको आधारमा अनुपयुक्त समयमा सेयर निष्कासन गरेको बताउछन् । दोलखालीको अधिकार खोस्ने नियतले गरिएको सेयर निष्कासन प्रकृया र समय आफुहरुलाई मान्य नरहेको र यसलाई नसच्चाईए संघर्ष निरन्तर जारी रहने लामाको भनाई छ ।

हामीले विगत देखिनै सेयरको न्यायोचित वितरणको लागि आन्दोलन गर्दै आएका छौ लामाले भने – अहिले हाम्रो मागको वेवास्ता गर्दै जसरी मिचाह प्रवृत्ति देखाईएको छ यसलाई कुनै हालतमा सफल हुन दिदैनौ ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे दोलखालीको अधिकार रहेको जिल्लावासीको लागि आव्हान भएको सेयर सम्पूर्ण जिल्लावासीले पाउने वातावरण बनाउन आफुहरुले प्रयत्न गर्ने बताउछन् । समयको उपयुक्तता र प्रत्यक वडामा सेयर संकलन गर्ने बाताबरण बनाउन जिल्ला समन्वय समितिले आवश्यक पहल गरिरहेको पाण्डेको भनाई छ ।

आयोजनाले सार्वजनिक सुचना मार्फत सेयर निष्कासनको कार्यतालिका सार्वजनिक गरेपछि ग्रामीण क्षेत्रका अधिकारकर्मी तथा संघ संस्थाहरले समेत सेयर निष्कासनको समय र प्रकृयाप्रति असहमति जनाउदै निर्णय सच्चाउन माग गरेका छन् । मेलुङ गाँउपालिकामा रहेको गाईखुरा युवा क्लबका अध्यक्ष टंकप्रसाद भण्डारी प्रत्यक वडामा सेयर आवेदन गर्ने व्यवस्था हुनुपर्ने र समय थप गरिनु पर्ने बताउछन् ।

प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक धितोपत्र बोर्डको अनुमति पछि अपर तामाकोसी हाईड्रो पावर लिमिटेडले असारको पहिलो हप्ताबाटै सेयर आवेद खुलाउन चाहेकोमा आफुले त्यसलाई असारको अन्तिममा सार्न लगाएको उल्लेख गर्दै अहिलेको समयमा १५ दिन थप हुनसक्ने बताउछन् । समय अझ पछि सार्ने विषयमा आफुले सक्ने प्रयत्न गर्ने पनि प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्