कांग्रेसमा सुस्तता, अझै गठन भएन नीति तथा प्रशिक्षण प्रतिष्ठान



‘पार्टी भित्रको केन्द्रिय विभागलाई भन्दा बढी महत्व दिइएको नीति तथा प्रशिक्षण प्रतिष्ठान १३ औं महाधिवेशन देखि क्रियाशिल छैन ।’

रामकृष्ण चापागाईं, काठमाडौं ।
नेपाली काग्रेसको १२औं महाधिवेशनले पार्टीको नीति निर्माणमा सहयोग पु¥याउन र आम कार्यकर्तालाई पार्टीको आदर्श, नीति, सिद्धान्त वोध गराउने तथा देशव्यापी प्रशिक्षणको कार्यलाई नियमित र व्यवस्थित गर्न नयाँ संयन्त्रको रुपमा गठित केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान १३औं महाधिवेशन पछि अलपत्र भएको छ ।

स्थानीय, प्रान्तिय र संघीय तीनै तहको निर्वाचनमा नेपाली काग्रेस नराम्ररी पराजित हुनुको एउटा कारण नीति तथा प्रशिक्षण प्रतिष्ठान क्रियाशिल नहुनुलाई पनि लिइएको छ । पार्टी भित्र अन्य विषयगत विभिन्न विभागहरु हुदाहुदै पनि विभागहरुको हैसियत भन्दा माथि राखेर गठन गरएको नीति तथा प्रशिक्षण प्रतिष्ठान १२औं महाधिवेशन देखि १३औं महाधिवेशन सम्म भने क्रियाशिल भएको थियो ।

काग्रेस भित्र केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान महत्वपुर्ण भएकै कारण यसलाई अन्य विभागहरुको हैसियत भन्दा माथि राखिएको हो । विभागहरुमा केन्द्रिय सदस्य प्रमुख रहने व्यवस्था छ भने यो प्रतिष्ठानको नेतृत्व उपसभापतिले गर्ने व्यवस्था छ । त्यहि भएर पनि नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई महत्व दिएको स्पष्ठ हुन्छ । १३औं महाधिवेशन पछि सभापति शेरवहादुर देउवाले लामो समय सम्म उपसभापति मनोनित नगर्दा यो प्रतिष्ठान गठन हुन नसकेको गुनासो आइरहेको थियो । अहिले उपसभापति मनोनित भईसकेको अवस्थामा पनि केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान गठन हुन सकेको छैन ।

काग्रेसको महत्वपुर्ण संरचना मानिएको केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानको गठन सम्बन्धि व्यवस्था विधानको धारा ३६ मा उल्लेख गरिएको छ भने यसको संरचना र नियममित कार्य सञ्चालन बारे नियमावलीमा उल्लेख छ ।

उपसभापतिको प्रमुखत्वमा गठन हुने यो प्रतिष्ठानमा केन्द्रीय सदस्य एवं पार्टीका उपयुक्त व्यक्ति उपप्रमुख रहने व्यवस्था छ । यसको संरचना निर्माण गर्दा प्रतिष्ठानका प्रमुखले सम्बन्धित विषय क्षत्रका ज्ञाता पार्टीका क्रियाशिल सदस्य मध्य २५ जनालाई सदस्यमा नियुक्त गर्ने व्यवस्था छ । प्रतिष्ठान प्रमुखले एकजना कार्यकारी निर्देशक समेत नियुक्त गर्ने व्यवस्था छ ।

केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानको उदेश्य अनुरुप १२औं महाधिवेशन पछि उपसभापतिमा मनोनित हुनुभएका रामचन्द्र पौडेलले तत्काल संरचना बनाई देशव्यापी प्रशिक्षणको कार्यक्रम अघि बढाएपनि १३औं महाधिवेशन पछि उपसभापतिमा मनोनित हुनुभएका विमलेन्द्र नीधिले यो संरचना निर्माण गरि अघि बढाउन चासो नदिएको गुनासो आइरहेको छ ।

सभापति देउवाले समेत यसको महत्वलाई ध्यानमा राखि बेलैमा उपसभापति मनोनित नगरेको मात्र हैन उपसभापति मनोनित नहुदा साविककै प्रतिष्ठानलाई क्रियाशिल हुन निर्देशन दिएको भएपनि यो देशव्यापि प्रशिक्षण प्रभावकारी भैरहन्थ्यो । साथै उपसभापति मनोनित नहुदा सभापति देउवा स्वयंले अग्रसरता लिएर प्रतिष्ठानको उदेश्य अनुरुप कार्य अघि बढाउन सकिने भएपनि यसमा देउवाले ध्यान नदिएको कारणले पनि हालै सम्पन्न तीनै तहको निर्वाचनमा काग्रेस पराजित हुन बल पुगेको भनि सभापति देउवाको आलोचना भैरहेको छ ।

उपसभापतिमा मनोनित भैसकेपछि नीधिले तत्काल यसको संरचना बनाएर क्रियाशिल गराउनर पर्ने भए पनि उहाले झन निक्रियता देखाउनु भएको गुनासो आइरहेको छ । यस बारेमा उपसभापति नीधि संग नेपाल समाचारपत्रले जिज्ञासा राख्दा अहिले कार्यक्रमको शिलशिलामा आफु जनकपुरमा आएकोले दुई/चार दिन पछि राजधानी फर्किए लगत्तै नीति तथा प्रशिक्षण प्रतिष्ठानको संरचना बनाई क्रियाशिल बनाउने बारे छलफल गर्ने बताउनु भएको छ ।

तत्कालिन अवस्थामा यो प्रतिष्ठानको उदेश्य अनुरुप प्रभावकारी काम भएकै कारण पनि पहिलो संविधानसभामा निर्वाचनमा नराम्ररी पराजित भएको नेपाली काग्रेसले दोस्रो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठुलो दलको हैसियत कायम राख्न सकेको पनि बताइएको छ । तत्कालिन अवस्थामा पार्टीका जिल्ला सचिव, कोषाध्यक्ष, क्षेत्रीय सभापति, कार्यालय सचिव एवं भातृ तथा सुभेच्छुक संघ संस्थालार्य प्रशिक्षणको माध्यमबाट जुझारु र क्रियाशिल बनाउन पनि प्रतिष्ठानले महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो ।

यो प्रतिष्ठानले वीपि कोइराला, गणेशमान सिंह जस्ता पार्टीका दिवंगत शीर्ष नेताहरुको सतवार्षिकि समारोहलाई समेत देशव्यापि पदयात्रा, विचारयात्रा, बलिदान यात्राका रुपमा कार्यक्रम गरेर नयाँ पुस्ता र गाउको तल्लो तहसम्म नेताको विचार र त्यागलाई पु¥याउने काम पनि गरेको थियो ।

केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानको निस्कृय भएको बारे पहिले कार्यकारी निर्देशक भएर प्रभावकारी काम गरिसक्नु भएका मधुआचार्य भन्नुहुन्छ– ढिलो गरि मनोनित हुनुभएका उपसभापति नीधिले यसलाई छिटै गठन गर्न र देशव्यापि प्रशिक्षणका कामहरुलाई तिव्रता दिन गम्भिर रुपमा लाग्नु भएको पाएको छु । हालै हेटौडामा सम्पन्न जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा आफुसंग भएको भेटमा समेत उपसभापति नीधिले प्रतिष्ठानको अघिल्लो टीम संग परामर्श गरेर तत्काल अघि बढ्ने कुरा बताएको आचार्यले नेपाल समाचारपत्रलाई बताउनु भएको थियो ।

प्रतिष्ठानको काम

– विभिन्न विषय क्षेत्रमा कार्यरत सुजनशील, वौद्धिक र व्यवसायीक जनशक्तिको सहयोग लिई प्रतिष्ठानले पार्टीको नीति निर्माणमा र नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।

– नियमित रुपमा विषयगत विचार गोष्ठि, अन्तरसंवाद र परामर्श कार्यक्रम सञ्चालन गर्ने ।

– पार्टी सदस्य तथा विभिन्न तहका पार्टी पदाधिकारीहरुलाई लगि प्रतिष्ठानद्धारा निर्धारित कार्यक्रम अनुसार राजनीतिक, सामाजिक, आर्थिक विषयमा प्रशिक्षत गराउने ।

– प्रतिष्ठानलाई ६/६ महिनामा आफ्नो प्रतिवेदन केन्द्रिय कार्यसमितिमा प्रस्तुत गर्ने ।

– भातृ तथा सुभेच्छुक संस्थाका व्यक्तिहरुलाई संलग्न गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।

– राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र विकास सम्बन्धि विविध विषयमा पार्टीले अख्तियार गर्नुपर्ने निित निर्माण कार्ययोजना तर्जुमा गर्ने ।

– तर्जुमा भएका नीति पार्टीबाट स्वीकृत गराई पार्टीगत तहमा कार्यान्वयन गर्ने, गराउने ।

– पार्टीको नीति तथा कार्यक्रमको निर्माण गर्दा अनुसन्धान तथा मूल्याङ्कन विभागले निकालेको निष्कर्ष र प्रतिवेदनलाई समेत प्रयोग गर्ने

प्रतिक्रिया दिनुहोस्