अलगिएका बच्चालाई आमाबुबासँग भेटाउन अदालतको आदेश



वासिङटन (एजेन्सी)
अमेरिकामा अवैध आप्रवासी र उनीहरुका बच्चालाई अलग गरिएको मामिलामा एक अमेरिकी न्यायधिषले ताजा आदेश दिएको छ । न्यायधिषले आमाबुबासँग अलग भएका बच्चालाई ३० दिन भित्र मिलाउन आदेश दिएको हो ।

डोनाल्ड ट्रम्प सुरुवाट देखि नै अवैध आप्रवासीलाई लिएर कडा निति लिँदै आइरहेका छन र उनको ‘जिरो टलरेन्स‘पनि यसको हिस्सा हो । उक्त विवादित निति अन्तर्गत बिना आवश्यक कागजात अमेरिकी सीमामा प्रवेश गर्ने माथि आपराधिक मामिला दर्ता गरिने र उनीहरुलाई जेलमा हालिने ब्यवस्था छ । यसतो स्थितिमा उनीहरुका बच्चालाई उनीहरुबाट अलग हिरासत केन्द्रमा राखिने छ ।

यस नितिको चौतरफी आलोचना पछि ट्रम्पले यसमा परिवर्तन गरेका थिए । अब परिवार र बच्चालाईसँगै हिरासतमा राखिने भएको छ । यद्यपी उनको आदेशमा पहिल्यै आमाबुबासँग अलग भएका बच्चाहरुको विषयमा के हुन्छ, भन्ने विषयमा प्रष्ट गरेको छैन ।

अब क्यालिफोर्नियामा सन डियागोका एक संघिय न्यायधिषले मंगलबार आफनो आदेशमा सरकारले पाँच बर्ष भन्दा कम उमेरका बच्चालाई १५ दिन भित्र र पाँच भन्दा धेरै बर्षका बच्चालाई ३० दिन भित्र उनका आमाबुबासँग भेटाउन भनेको छ ।


उक्त फैसला दिने क्रममा न्यायधिष डेना साब्राले सरकारको आलोचना गर्दै उसले फैलाएको अराजकतालाई नियन्त्रण गर्न नसकेको बताएका छन् । न्यायधिषले फैसला अमेरिकी सिभिल लिबर्टिज युनियन (एसीएलयु)द्वारा दायर गरिएको एक याचिकामा सुनाएको हो ।

एसीएलयुले गत बर्ष अमेरिकामा आएपछि अलग भएकी आफनी ६ बर्षकी छोरीकी आमाको तर्फबाट उक्त याचिका हालेको हो ।

जंजिरले बाँधेको ढोका बाहिर आप्रवासीका बच्चाहरुको केहि तस्वीर सन्चार माध्यममा आएपछि ट्रम्प प्रशासनको आप्रवासी कानुनमाथि विवाद बढेको थियो । ती तस्वीरलाई लिएर ती केन्द्रको तुलना नाजी यातना सिविरसँग गरिएको थियो ।

अमेरिकी सरकारको आंकडामा मे ५ देखि जुन ९को बीच २ हजार ३ सय ४२ बच्चा उनीहरुका आमाबुवासँग अलग भइसकेका छन् । यसपछि ट्रम्प प्रशासनले आफनो फैसलामा परिवर्तन गर्नु परेको हो ।

राष्ट्रपति ट्रम्पले अब आप्रवासी परिवार सँगै बस्न पाउने बताएका थिए ।
केहि सन्चार माध्यमका अनुसार ट्रम्पकी पत्नी मेलानिया र छोरी इवान्काले पनि उक्त नियममा परिवर्तन गर्न दबाब दिएका थिए । यसै क्रममा मेलानिया टेक्सस स्थित एउटा ‘बाल हिरासत केन्द्र‘मा आमाबुबासँग अलग भएका बच्चाहरुसँग भेट्न गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्