प्रधानमन्त्रीज्यू, छिमेकीसँग कहिलेसम्म भीख मागिरहने ?



-पुष्करलाल श्रेष्ठ
चन्द्र शमशेरले बनाइदिएको सिंहदरबारको प्रधानमन्त्री कार्यालय भूकम्पबाट भत्किएपछि राजा वीरेन्द्रको शासनकालमा आगलागी भएर पुनर्निर्माण गरिएको स्थानीय विकास मन्त्रालयमा बसेर प्रधानमन्त्री केपी ओलीले आफ्नो काम चलाइरहनुभएको छ । भूकम्पपछि दुईचोटि प्रधानमन्त्री भइसक्नुभएका प्रधानमन्त्री केपी ओलीले पहिलोपटक प्रधानमन्त्री भएको बेलामै राम्रो काम गरेर आफ्नो कार्यकक्षको पुनर्निर्माण गरिसकेको भए यहाँ काम चलाइरहनुभएको सट्टा काम गरिरहनुभएको भनेर लेख्न मिल्थ्यो । तर, दोस्रोपटक प्रधानमन्त्री हुनुभएको ४ महिना बितिसक्दा पनि भाषण र विदेश भ्रमणबाहेक जनताले अनुभूति गर्न सकिने कुनै पनि काम अगाडि बढेको नदेखेपछि काम चलाइरहनुभएको लेख्न बाध्य हुनुपरेको छ । आपूm बसेर काम गर्नुपर्ने आफ्नै कार्यकक्ष त बनाउन नसकेर बिरालोले बास सरेझैँ सरिरहनुहुने प्रधानमन्त्री ओली आफ्नो हरेक सार्वजनिक कार्यक्रमहरुमा भने देशलाई समृद्ध बनाउँछु भनेर भाषण गर्न छोड्नुहुन्न ।

नेपाली जनताले शुद्ध खानेपानी पिउन नपाएको वर्षौं भइसकेको छ । जारको पानीसमेत दूषित भएको कुरा बाहिर आएको छ । मन्त्री हुनेबित्तिकै खानेपानी मन्त्री वीणा मगरले एक महिनाभित्र मेलम्ची आउने कुरा गर्नुभएको थियो । चार महिना भइसक्यो तर आएको छैन । अहिले फेरि असोजको अन्तिम हप्ता भन्न थाल्नुभएको छ । केही दिनयता बजारमा आइरहेको दूध स्वास्थ्यका लागि हानिकारक भनिएको छ । डाक्टरहरु बजारमा छ्यापछ्याप्ती विषादी मिसाइएको तरकारी र फलपूmल नखान सुझाव दिइरहेका हुन्छन् । जनतासँग कुन तरकारी अग्र्यानिक र कुन विषादी भनेर छुट्याउने यन्त्र छैन । बजारमा सरकारी अनुगमन शून्य छ । मूल्यवृद्धिले आकाश छोइसकेको अवस्था छ ।

सरकारी अस्पतालहरुमा देखिने गरेको अस्तव्यस्तताले बिरामी लिएर गएका स्वस्थ व्यक्तिसमेत बिरामी भई अस्पताल भर्ना हुनुपर्ने स्थिति छ । यही दुर्दशा भोग्नुपर्ला भन्ने डरले पुष्पकमल दाहाल अहिले आफ्नी पत्नी सीता दाहालको उपचार गर्न सिंगापुर पुग्नुभएको छ । प्रधानमन्त्री ओली पनि खिच्चिक्क केही बिरामी हुनेबित्तिकै उपचारका लागि विदेशमा गइहाल्नुहुन्छ । अझ विदेशमा उपचारका लागि चाहिने पैसासमेत जनताले तिरेको करको पैसा राज्यको ढुकुटीबाट लिएर हिँड्ने गर्नुहुन्छ ।

गरिब जनतालाई यस्तो सुख–सुविधा पनि छैन । शान्ति सुरक्षाको कुरा गर्ने हो भने हिजो मात्र राजधानीमा हत्या गरिएका दुईजना व्यक्तिको लाश भेटिएको छ । सुशासनको आश गरेर बसेका जनता ३३ किलो सुन काण्डमा एक हप्ताअघि पक्राउ परेका भारतीय व्यापारी विमल पोद्दारले नेता र उच्च पदस्थ प्रहरीहरुको नाम पोल्न थालेपछि प्रधानमन्त्री ओलीले घटनाको अनुशन्धान गरिरहेको टोलीलाई सोमबार बोलाएर असार मसान्तभित्र अनुशन्धान निष्कर्षमा पु–याउन दबाव दिएको समाचारहरु पढ्न बाध्य छन् ।

रारा तालबाट प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता भनेर भाषण गर्नुभएको तीन महिनापछि पनि पैसा नख्वाई कुनै सरकारी कार्यालयमा काम हुँदैन । सवारी अनुमतिपत्रको म्याद सकिएर नवीकरण गर्न गएको, कहिले आऊँ भन्दा पत्रकार भनेर चिनेपछि यातायात व्यवस्था विभागका कर्मचारी अनुहार नै नहेरी ६ महिनापछि भन्छन् । इमानदार कर्मचारीहरुलाई कि कम्युनिस्ट हुनुपर्ने, कि कांग्रेस हुनुपर्ने बाध्यता छ । कुनै राजनीतिक पार्टीको झन्डा नबोक्ने व्यक्ति जतिसुकै इमानदार र सक्षम भए पनि कुकुर–बिरालोले जति पनि मान्यता नपाउने अवस्था सिर्जना गरिएको छ ।

त्रिभुवन विमानस्थल जाने भन्यो कि वैदेशिक रोजगारीमा गएका कुनै न कुनै नेपालीका लास बोकेका बाकस हेर्नुपर्ला भन्ने डर लागिरहन्छ । स्वयम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिजो मात्र संसद्मा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै वैदेशिक रोजगारका लागि विदेश गएका ३ सय ३५ जना नेपाली विभिन्न देशका जेलमा रहेको बताउनुभएको छ । त्यसै गरी २० जना नेपाली कोमामा रहेको र रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरुको शव ल्याउने क्रम जारी रहेको कुरा लाज नमानीकन संसद्लाई जानकारी गराउनुभएको छ । यही डरले विदेश नगई व्यवसायको कुनै उचित वातावरण नभए पनि अलि–अलि कमाएको पैसा शेयरमा लगानी गरेका लगानीकर्ताहरु बचेखुचेको पैसा पनि डुब्यो भन्दै रोइरहेका देखिन्छन् ।

 


पछिल्लो समयमा प्रधानमन्त्री ओली मुलुकको स्रोत, साधन, सीप, क्षमतामाथि विश्वास गर्न छोडेर रातदिन चीन र भारतलाई साथमा लिई नेपाललाई समृद्ध बनाउँछु भनी भाषण गर्दै हिँडेको देखेपछि त जनता झन् निराश बन्न थालेका छन् । आफ्नो स्वार्थका लागि कहिले रक्सौल नाका बन्द गर्ने त कहिले तातोपानी नाका बन्दा गर्ने छिमेकीहरुको भरमा पनि कतै देश चल्छ ?


 

दिक्क लागेर कतै जाऊँ न भनेर निस्कियो, हिलाम्य सडकमा हिँडिसक्नु छैन । पानी नपर्दा धूलो, पानी पर्दा हिलो । यातायातको सिन्डिकेट हटाउनु नै सय दिनको ठूलो उपलब्धि मान्ने सरकार सिन्डिकेट हटाउन सफल नभएपछि झन् बढेको अराजकता टुलुटुलु हेरिरहेको छ । यही अराजकताको फाइदा उठाउँदै ट्रिपरले दिनहुँजसो मान्छे मारिरहेको छ । सिन्धुली गइरहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलको गाडीलाई ट्रिपरले हानेर मन्त्री बालबाल बचेको घटना घटिसक्दा पनि सरकार यसको कुनै व्यवस्थापन गर्न सत्तैन ।

एकदिन आफन्तलाई छोड्न गोंगबु बसपार्क पुगेको त त्यहाँको अस्तव्यस्तता देखेर रिंगटा लाग्लाजस्तो भयो । पहिल्यै बसको टिकट बुक गरेर समयमै बसपार्क पुग्दा पनि अघोषित सिन्डिकेटको मारमा परेर एक घण्टा बसको क्यूमा फसेपछि मात्र सरकारको सिन्डिकेटले हावा खाइसकेको अनुभव भयो । देशको अवस्था पहिलेभन्दा झनै अस्तव्यस्त भइसकेको रहेछ । तैपनि हाम्रा प्रधानमन्त्री केपी ओली चीनबाट रेल आएपछि देश समृद्ध हुन्छ जस्तो गरी भाषण गरिरहनुहुन्छ । जाबो एउटा गोंगबुको बसपार्क त व्यवस्थित गर्न नसक्ने सरकारले, हजारौं यात्रुहरु ओहोरदोहोर गर्नुपर्ने ट्रेन स्टेसनको कसरी व्यवस्थापन गर्छ होला ?

हिजै मात्र पनि अमेरिकाले बनाइदिएको हनुमानढोकाको गद्दी बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरिसकेको भाषण गर्दै हुनुहुन्थ्यो । झन् आफैले बनाएर उद्घाटन गर्न पाएको भए ‘अब देशको विकास कसरी गर्नुपर्छ भनेर अमेरिकाले नेपालसँग सिक्नुपर्छ’ भन्नुहुन्थ्यो होला ।

भर्खरै सम्पन्न प्रधानमन्त्री ओलीको चीन भ्रमण अवधिभर रेलको खूब चर्चा सुनियो । प्रधानमन्त्री भारत जाँदा पनि रेलकै चर्चा, चीन जाँदा पनि रेलकै चर्चा । त्यसो त चुनावअघिदेखि नै रेलको सपना देखाउँदै आउनुभएका प्रधानमन्त्री ओली प्रधानमन्त्रीबाट अवकाश भइसकेपछि पनि रेलकै कुरा गरिरहनुहुने पक्कापक्कीजस्तै छ । किनभने भर्खरै चीन भ्रमणका बेला चीनसँग गरिएको रेल सम्झौताबमोजिम समयअनुसार सबै काम भए पनि सात वर्षपछि मात्र केरुङबाट नेपालमा रेल पुग्ने कुरो आइसकेको छ । प्रधानमन्त्रीले भनेजस्तै भारत वा चीनबाट पूरै रेल नआएर रेलको थुतुनो मात्र पसे पनि यसबाट नेपाली जनतालाई हुन्छ के ? प्रधानमन्त्री ओलीको रेल ल्याउने भाषण सुन्दा–सुन्दा वाक्क भइसकेकी नेपाली कांगे्रसकी सांसद ज्ञानकुमारी छन्त्यालले ‘आफ्नै देशको खुनखानीबाट गुर्जा जानलाई एउटा पैदल मार्ग बनाउन नसक्ने सरकारले रेलमार्ग र पानीजहाजको सपना देखाउँछ’ भन्दै संसद्मै आक्रोश पोखिसक्नुभएको छ ।

यो प्रसंग यहाँ प्रधानमन्त्री ओलीसँग कुनै आग्रह वा पूर्वाग्रहले उठाउन खोजिएको भने होइन । रेल ल्याउन सकियो भने त राम्रै कुरा हो । तर अहिले यो हाम्रो प्राथमिकताको कुरो हो कि होइन भन्ने सवाल मात्र हो । रेल देख्न नपाएका र चढ्न रहर भएका केही नेपालीलाई रेलको सपना देखाउनु एकजना राजनीतिज्ञका लागि जनतालाई भुल्याइरहने एउटा अचूक उपाय त हुनसक्ला । तर, दुई वर्षभित्र मुलुकलाई तुइन मुक्त बनाउँछु भन्दै पहिलोपटक प्रधानमन्त्री हुँदा आपैंmले हस्ताक्षर गरेको पहिलो निर्णय के भइरहेको छ भनेर बिहान–बेलुकीको छाक टार्न गोरखाको घ्याल्चोक र धादिङको चरौंदी जोड्ने त्रिशूली नदीमाथि रहेको तुइन चलाउन बाध्य उमेरले ७० वर्ष नाघिसकेका धादिङ, धुसाका शुक्रबहादुर चेपाङ आएर यही कुरा सोधे भने के जवाफ दिनुहुन्छ प्रधानमन्त्रीज्यू ?

अर्को कुरा, चीनले आफ्नै भूमि सिगात्सेसम्म रेल पु¥याउन अभैm एक वर्ष लाग्छ भनिसकेको छ । प्रधानमन्त्रीले जतिसुकै चर्को स्वरले रेलको कुरा गरे पनि चीन भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलको समझदारी पत्रमा रेल्वे सेवालाई कसरी अगाडि बढाउने भन्ने कुनै कुरा प्रस्ट छैन । प्रधानमन्त्री ओली स्वयंले चीनबाट फर्किएलगत्तै विमानस्थलमा रेलको लगानीबारे पत्रकारले प्रश्न उठाउँदा ‘जोसँग पैसा छ, उसले बनाउँछ’ भनी हल्काफुल्का उत्तर दिएकोबाट पनि यसको पुष्टि हुन्छ । गरिब छिमेकीले पेट्रोलको भार थेग्न सक्तैन भन्दै विद्युत्बाट चल्ने गरी बनाइदिएको ट्रली बसलाई त तहसनहस बनाइदिने विश्वसनीयता गुमाइसकेका राजनीतिक दलका नेताहरुलाई भरोसा गरेर विस्तृत परियोजना प्रतिवेदनका लागि मात्र ३ अर्बभन्दा बढी खर्च चाहिने रेलमार्ग चीनले यति चाँडै विश्वास गरेर बनाइदेला जस्तो पनि लाग्दैन । प्रधानमन्त्री ओलीले चीनसँगको मित्रताबारे जति बखान गरे पनि भारतीय नाकाबन्दीका कारण जनताले चरम दुःख पाइरहेको अवस्थामा समेत चीनले तातोपानी नाका खोलेर सहयोग नगरेको नेपाली जनताले यति चाँडै कहाँ बिर्सेका होलान् ?

ओलीको राष्ट्रियताको कुरा, पार्टी एकता र चुनावी घोषणालाई विश्वास गरी जनताले झन्डै दुई तिहाइ मत दिएर ओली नेतृत्वको पार्टीलाई सत्ता सुम्पिसकेकै छन् । अहिलेसम्म त चुनावी घोषणाअनुसार काम गर्न नसके तापनि कमसे कम नयाँ वर्षको उपलक्ष्यमा रारा तालबाट नेपाली जनतासमक्ष गरिएका बाचाहरु पूरा गर्ने कोशिश गरिरहेको संकेत पाउनुपर्ने हो । राष्ट्रियताकै कुरा गरी चुनाव जितेर आए पनि अहिले जनताले उहाँसँग भारत जाँदा कालापानी र चीन जाँदा लिपुलेकका विषयमा किन उच्चारण नगरेको भनी सोधेका छैनन् क्यारे । घर–घरमा ग्यासको पाइप नआए पनि जनता चुप लागेकै छन् । यति सोझो, सहनशील र सानो कुरा पाए पनि दंग पर्ने जनता भएको देशमा पानीजहाज र रेलजस्ता ठूला–ठूला कुरा गरेर प्रधानमन्त्री अलमलिइरहनुभन्दा जनताले अहिले भोगिरहनुपरेका व्यावहारिक समस्या सम्बोधन गर्नतिर पो लाग्नुपर्ने होइन र ?

पछिल्लो समयमा प्रधानमन्त्री ओली मुलुकको स्रोत, साधन, सीप, क्षमतामाथि विश्वास गर्न छोडेर रातदिन चीन र भारतलाई साथमा लिई नेपाललाई समृद्ध बनाउँछु भनी भाषण गर्दै हिँडेको देखेपछि त जनता झन् निराश बन्न थालेका छन् । आफ्नो स्वार्थका लागि कहिले रक्सौल नाका बन्द गर्ने त कहिले तातोपानी नाका बन्द गर्ने छिमेकीहरुको भरमा पनि कतै देश चल्छ ? आजका दिनसम्म पनि यी छिमेकीहरुकै भर पर्दा हामीले दुखः पाएका होइनौं ? हेपिनुपरेको होइन ? ‘कुनै पनि कुरा माग्नु मृत्यु बराबर हो । त्यसैले कसैसँग पनि भीख नमाग । आफ्ना पुरुषार्थले स्वयम् यस्ता चिज प्राप्त गर, ताकि कसैसँग केही माग्न नपरोस् ।’ भन्ने विद्वान् सन्त कबीरको यो प्रसिद्ध वाणी हाम्रा प्रधानमन्त्रीले पढेकै छैनन् कि क्या हो ?

प्रतिक्रिया दिनुहोस्